सिद्धार्थनगरको प्राथमिकतामा पर्यटन «

सिद्धार्थनगरको प्राथमिकतामा पर्यटन

रुपन्देही – नेपालकै महत्वपूर्ण मध्येको एक सिद्धार्थनगर (भैरहवा)ले पर्यटन क्षेत्रलाई मुख्य प्राथमिकतामा राखेको छ । बुद्ध जन्मस्थल लुम्बिनीको प्रवेशद्वर तथा स्थलमार्ग बेलहिया नाका हुदैं सबैभन्दा बढी तेश्रो मुलुकका पर्यटक भित्रने द्वारका रुपमा रहेको भएकाले पनि पर्यटनलाई मुख्य प्राथमिकतामा राखिएको सिद्धार्थनगर नगरपालिकाका प्रमुख हरि प्रसाद अधिकारीले बताए ।
“नेपालकै महत्वपूर्ण स्थानमा हाम्रो अवस्थिति छ, अन्तर्राष्ट्रिय विमानस्थल निर्माण अन्तिम चरणमा छ । अबको आधार भनेको पर्यटनबाटै समृद्धि हो । त्यसैले अब हाम्रो प्राथमिकता भनेको पर्यटन नै हो,” मेयर अधिकारीले भने । यस क्षेत्रको महत्वलाई बुझेर नै सिद्धार्थनगर नगरपालिकाको चौथो नगर सभाले सिद्धार्थनगरमा पर्यटन क्षेत्रलाई मुख्य प्राथमिकतामा राखेको अधिकारीले बताए । नगर सभाले सिद्धार्थनगर हुँदै लाखौं पर्यटक आवतजावत गर्ने तर नगरले खासै फाइदा लिन नसकेकोले आन्तरिक तथा बाह्य पर्यटकहरुलाई आकर्षित गर्न विभिन्न पर्यटकीय पूर्वाधारहरु खडा गर्ने, पर्यटकीय गन्तव्यहरु पहिचान गर्ने, पर्यटकहरुको आकर्षण गर्ने कुरामा केन्द्रित हुने गरी योजना बनाउनुपर्नेमा जोड दिएको समेत अधिकारीको भनाइ छ । “अहिले सिद्धार्थनगरमा पर्यटकलाई भुलाउने पर्यटकीय स्थलहरु छैनन् । जबसम्म पर्यटकहरुलाई एक रात बास बस्ने वातावरण बनाउन सकिँदैन, तबसम्म पर्यटन क्षेत्रले लाभ लिन सक्नेछैेन । लुम्बिनीको काखैमा हँुदा पनि पर्यटकीय पूर्वाधारको अभावले नगरले खासै फाइदा लिन नसकेकोमा कसैको दुईमत छैन,” उनले भने ।
नगरपालिकाले सिद्धार्थनगरको काखै भएर बग्ने डण्डा नदीको व्यवस्थापन गरी त्यसलाई पर्यटकीय गन्तव्यका रुपमा विकास गर्ने योजना बनाएको छ । करिब ३ अर्बमा डण्डा करिडोर निर्माणको योजना बनिरहेको र उक्त योजना सफल पार्न सकिए पर्यटकका लागि गन्तव्य हुन सक्ने मेयर अधिकारीको भनाइ छ ।
५ किलोमिटर लामो करिडोरमा बौद्ध सम्पदा झल्कने वस्तुहरु, ध्यान केन्द्र, पार्क, नदीमा नौका बिहार, बाल उद्यान, तीरैतीर साइक्लिङ र मर्निङ वाकसमेत गर्न मिल्ने गरी पूर्वाधार तयार गर्ने योजनासहित अघि बढेको मेयर अधिकारीको भनाइ छ । यसका लागि करिब ३ अर्ब खर्च लाग्ने भएकाले दाताको खोजी भइरहेको अधिकारीले बताए ।
भैरहवा–बेलहिया सडक खण्डको डण्डा पुल नजिकै करिब २ करोड लागतमा पर्यटकीय गेट निर्माण हुने, वडा नम्बर २ मा पार्क बनिरहेको, वडा नम्बर ३ मा एक करोड रुपैयाँ लागतमा पार्क बनाउने, हाटबजारमा बहुउद्देश्यीय व्यापारिक भवन बनाउने जनाउँदै मेयर अधिकारीले यसले नगरलाई समृद्धितर्फ डो¥याउने विश्वास व्यक्त गरे ।
नगरपालिकाले सिद्धार्थ बस पार्कमा विशाल बुद्ध मूर्ति निर्माण गर्ने योजनासमेत बनाएको छ । नगरपालिकाको आर्थिक श्रोत तथा आय कम भए पनि विभिन्न दातृ निकायसँगको सहकार्यमा पर्यटन पूर्वाधार खडा गर्न र विकास निर्माणको कामलाई प्राथमिकता दिइने उपप्रमुख उमा काफ्लेले बताइन् ।

प्रतिक्रिया दिनुहोस्