मनाङमा बलिउड चलचित्र छायाँकनले पर्यटन प्रवद्र्धन हुने अपेक्षा

प्राकृतिक सौन्दर्यले भरिपूर्ण हिमाली जिल्ला मनाङमा बलिउड चलचित्रको छायाँकन सुरु भएको छ ।
मन मिल्ने चारजना साथीको पदयात्रा कथामा आधारित बलिउड सिनेमा ‘उचाई’ को छायाँकन शनिवारदेखि सुरु भएको हो । चर्चित कलाकार अनुपम खेर, बोमान इरानी, परिणिति चोपडा, सारिक हसनलगायको टोली शुक्रबार मनाङ पुगेको थियो । मुख्य कलाकारसहित करिब डेढसय जना भारतीय कलाकार र सिनेकर्मीको टोली माथिल्लो मनाङ पुगेको हो । केही दिनअघिको खराब मौसमका कारण झण्डै एक साता पछाडि धकेलिएको तालिकाअनुसार भारतीय कलाकारहरु अझै १० दिन उपल्लो मनाङमा रहने छन् ।
भारतीय चर्चित कलाकार मनाङमा पुगेसँगै स्थानीयहरुले विशेष स्वागत गरेका थिए । भारतीय चलचित्रको छायांकन भएसँगै मनाङमा पर्यटन प्रवद्र्धनमा थप सहयोग पुग्ने स्थानीय पर्यटन व्यवसायी विनोद गुरुङले बताए । कोरोना संक्रमणको जोखिमका कारण लामो समय अस्तव्यस्त बनेको फिल्म क्षेत्र सँगै मनाङमा बलिउड फिल्म छायांकनले पर्यटन प्रवद्र्धनमा समेत राहात पुग्ने गुरुङको भनाइ छ । नेपालमा विदेशी फिल्म छायांकन हुनुले नेपाल सुरक्षित गन्तव्य भएको सन्देश विश्वभर फैलिने र थला परेको पर्यटन क्षेत्रलाई समेत यस्ता गतिविधिले उकास्न सहयोग पुग्ने पर्यटन व्यवसायी गुरुङले बताए ।
असोज १७ गते दिल्ली हुँदै काठमाडौं आइपुगेको यो टोली यसअघि असोज २१ गते खुम्बु पुगेको थियो । स्वयम्भू, हायत होटल र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित यति एयरलायन्सको ह्यांगरमा सुटिङ सकेर खुम्बु क्षेत्र गएको यो टोलीले गत आइतबार खुम्बु क्षेत्रमा सुटिङ सकेको थियो । उक्त टोलीले मनाङको गंगापूर्ण ताल र माथिल्लो मनाङदेखि खाङसार तर्फको पदमार्गमाआठदिनलगाएर सुटिङ गर्ने भएका छन् ।
सुटिङ युनिटले सगरमाथा आधार शिविरमा गर्नुपर्ने छायांकनको काम अन्तिममा राखेको छ । मनाङबाट फर्किएपछि सगरमाथा आधार शिविर जाने कार्यक्रम रहेको सुटिङ युनिटले जनाएको छ ।
सुरज वर्जत्यले निर्देशनमा बन्न लागेको यस फिल्ममा अनुपम खेर, बोमन इरानी, परिणिती चोपडा र सारिका हसनबाहेक अमिताभ बच्चनको पनि महत्वपूर्ण भूमिका रहेको छ । अमिताभ बच्चन नेपाल आउने भनिए पनि उनी भने नेपाल आएका छैनन् ।
सो फिल्ममा केही नेपाली कलाकारहरु समेत अनुबन्धित भएका छन् । यस फिल्मले निकै मिल्ने साथीहरुको मित्रताको कथालाई समेटेको र यसको छायांकन मनाङसहित नेपालका पहाडी तथा हिमाली भेगका लुक्ला, नाम्चेलगायत काठमाडौं र भारतको मुम्बईमा हुनेछ ।