पर्यटन विकासको गुरुयोजना बनाइने «

पर्यटन विकासको गुरुयोजना बनाइने

दैलेख-पर्यटकीय क्षेत्रको सम्भावना बोकेको दैलेखको ठाँटिकाँध गाउँपालिकामा पर्यटन प्रवद्र्धन गर्न गाउँपालिकाले आगामी दिनमा गुरुयोजना बनाएर अगाडि बढ्ने भएको छ । ठाटिकाँध गाउँपालिकामा रहेका पर्यटकीय क्षेत्रको पहिचान गरी आगामी दिनमा पर्यटन प्रवद्र्धनमा जोड दिइने भएको हो ।
ठाँटिकाँध गाउँपालिकाभित्र रहेका पर्यटकको मुख्य आर्कषणको रूपमा रहेको मदनताल, नाके गुफालगायतका पर्यटीकय क्षेत्रलाई संरक्षण गरी पर्यटकीय गन्तव्य बनाउन पहल गरिने ठाँटिकाँध गाउँपालिकाका अध्यक्ष धिरबहादुर शाहीले बताए । ठाँटिकाँध गाउँपालिकामा पर्यटकीय क्षेत्रको रूपमा चिनिएको मदनतालमा विकासका पूर्वधारको अभाव रहेको बताउँदै अध्यक्ष शाहीले तालसम्म पुग्ने मोटरबाटो पु¥याउने लक्ष रहेको बताए ।
ठाँटिकाँध गाउँपालिकाकी उपाध्यक्ष सुस्मिता सिंहले गाउँपालिकाको समृद्धिका लागि गाउँपालिकाभित्र रहेका पर्यटकीय क्षेत्रको संरक्षण गर्दै पर्यटकीय गन्तव्यको रूपमा अगाडि बढाउन पहल गरिने बताइन् । गाउँपालिकाको आर्थिक समृद्धिका लागि पनि पर्यटकीय क्षेत्रलाई संरक्षण तथा प्रवद्र्धन गर्न जरुरी रहेको उपाध्यक्ष सिंहको भनाइ छ ।
ठाँटिकाँध गाउँपालिका–३ को पर्यटकको आर्कषणको रूपमा रहेको मदानताल अवलोकनका लागि आन्तरिक तथा बाह्य पर्यटकको संख्यामा उल्लेख्य वृद्धि हुँदै गएको छ । समुद्र सतहबाट करिब ३ हजार मिटर उचाइमा रहेको मदानताल अवलोकनका तथा शैक्षिक भ्रमणका लागि विभिन्न विद्यालयका विद्यार्थीलगायत आन्तरिक र बाह्य पर्यटकको संख्या बढ्दै गएको छ ।
गाउँपालिकाको वडा नं. ३ को केन्द्र वहाँकोटसम्म सडकको पहुँच पुगेसँगै मदानताल अवलोकनका लागि पुग्ने पर्यटकको संख्या बढेको स्थानीयको भनाइ छ । मदानताल, नांकेगुफा, १० वर्षे जनयुद्धताका युद्धकला सिकाइने क्षेत्र रानीवनलगायत पर्यटकीय क्षेत्रको प्रचारप्रसार गरी पर्यटकीय गन्तव्य बनाइने ठाँटिकाँध गाउँपालिका–३ का वडाध्यक्ष कर्णबहादुर शाहीले वताए ।
ठाँटिकाँध गाउँपालिका–४ गैरागाउँमा रहेका पर्यटकीय क्षेत्र बुकीमालिकामाई, देउती मन्दिर, गौथलीछडा, गडुलेनीमाइको छडालगायतका गन्तव्यको संरक्षण गरी पर्यटन प्रवद्र्धनमा जोड दिइने वडाध्यक्ष रमेश सिजापतिले बताए । “यस गाउँपालिकामा थुप्रै पर्यटकीय सम्भावना बोकेका क्षेत्रहरू ओझेलमा छन्,” वडाध्यक्ष सिजापतिले भने, “यसका लागि गाउँपालिका र वडाले आगामी दिनमा प्रचारप्रसार र पर्यटन पूर्वाधार विकासमा रणनैतिक योजना बढाएर अगाडि बढाउने योजना छ ।”
ठाँटिकाँध गाउँपालिका–२ का वडाध्यक्ष रुपलाल विश्वकर्माले आफ्नो वडामा रहेका दुर्गाभवानी मन्दिर, भीमपाइला, भीमगुफा, विजारेताल, जौचौरको तामाखानीको संरक्षण गरी पर्यटन प्रवद्र्धनमा जोड दिइने बताए । अध्यक्ष विश्वकर्माले पर्यटन प्रवद्र्धनका लागि विजारेमा होमस्टे सञ्चालन गर्ने, एकीकृत बस्ती विकास गर्ने, विजारेमा हेलिप्याड निर्माण गर्ने, तामाखानी उत्खननका लागि संघीय सरकारसँग आग्रह गर्ने, खेल मैदान निर्माण गर्नेलगायतका योजना रहेको बताए । पश्चिम दैलेखका अधिकांश विद्यालय भ्रमण पनि बिजारे चौर नै उनीहरूको प्रमुख रोजाइ रहेको अध्यक्ष विश्वकर्मा बताउँछन् । उनले विजारेनजिकै महत्वपूर्ण मानिने धौलापडा गुफा र ठूली छहरी भएकाले पर्यटकका लागि बिजारे चौरलाई पश्चिम दैलेखको महत्वपूर्ण स्थानको रूपमा लिने सकिने बताए । पर्यटकीयस्थलको केन्द्र विन्दुमा रहेको चौर एयरपोर्टको र प्याराग्लाइडिनका लागि उपयुक्त छ ।
वडा नं. ६ का अध्यक्ष मनबहादुर सिजापतिले आफ्नो क्षेत्रमा रहेका पर्यटकीय क्षेत्रको प्रचारप्रसार गरी पर्यटन प्रवद्र्धनमा जोड दिइने बताए । उनले वडाभित्र रहेका धौलापडा, ठूलीछडी, मालिकामाई लगायतका पर्यटकीय क्षेत्रलाई संरक्षण गर्न आफू लागि पर्ने बताए । समुन्द्रसतहबाट २ हजार ३ सय अग्लो पहाडको थुम्कोमा रहेको चौर बिजारेमा बर्सेनि दुईपटक मेला लाग्छ ।

प्रतिक्रिया दिनुहोस्