गाउँ–गाउँमा सहकारीको शाखा विस्तार

संघीयताअनुसार म्याग्दीको ग्रामीण भेगका जनतालाई लक्षित गरेर सदरमुकाम केन्द्रित सहकारीले पालिकाको केन्द्रमा सहकारी शाखा विस्तारलाई तीव्रता दिएका छ । सदरमुकाम बेनीबाट सेवा दिँदै आएका बैंक तथा सहकारीले पालिकाको केन्द्र शाखा विस्तार गरेर सदरमुकामको सेवा गाउँगाउँमा पुर्याएका छन् ।
गाउँपालिकाको केन्द्र चहलपहल बढ्दै गएपछि पछिल्लो समय बैंकसँगै सहकारीका शाखा पुग्न थालेका छन् । सरकारले सहकारी नीतिमा परिवर्तन गरेपछि जिल्लामा केन्द्रित सहकारीले गाउँमा रहेका सहकारीहरुसंगै मर्ज गरेर सेवा विस्तार गर्दै ग्रामीण भेगका जनतालाई सेवा दिँदै आएका छन् ।
बेनी नगरपालिकासँगै गाउँपालिका अन्तरगत रघुगंगा, अन्नपूर्ण, मंगला, मालिका र धवलागिरीमा बैकं सेवासँगै सहकारीका शाखा विभिन्न सहकारी संस्थाले विस्तार गरेका छन् । पछिल्लो समय सदरमुकाम बेनीबाट सञ्चालित हुने धौलागिरी बचत तथा ऋण सहकारी संस्था, भूपूसैनिक बचत तथा ऋण सहकारी संस्था, पश्चिम दरवाङ बहुउद्देश्यीय सहकारी संस्था र मुक्तिनाथ सहकारी संस्थाले स्थानीय तहअनुसार केन्द्रमा शाखा विस्तार गरेका छन् ।
सदरमुकाम बेनीमा सञ्चालित मुक्तिनाथ बहुउद्देश्यीय सहकारी संस्थाले नीलगिरी सहकारीसंग मर्ज गर्दै रघुगंगा गाउँपालिकाको केन्द्र मौवाफाँटमा सेवा केन्द्र संचालन गरेको छ । सहकारीको सेवालाई गाउँपालिका केन्द्र सम्म पु¥याउने उद्देश्यले सेवा केन्द्र सञ्चालनमा ल्याइएको सहकारी अध्यक्ष लिलाराम गौतमले बताए ।
जिल्ला समन्वय समितिका प्रमुख देवेन्द्रबहादुर केसीले ग्रामीण सहर उन्मुख बनेका सहकारीको सेवा केन्द्र विस्तार हुँदा स्थानीय स्तरमा वित्तिय पहुँच बढ्ने बताए । उनले राज्यको तीनखम्बे अर्थनीतिअनुसार, सहकारीले स्थानीय स्तरमा पुँजीको संकलन र ऋणको लगानी संगै राष्ट्रिय स्तरमै पुँजीको विकास गर्न महत्वपूर्ण भुमिका खेल्ने बताए । ग्रामिण भेगमा संचालित सहकारीले गाउँमा साना साना ब्यवसायबाट भएको आम्दानीलई बचत गराउनमा सहयोग पुग्ने देखिन्छ ।