डिम्याट खाता, सूचना सम्प्रेषण र सचेतना «

डिम्याट खाता, सूचना सम्प्रेषण र सचेतना

मेरो म्यासेज बक्समा एक लगानीकर्ताको जिज्ञासा आयो । उनी सोध्दै थिए, मेरो फोन नम्बर परिवर्तन भयो, म डिम्याट खातामा सच्याउन चाहन्छु । के मेरो सेयर (डिम्याट खाता) लगइन गरेर आफै अध्यावधिक गर्न सम्भव छ ? अर्को एक जिज्ञासुले त्यस्तै प्रकारको म्यासेज पठाए, मैले डिम्याट खाता खोल्दा अर्कै ठेगाना थियो, अहिले परिवर्तन भएको छ । के म मेरो सेयरमा आफैं सच्याउन सक्छु ?
लगानीकर्ताका यी जिज्ञासापछि तत्काल मैले आफ्नै डिम्याट खाता लगइन गरे र व्यक्तिगत विवरणमा चहारें । म मेरो आफ्नै पनि परिवर्तन भएको इमेल ठेगाना सच्याउन चाहन्थें ।
मलाई लागेको थियो, म ती कुरा आफैं सच्याउन सक्छु र अरूले पनि सजिलै अद्यावधिक गर्न सक्छन् । तर, जब मैले मेरो सेयर (डिम्याट खाता) लगइन गरें र व्यक्तिगत विवरणमा छिरे, त्यहाँ त्यस्तो कुनै विकल्प थिएन । बैंक खाताबाहेक अन्य विवरण परिवर्तन गर्न वा सच्याउन सकिने विकल्प पाइनँ ।
म इमेल ठेगानामा भएको परिवर्तन सच्याउन चाहन्थें, जसका लागि निक्षेप सदस्यलाई फोन, इमेल वा म्यासेज गर्न नपरोस्, जसका कारण केही समय पनि बचत गरौं । तर सच्याउन पाउने कुनै विकल्पै नभएपछि बाध्य भएर मैले निक्षेप सदस्यलाई फोन वा इमेल लेख्नुप¥यो, किनकि इमेल अद्यावधिक गरेसँगै मैले कम्पनीबाट आउने कतिपय सूचनाहरू प्राप्त गर्न सक्थें ।
डिम्याट खाताको व्यक्तिगत विवरणमा दौडेपछि मैले सोचें, के मानिसका सबै कुरा अपरिवर्तन छन् ? अवश्य पनि छैनन् । उसो भए हामी प्राविधिक रूपमा सजिलो किन बनाउन सक्दैनौं ? र बारम्बार सानातिना कुरामा लगानीकर्तालाई व्यक्तिगत विवरण अद्यावधिक गर भनेर पत्रिकामा सूचना निकाल्छौं अनि तनाव दिन्छौं ? धेरै विकल्प हुँदा पनि अप्ठ्यारो विकल्पमा किन जान्छौं ? समस्या समाधानका धेरै विकल्प छन् भने सबैभन्दा सामान्य वा सजिलो विकल्पमा नगएर किन अप्ठ्यारा र समय लाग्ने विकल्प रोजिरहेका छौं ?
हाम्रो व्यक्तिगत जीवनसँग जोडिएका कतिपय कुरा यस्ता हुन्छन्, जुन सधंै अपरिवर्तनशील भएर बस्न सक्दैनन् भने कतिपय परिवर्तन नै गर्न सकिँदैन । जस्तो— जन्म मिति, बाबु, बाजे, आमा, बज्यै परिवर्तन गर्न सकिँदैन तर नाममा गल्ती भए सच्याउन सकिन्छ । कतिपय बारम्बार हैन, कहिलेकाहीं परिवर्तन हुन सक्छ, जस्तो— नाम, प्यान नम्बर । कतिपय विवरण परिवर्तन भइरहन पनि सक्छन्, जस्तो— इमेल ठेगाना, बसोबास ठेगाना, बैंक खाता, फोन नम्बर, पेसा, व्यवसाय, आम्दानी आदि ।
व्यक्तिगत विवरणका यस्ता कुरालाई सीडीएस कम्पनीले तीन भागमा राखेर अनलाइनमार्फत प्रयोगकर्ता आफैंले अद्यावधिक गर्न सक्ने विकल्पहरू प्रदान गर्नुपर्छ । जस्तो— आफैं परिवर्तन गर्न सक्ने, फोन गरेर वा निक्षेप सदस्यलाई सम्पर्क गरेर मात्र सच्याउन सक्ने र परिवर्तन नै नहुने गरी विवरणलाई तीन प्रकारमा छुट्ट्याएर प्राविधिक रूपमा मेरो सेयरलाई सुधार गर्नुपर्ने देखिन्छ, जसले गर्दा मानिसको समय बचोस् र सहज होस् । यसरी सच्याइसकेपछि ग्राहकको इमेलमा विवरण सच्चेको इमेल जाओस् वा फोनमा म्यासेज जाओस्, जसले गर्दा कसैले दुरुपयोग गर्नबाट ग्राहक बचून् ।
