रोल्पामा जता हेर्यो त्यतै पर्यटकीय स्थल «

रोल्पामा जता हेर्यो त्यतै पर्यटकीय स्थल

रोल्पा- दोस्रो रोल्पा महोत्सव शुक्रबारबाट रोल्पाको सुलिचौरमा सुरु भएको छ । कृषि, उद्योग, व्यापार, संस्कृति र पर्यटनको विस्तार दिगो विकास समृद्धिको आधार महोत्सवको नारा छ । महोत्सवको लक्ष्य पर्यटन क्षेत्रको प्रचार प्रसार गर्ने पनि छ ।
रोल्पा धार्मिक, सांस्कृतिक तथा प्राकृतिक रुपले पर्यटन क्षेत्रको प्रचुर सम्भावना बोकेको जिल्ला हो । स्वर्गद्वारी महाप्रभुको जन्मस्थल रुन्टीगाउँ, जलजला, चतुर्भुज, बिबाङ दह ताल, गुरुङ गाउँ होमस्टे, सुनका कणहरु भेटीने सुनछहरी झरना, मनै लोभ्याउने शिव गुफाहरु, गजुल कोट, खुंग्रीकोट दरवार अन्तर्राष्ट्रिय रूपमा चर्चामा रहेको थबाङ गाउँलगायतका जिल्लामा दर्जनौं पर्यटकीय स्थलका रूपमा परिचित छन् । भने रोल्पामा युद्ध पर्यटनको पनि उत्तिकै सम्भावना छ ।
महोत्सव उद्घाटनका क्रममा पर्यटनसँग सरोकार राख्ने दामोदरप्रसाद सुवेदीले रोल्पा जिल्लाको पर्यटन क्षेत्रको चिनारी प्रस्तुत गरे । सोही क्रममा उनले जिल्लाभरका ३ दर्जन बढी पर्यटकीय स्थलको नाम उच्चारण गरेका थिए । सुवेदी भनेजस्तै जिल्लामा व्यवस्थापन र प्रचार—प्रसार गर्नसके पर्यटकीय स्थल प्रशस्त मात्रामा रहेका पनि छन् ।
पर्यटकीय स्थलको नाम उच्चारण मात्र होइन त्यहाँ कस्ता सम्भावना बोकेका छन् भन्ने बारेमा पनि सुझाव दिएका थिए । पर्यटन क्षेत्रलाई माथि उठाउन के गर्नुपर्छ भन्ने पनि उनले उल्लेख गरेका थिए । जिल्लामा पर्यटन क्षेत्रमा सम्भावना हुँदाहुँदै पनि प्रचार—प्रसार हुन नसकेको सुवेदीको बुझाइ छ । पर्यटन क्षेत्रमा लगानी नभएको पनि बताए । अनुभूति हुने गरी पर्यटन क्षेत्रमा लगानी गर्नुपर्ने पनि उनले बताए ।
महोत्सवको नारामा भनीए जस्तो पर्यटनको विस्तार दीगो विकास समृद्धिको आधार जिल्लामा हुन् पनि सक्छ । त्यसको लागि पर्यटन क्षेत्रमा लगानी गर्नुपर्ने अहिलेको आवश्यकता हो ।
धेरै पर्यटक भिœयाउनेभन्दा पनि भित्रिएका पर्यटकहरुलाई कसरी लामो समयसम्म उनीहरुलाई जिल्लामा राख्ने भन्नेतर्फ पनि ध्यान दिन आवश्यक छ । रोल्पामा सांस्कृतिक, धार्मिक, मनोरञ्नात्मक, व्यापार, अनुसन्धान र युद्ध पर्यटनको विकास गर्न सकिने ठूलो सम्भावना छ । यी ६ प्रकारका पर्यटकीय क्षेत्रलाई विकास गर्न सकिने देखिन्छ ।
रोल्पा जिल्लामा सांस्कृतिक पर्यटनको सम्भावना कसरी पनि छ भन्दा जिल्ला विभिन्न जातीहरुको बसोवास भएको ठाउँ हो । यहाँ आ–आफ्नै भाषा रहन–सहन छ । पर्यटकहरुका लागि यहाँको खाम भाषा पनि महत्वपूर्ण हुन सक्छ । त्यसकारण पनि सांस्कृतिक पर्यटनको सम्भावना रहको छ । यहाँको आ–आफ्नै मौलिक लवाइख्वाइ पनि पर्यटकहरुका लागि आकर्षणको केन्द्र बिन्दु बन्न सक्छ ।
जिल्लामा धार्मिक पर्यटनको पनि राम्रो सम्भावना रहेको छ । जिल्लाका जलजला, रुन्टी लगायतका क्षेत्र धार्मिक रूपमा प्रख्यात छन् । यिनी क्षेत्रमा पुजाआजा गर्दा मनोकांक्षा पूरा हुने विश्वस पहिलेबाट नै रहँदै आएको छ । यसले गर्दा पनि रोल्पामा धार्मिक पर्यटनको सम्भावना रहेको छ । यी क्षेत्रलाई विकास गर्न सके धार्मिक पर्यटकहरु जिल्लामा भित्रिने देखिन्छ ।
