हिमाली क्षेत्रमा हिमपात, जनजीवन प्रभावित «

हिमाली क्षेत्रमा हिमपात, जनजीवन प्रभावित

देशका हिमाली क्षेत्रमा मंगलबार बिहानैदेखि हिमपात भएको छ । कर्णाली प्रदेशका हिमाली जिल्ला, मनाङ र डडेलधुरामा समेत हिमपात हुँदा जनजीवन प्रभावित बनेको छ ।
हिमपातले सडक र हवाई यातायात समेत बन्द छ । हिमपातसँगै किसानहरु भने खुसी भएका छन् । हिमपातले अन्नबाली तथा फलफूलसमेत सप्रिने भएकोले खुसी भएका हुन् ।
जुम्ला संवाददाता सागर परियार लेख्छन् :
कर्णालीमा तेस्रो पटक भारी हिमपात भएपछि जनजीवन प्रभावित बनेको छ । झण्डै एक हप्तासम्म बादल देखिँदै आएकोमा मंगलबार बिहानैबाट हिमपात भएको हो । मंगलबार बिहान दुई बजेदेखि फाटफुट वर्षासहित जुम्लामा बिहान १० बजेपछि हिमपात सुरु भएको हो । हिमपातले खलंगालगायतका टुक्रे बजारको व्यापार ठप्प भएको छ । सरकारी तथा गैरसरकारी कार्यालयमा सेवाग्राहीको संख्या निकै कम देखिएको छ ।
तर, किसानका लागि भने यो हिउँ अमृत समान भएको छ । तातोपानी गाउँपालिका २ का सुर बुढा हिउँ किसानका लागि अमृत हुने बताउँछन् । “यो वर्षको अहिलेसम्म हिउँ पनि परेन, वर्षा पनि भएन, हिउँदेबाली सुकेर नष्ट भइसकेको थियो,” उनले भने, “हिउँले किसानको बाली फक्रने छ ।”
कृषि ज्ञान केन्द्रका कृषि अर्थविज्ञ बालकराम देवकोटा हिउँले बोटविरुवा र उत्पादनमा सहयोग हुने बताउँछन् । । “हिउँ पोखरीमा हिउँ सहजै संकलन गर्न सकिन्छ, हावामा भएको आर्दता बढ्छ,” उनी भन्छन्, “पाखो क्षेत्रमा भएको हिउँदे बाली फलफूलमा सहयोग पुग्नुका साथै भाइरल रुघाखोकी समेत नियन्त्रण हुन्छ भने सबै प्रदूषण निर्मूल हुन्छ ।”
मुगु संवाददाता दानबहादुर बुढाका अनुसार हिमपातले विद्यालय बन्द भएका छन् भने हवाई र सडक यातायात समेत अवरुद्ध भएको छ । हिमपातले कर्णालीका हुम्ला डोल्पा, जुम्ला, मुगु जिल्लामा सञ्चालन हँुदै आएका हवाई सेवा पनि बन्द छन् । मुगुबाट नेपालगञ्ज जाने यात्रु ताल्चा विमानस्थलमा अलपत्र परेका छन् । मुगुमा गएको पुस महिनाको दोस्रो साता हिमपात परेको थियो । हिमपातले चिसो बढेसँगै जनजीवन प्रभावित भएपनि क्षतिको जानकारी भने अहिलेसम्म आइपगुेको प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारीले बताए ।
चिसोले विद्यालय बन्द भएका छन् । यसैगरी रारा ताल्चा विमानस्थल र नाग्म गमगढी सडक समेत बन्द भएको छ । उच्चबस्तीका वृद्धवृद्धा र बालबालिकासमेत हिमपातबाट प्रभावित बनेका छन् । यस्तै पशुचौपायाको चरन पनि प्रभावित बनेको छ । नाग्म गमगढी सडकको घुच्चीलेखमा १ फिटसम्म हिउँ जम्दा यात्रुहरु अलपत्र परेका छन् भने व्यापारिक प्रयोजनका सामग्रीहरु समेत ल्याउन नसकिएको जुम्लाको गोठीज्यूला भुभुलेका कामना स्टोरकी प्रोप्राईटर बाचुकली रावतले बताइन् । हिमपात हुँदा कृषकहरु निकै खुसी भएका छन । हिउँ पर्दा जौ, गहुँ, उवालगायतका अन्नबाली र फलफूलसमेत राम्रो हुने छायानाथ रारा नगरपालिका घट्टलेखकी बाच्या बिक बताउँछिन्् ।
मनाङ संवाददाता नेगम परियार र लमजुङ संवाददाता सन्देश पौडेलका अनुसार मनाङमा मंगलबार बिहानैबाट हिमपात शुरु भएपछि पर्यटकलाई सचेत रहन आग्रह गरिएको छ । तिव्रगतिमा हावाहुरीसहित हिमपात हुन थालेपछि अन्नपूर्ण पदमार्गमा आएका पर्यटकहरुलाई सचेत हुन स्थानीय प्रशासनले आग्रह गरेको छ । विश्व प्रसिद्ध अन्नपूर्ण पदमार्ग अन्तर्गत थोरङला भन्ज्याङ र तिलिचो ताल पुग्ने पर्यटकहरुलाई हावाहुरीसहित आएको हिमपातले दुर्घटना हुनसक्ने भन्दै सचेत गराइएको मनाङका प्रमुख जिल्ला अधिकारी रुद्रनाथ सापकोटाले बताए । जिल्लास्थित प्रहरी तथा विभिन्न बेसक्याम्पहरुमा मौसमको अनुकूलता हेरेरमात्र पर्यटकहरुलाई अघि बढ्न दिन आग्रह गरिएको सापकोटाले बताए ।
“बिहानैदेखि तिव्र गतीमा हावा चलेको छ,” प्रजिअ सापकोटाले भने “हिमपात हुने सम्भावना बढी भएकोले पर्यटकहरुलाई सुरक्षित गराउन निर्देशन दिइसकेका छौँ ।” प्रजिअ सापकोटाका अनुसार बाक्लो संख्यामा पर्यटक नभए पनि दैनिक १० जनाको हाराहारीमा पर्यटक आइरहेका छन् ।
चिसोका कारण मनाङमा ताल, बगिरहेका खोला, झरना तथा पाइपको पानी समेत जमेको छ । धारा तथा पाइपमा समेत पानी जमेपछि मनाङको जनजिवन कष्टकर बनेको छ । मनाङको तल्लो क्षेत्र नासोङ र लमजुङको माथिल्लो क्षेत्रमा पनि विहानैबाट चिसो बढेको छ ।
डडेल्धुरा संवाददाता हरिश चन्द लेख्छन् –
अग्ला पहाड तथा घना जंगल र सडकमा परेको हिमपातले भीमदत्त राजमार्ग अवरुद्ध छ । सोमबार रातिदेखि मौसम बदली तथा दिउँसो, मंगलबार बिहान भएको फाट्टफुट्ट वर्षापछि मौसम चिसिँदै गएको छ । मौसम चिसिँदै जाँदा पहाडी घना जंगल भएका लेक क्षेत्रमा हिमपात सुरु भएको प्रहरीले जनाएको छ ।
तराई जोड्ने भिमदत्त राजमार्गको शाहुखर्क, हगुल्टे लेक र बैतडी, बझाङ, दार्चुला जोड्ने महाकाली राजमार्गको अनारखोली जंगल लेक क्षेत्रमा हिमपात हँुदा लामो तथा छोटो दूरीका यातायातसमेत ठप्प रहेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ ।

जिल्ला ब्युरो

प्रतिक्रिया दिनुहोस्