यस्तै अर्को महŒवपूर्ण कुरा, डिम्याट खातामा भएका क्रियाकलापको सूचना खातावालालाई इमेलमार्फत जानकारी गराउने विकल्प थप हुन आवश्यक छ । जस्तो— बोनस सेयर खातामा आउँदा, हकप्रद आउँदा वा प्राथमिक निष्कासनको सेयर खातामा जम्मा हुँदा होस् वा दोस्रो बजारबाट सेयर किनबेच गर्दा थपिने र घटाइने काम हुनासाथ ग्राहकको इमेलमा स्वतः सूचना जाने व्यवस्था गरिनुपर्छ । यसले खातावाला वा लगानीकर्तालाई एक प्रकारले चलायमान वा सक्रिय बनाउँछ र लगानीप्रति आकर्षित पनि गर्छ अनि लगानीकर्ता सचेत पनि बन्दै जान्छन् । उनीहरूले इमेलमा आएका शब्दहरू बुझ्ने प्रयास गर्छन् । यसले सेयर बजारका नवप्रवेशिका लागि एक प्रकारले अनौपचारिक वा अप्रत्यक्ष रूपमा वित्तीय शिक्षा दिने काम पनि गरिरहेको हुन्छ ।
लगानीकर्ताले थाहा पाउनुपर्ने अर्को महत्वपूर्ण सूचना कम्पनीले जारी गर्ने हकप्रद सेयर निष्कासनको हो । जस्तो— मेरो सेयर लगइन गरेर हकप्रदको आवेदन दिन सकिन्छ तर त्यसका लागि कुन कम्पनीले हकप्रद सेयर जारी ग¥यो भनेर डिम्याट खाता बारम्बार चिहाइरहनुपर्छ । धेरैले अनलाइन युजर नेम र पासवर्ड नलिएको पनि हुन सक्छ । यस्तै सूचना थाहा पाउन अर्को विकल्प पत्रपत्रिका हेरिरहनुपर्छ । यसका लागि कुनै कम्पनीले हकप्रद सेयरको आवेदन खोलेमा सीडीएसले मेरो सेयरमा राख्नासाथ त्यो कम्पनीको सेयर हुनेलाई मात्र सिस्टमले छानेर छोटो विवरण जस्तो हकप्रदको अनुपात, खुलेको मिति र अन्तिम मितिसहितको विवरण स्वतः इमेलमा जाने बनाउन आवश्यक छ, जसले मानिसलाई आफ्नो लगानीप्रति सचेत रहन, हकप्रद सेयर रिनाउन्सको अनियमितता कम गर्न तथा कम्पनीलाई पैसा उठाउन पनि सहज हुन्छ । यस प्रकारले सूचना सम्प्रेषणले इमेलको प्रयोग बढ्ने र संस्थाहरूलाई सूचना प्रवाह गर्न सजिलो बन्छ । अहिलेको समयमा हामीले जतिसक्दो बढी मानिसलाई इमेलको प्रयोग गर्न प्रोत्साहित गर्न र उनीहरूको व्यक्तिगत विवरणको सुरक्षा दिन आवश्यक छ । यस्तै सम्पूर्ण लगानीकर्ताले पालना गर्नुपर्ने कानुनी परिवर्तनका बारेमा लगानीकर्तालाई सूचित गर्न धितोपत्र बोर्ड, नेपाल स्टक एक्सचेन्जले सीडीएसको प्लेटफर्म प्रयोग गर्न सक्छन् । जस्तो— पुँजीगत लाभकरमा भएको परिवर्तन, व्यक्तिगत विवरणमा कुनै विवरण अद्यावधिक गर्नुपर्ने कानुनी परिवर्तन भए, कमिसनका दर परिवर्तन भए आदि । जस्तो धितोपत्र बोर्डले भर्खरै स्थानीयवासीले सेयर आवेदन दिँदा पनि आस्बाको प्रयोग गर्नुेपर्ने सूचना सार्वजनिक गरेको छ । यो सूचना डिम्याटमा दर्ता भएका सम्पूर्ण खातावालालाई उनीहरूको इमेलमार्फत सूचित किन नगर्ने भन्ने हुन्छ । यदि हामीले डिम्याट खाता खोल्दै खातावालाले यस्ता सूचना इमेल मार्फत पाउने मन्जुरी वा स्वीकृति लियौं भने ठूलो समूहलाई एकैपटकमा यस्ता सूचना सम्प्रेषण गर्न सक्छौं ।