मनोरञ्नात्मक पर्यटनको रोल्पामा झनै सम्भावना छ । यहाँ नाचिने परम्परागत शैलीका सोरठी, पैसेरु, मारुनी, मयुर, सिंगारु नाच यहाँका मौलिक नाच हुन । यसबाट पनि पर्यटकहरुले भरपुर मात्रामा मनोरञ्न लिन सक्छन् र रमाउन सक्छन् । यी परम्परागत मौलिकता बोकेका नाच हेर्नका लागि पनि पर्यटकहरु जिल्लामा आउन सक्छन् । यसलाई संरक्षण र प्रबद्र्धन गर्न आवश्यक रहेको छ । साथै यसले पनि पर्यटन विकासमा टेवा पुर्याउन सक्छ ।
व्यापार पर्यटनको पनि जिल्लामा राम्रो सम्भावना रहेको छ । जिल्लामा उत्पादन हुने कृषि जन्य सामग्री, साना तथा घरेलु उद्योगबाट विभिन्न सामग्रीहरु उत्पादन हुने गरेको छ । कृषि, लघुउद्यम व्यवसायका लागि रोल्पा पछिल्लो समय फस्टाउँदै गएको छ । भने जिल्लामा जडीबुटीको पनि राम्रो क्षेत्र रहेको छ । व्यापार व्यवसायमा संलग्न रहेकाहरु आयात निर्यातका क्रममा एक ठाउँबाट अर्को ठाउँमा जान्छन् । वस्तु किनबेच गर्नका लागि व्यापारीहरु यहाँ आउन सक्छन् । उनीहरु आउँदा आवश्यकता अनुसार घुम्मफिर गर्ने गर्छन् । यसले गर्दा पनि व्यापार पर्यटनको सम्भावना छ ।
अनुसन्धान पर्यटन पनि जिल्लामा राम्रो हुने देखिन्छ । यहाँ भएको विभिन्न सांस्कृति, धार्मिक, परम्परागत रहन—सहन र १० वर्ष चलेको सशस्त्र द्वन्द्वको अध्ययन, अवलोकन तथा अनुसन्धान गर्नको लागि यहाँ स्वदेशी मात्र नभई विदेशीहरु पनि आउन सक्छन् । उनीहरु आउदा आवश्यकताअनुसार घुम्ने, खाने बस्ने भएकाले पनि पर्यटन क्षेत्रमा टेवा पुग्ने देखिन्छ ।
साथै जिल्ला जलजला क्षेत्रमा पाइने विभिन्न वनस्पती, विभिन्न ताल, मनै लोभ्याउने लेकहरु विभिन्न जडीबुटी जिल्लामा रहेका छन् । यसको अध्ययन अवलोकन र किन्नका लागि जिल्लामा पर्यटकहरु भित्रिने सम्भावना छ ।
युद्ध पर्यटनको पनि यो जिल्लामा प्रचुर सम्भावना देखिन्छ । नेपालमा चलेको १० वर्षे जनयुद्धको उद्गम स्थल भएकाले पनि यहाँ युद्ध पर्यटनको सम्भावना रहेको छ । युद्धका समयमा भएका घटनाहरु अध्ययन गर्न सकिन्छ । जनयुद्ध सुरु कहाँबाट भयो । युद्धका प्रमुख पुष्पकमल दाहाल पनि रोल्पामै बस्थे । उनी कस्ता घरमा बस्थे, कहाँ बस्थे र उनी बसेको ठाउँ पनि पर्यटकीय स्थल बन्न सक्छ । शान्ति प्रक्रियापछि जनमुक्ति सेनाहरु बसेका घर अहिले भत्किसकेका छन् । त्यो ठाउँलाई पनि संरक्षण गर्न सके पर्यटकीय स्थलका रूपमा चिनिन सक्छ ।
यी ६ प्रकारका पर्यटकीय क्षेत्रको सम्भावनाका कुरा गर्दै जादा पर्यटन विकास क्रम भने हाम्रो जिल्लामा निकै कमजोर छ । जिल्लामा आएका पर्यटकहरुलाई लामो समयसम्म राख्नका लागि उनीहरुलाई मनोरञ्जन तथा विविध साधनको आवश्यकता पर्छ । हाम्रो जिल्ला कला संस्कृतिको धनी भए पनि अहिलेसम्म हामीले संरक्षण र प्रबद्र्धन गर्न नसक्दा पर्यटकहरुलाई लोभ्याउन सकेका छैनौं । जिल्लामा आउने पर्यटकहरुका लागि आवास र सडक सुविधासमेत राम्रो छैन । अहिले हामी कहाँ हे¥यौं भने पनि मनोरञ्जन, वैकल्पिक पर्यटन केन्द्रको अभाव, यातायात, पर्यटन केन्द्रको व्यवस्थापन, अपर्याप्त प्रचार—प्रसार, सञ्चार अपर्याप्त, तालिम प्राप्त पथ प्रदर्श छैनन् ।
साच्चिकै भन्ने हो भने त झन हाम्रो जिल्लामा एउटा पनि पर्यटन सूचना केन्द्रसमेत छैन । हामीले पर्यटन क्षेत्रमा फट्को मार्ने हो भने यस्ता कुरालाई तत्कालै समाधान गर्न सके आन्तरिक तथा बाहिय पर्यटक जिल्लामा आउने वातावरण बन्न सक्छ ।

 

प्रतिक्रिया दिनुहोस्