पर्यटकीयस्थल मुन्द्रा चढाउने डाँडामा पदमार्ग निर्माण «

पर्यटकीयस्थल मुन्द्रा चढाउने डाँडामा पदमार्ग निर्माण

अन्नपूर्ण गाउँपालिकाको वडा नम्बर २ स्थित भुरुङ–तातोपानी कुण्ड म्याग्दी जिल्लाकै प्रमुख पर्यटकीय गन्तब्यस्थलको रूपमा परिचिति छ । धौलागिरी आइसफल पदमार्गमा पर्ने भुरुङ तातोपानीको शिरमा रहेको मुन्द्रा चढाउने डाँडाबाट हिमाल, पहाडी भूगोल, बनजंगलको मनोरम दृष्य अवलोकन गर्न सकिन्छ ।


अन्नपूर्ण गाउँपालिकाले भुरुङ–तातोपानीमा आउने पर्यटकको बसाइ लम्बाउन मान्द्रेढुंगा हुँदै बराहगुफादेखि मुन्द्रा चढाउने डाँडासम्म पदमार्गसँंगै पर्यटकीय पूर्वाधार निर्माणमा जोड दिएको छ । धौलागिरि आइसफल पदमार्गमा पर्ने भुरुङ तातोपानीको शिरमा रहेको मुन्द्रा चढाउने डाँडासमुद्री सतहदेखि तीन हजार ४०० मिटरको उचाइमा अवस्थित छ ।

यहाँबाट धौलागिरि आइसफल र आधार शिविर जान सकिन्छ । यहाँबाट धौलागिरि, नीलगिरि, अन्नपूर्ण, गुर्जा, माछापुच्छ्रे, मनास्लुलगायत २० भन्दा बढी हिमशृङ्खला, सूर्योदय, पहाडी भूगोल, नागबेली परेर बगेको कालिगण्डकी, वनजंगलको मनमोहक दृश्य अवलोकन गर्न सकिने अन्नपूर्ण गाउँपालिका–२ का वडाध्यक्ष ओमप्रकाश फगामीले बताए ।


मान्द्रेढुंगादेखि मुन्द्रा चढाउने डाँडामा जाने बाटोमा पर्ने विभिन्न भाडावर्तन, पंक्षी, जनावरका आकृति अवलोकन गर्न सकिन्छ । नजिकै झरना पनि रहेको बराह गुफाको धार्मिक महत्वसमेत छ । मंगल संस्कृतिअनुसार जनैपूर्णिमाको अवसरमा पूर्जाआजा गरेकोमा मागेको इच्छा पूरा हुने स्थानीयको जनविश्वास छ । जहाँ झरनासंँगै रहेको गुफामा वडाले पूर्वाधार निर्माण गरेको छ ।


मुन्द्रा चढाउने डाँडालाई नयाँ पर्यटकीय गन्तव्यस्थलको रूपमा विकास गर्न गाउँपालिकाले विनियोजन गरेको १० लाख बजेटबाट दुई किलोमिटर ५०० मिटर पदमार्ग निर्माण गरिएको छ । अप्ठ्यारो, उकालो र साँघुरो ठाउँमा ढुंगाको सिँढी तथा तेर्सो ठाउँमा बाटो खनेर पदमार्ग बनाइएको वडाध्यक्ष फगामीले जानकारी दिए । यसैगरी प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत अन्नपूर्ण गाउँपालिकाको सात लाख सहयोगमा बेरोजगार युवालाई परिचालन गरेर भुरुङ–तातोपानीको सिंगारेढुंगादेखि मान्द्रेढुंगा जोड्ने पदमार्ग निर्माण भएको छ ।


अन्नपूर्ण गाउँपालिकाभित्र विश्वप्रसिद्ध अन्नपूर्ण चक्रीय पदमार्गमा समेटिएको पुनहिल घोडेपानी, माहेरेडाँडा, रुप्से झरनालगायतका प्रसिद्ध पर्यटकीयस्थल रहेका छन् भने गाउँपालिकाका लुकेर रहेका विभिन्न मनमोहक दृष्यावलोकन गर्न सकिने पहाडका टाकुरा, प्राकृतिक तातोपानीका कुण्डहरू, वनजंगल, तालतलैया, जडिबुटी, झरनालाई संरक्षण तथा पूर्वाधार निर्माणमा जोड दिएको छ ।

प्रतिक्रिया दिनुहोस्