यस्तै यही प्लेटफर्ममार्फत सञ्चालकको अनलाइन चुनावको व्यवस्था गर्न सकिन्छ, जसले सञ्चालकको चुनावमा हुने भोटको किनबेच, अनियमितता हटाई कम्पनीको चुनावी लागत पनि कम गर्न सकिन्छ ।
अर्को महŒवपूर्ण कुरा बजार, नियामक र सरकारलाई आवश्यक पर्ने लगानीकर्ताको व्यवहारको विश्लेषण पनि यहाँबाट गर्न सकिन्छ । जस्तो— कति मानिसले एउटा मात्र डिम्याट खाता खोलेका छन्, कतिले दुइटा खाता खोलेका छन् । कति व्यत्तिगत र कति संस्थागत लगानीकर्ता छन् भन्ने तथ्यांकबाट वास्तविक लगानीकर्ताको संख्या यकिन गर्न सजिलो हुन्छ । यस्तै लगानीकर्ताको डिम्याट खातामा भएको सेयरको परिवर्तनसँगै कति प्रतिशत लगानीकर्ताहरू कारोबारमा संलग्न छन् र कति निष्क्रिय रूपमा बसेका वा लामो समय होल्ड गर्छन् भन्ने तथ्यांक केलाउनका लागि पनि डिम्याट सिस्टमको प्रयोग गर्न सकिन्छ ।
डिम्याट खाताबाटै लगानीकर्ताले सरकारलाई तिर्ने करमा पनि पारदर्शिता कायम गर्न सकिन्छ । जस्तो— लगानीकर्ताले पाएको हकप्रद, बोनस, एफपीओ, दोस्रो बजारबाट खरिद गरेको सबै सेयरको औसत खरिद मूल्य निर्धारण गरी बिक्री गरेको सेयरबाट वास्तविक नाफा नोक्सान कायम गरी कर निर्धारण गर्न सकिन्छ । यसरी निर्धारण गरेको लागतलाई औसत लागत आधार (एभरेज कस्ट बेस) पनि भनिन्छ । वर्षभरिको सेयर कारोबारमा भएको नाफा नोक्सानको एकमुस्ट विवरणबाट लगानीकर्ताले तिर्नुपर्ने र अग्रिम रूपमा बढी तिरेको भए फिर्ता पाउने र कम तिरेको भए तिर्नुपर्ने व्यवस्था गर्न सकिन्छ । यस्ता विवरणसहितको लगानीकर्ताको खातालाई सरकारले प्रत्यक्ष रूपमा कर कार्यालयसँग जोड्न पनि सक्छ ।
यस्तै आस्बामार्फत सेयर भर्न सकिने व्यवस्था छ, तर सोही पेजमा ती कम्पनीको विवरणपत्र डाउनलोड गर्न सकिने व्यवस्था छैन । विवरण पत्र कम्पनीको सेयर निष्कासनको महत्वपूर्ण दस्तावेज हो । तर विवरण पत्र खोज्न अर्कैतिर जानुपर्छ । कम्पनीबाट शुल्क लिएर विवरण पत्र पनि सँगै राखेर डाउनलोड गर्न सकिने व्यवस्था भए सुनमा सुगन्ध हुने थियो ।
यस्तै धूम्रपान स्वास्थ्यका लागि हानिकारक छ भन्ने सतर्कताको सन्देश चुरोट, खैनीका बट्टाहरूमा प्रयोग गरिए जस्तै सेयर लगानीमा पनि सतर्कताको सूचना अनिवार्य गर्नु आवश्यक छ, जस्तो सेयरमा गरिने लगानी जोखिमपूर्ण छ । लगानी गर्नुअघि कम्पनीका विवरणहरू पढेर लगानी निर्णय गर्नुहुन अनुरोध छ । यस्तो सन्देश हरेक प्राथमिक तथा थप निष्कासनमा अनिवार्य राख्नुपर्ने व्यवस्था गर्नुपर्छ भने सेयर व्यवसायी जस्तो ब्रोकर, मर्चेन्ट बैंकको कार्यालयमा पनि देखिने गरी अनिवार्य राख्नुपर्ने व्यवस्था धितोपत्र बोर्डले गर्नुपर्छ । यस्ता सन्देशले लगानी निरुत्साहित गर्ने नभई लगानीकर्तालाई लगानीमा हुने जोखिमप्रति सचेत गराउनेछ ।
(भट्टराई सेयर बजार विश्लेषक हुन् ।)

प्रतिक्रिया दिनुहोस्