पर्वतको फलामखानीमा अर्गानिक चिया उत्पादन सुरू «

पर्वतको फलामखानीमा अर्गानिक चिया उत्पादन सुरू


पर्वत जिल्लाको महाशिला गाउँपालिका–६ फलामखानीमा चिया उत्पादन सुरु भएको छ । जिल्लामा पहिलो पटक सुरु गरिएको व्यावसायीक चिया खेतीबाट तयारी चिया उत्पादन गर्न थालिएको हो । संरक्षणको अभावमा झण्डै एक दशकअघि लगाइएको चियाखेती अलपत्र परेको बेला महाशिला गाउँपालिकाले चियाखेती संरक्षण तथा विस्तार गर्न थालेको हो । यस वर्ष साउन महिना लागेपछि मात्रै टिपेकाले झण्डै १० किलोग्राम अर्गानिक चिया उत्पादन गर्न सकिएको फलामखानीका वडा अध्यक्ष रामबहादुर सुनारले जानकारी दिए ।


इलाममा चियाको क्षेत्रमा कार्यरत नरेन्द्र सुवेदीको पहलमा यस वर्षदेखि प्रशोधन गर्न थालिएको हो । “वैशाखबाटै टिप्न सुरु गरेको भए ५० किलोग्राम भन्दा बढी उत्पादन हुने रहेछ” वडा अध्यक्ष सुनारले भने, “ढिलोगरी टिपेका कारण ५/७ किलोभन्दा उत्पादन गर्न सकेनौं ।”
२०६७ सालमा तत्कालीन जिल्ला विकास समिति पर्वतको सहयोगमा सुरु गरिएको चियाखेती लामो समय संरक्षणको अभावमा गौचरणमा परीणत भएको थियो । उचित संरक्षण र रेखदेखको अभाबमा चियाखेती फस्टाउन सकेको थिएन । दुई वर्ष अघिदेखि गाउँपालिकाको पहलमा गोडमेल तथा संरक्षण गर्न थालेपछि यस वर्षदेखि उत्पादन दिन सुरु गरेको सुनारले बताए ।


साविक फलामखानी गाविसको वडा नं. ४, ५, ७, ८ र ९ का दलित समुदायको आयआर्जन वृद्धि गर्ने उद्देश्यले चियाखेती सुरु गरिएको थियो । इलाम जिल्लाको जस्तै व्यावसायिक चिया खेती विस्तार गर्ने उद्देश्यले योजना सुरु गरेपनि स्थानीयले भने कुनै चासो नदेखाएपछि समस्या भएको थियो ।


“दलित समुदायको आयआर्जनमा वृद्धि गर्ने उद्देश्यले चियाखेती सुरु गरिएको हो” महाशिला गाउँपालिकाका अध्यक्ष राजु पौडेलले भने, “स्थानीयबासीको बेवास्ताका कारण सोचे अनुसार फाइदा लिन सकिएको थिएन, अब गाउँपालिकाले यसको संरक्षण र विस्तार गर्छ ।”
१८ सय मिटरको उचाईमा रहेको साविक फलामखानी गाविसलाई चिया खेतीको पकेट क्षेत्र बनाउने गरी तत्कालीन समयमा २० हजार चियाका बिरुवा रोपिएको थियो । नगदेबालीको रुपमा चिया खेतीलाई प्रवद्र्धन गर्नकै लागि पहिलो चरणमा तत्कालीन जिविस पर्वतले झण्डै ६० रोपनी क्षेत्रफलमा चियाखेतीको सुरुवात गरेको थियो । साविकको गाविसको ४ र ५ वडामा लगाएका बिरुवा स्थानीयले संरक्षण नगर्दा नष्ट भएपनि वडा नं. ७, ८ र ९ मा भने बिरुवा जिवितै रहेका थिए ।


यस वर्ष स्थानीयवासीलाई चिया उत्पादन तथा प्रशोधन सम्बन्धी तीन दिने तालिम समेत प्रदान गरिएको छ । अब समुह बनाएर यसको विस्तारमा लाग्ने सुनारले बताए । महाशिला गाउँपालिकाले विगत तीन वर्षदेखि वर्षेनी यसको विकासका लागि रकम बिनीयोजन गर्दै आएको छ । यस वर्ष पनि ३ लाख रुपैयाँ विनियोजन भएको अध्यक्ष पौडेलले जानकारी दिए । उनका अनुसार गाउँ कार्यपालिकाको बैठकले नै चिया खेतीको लागि आवश्यक यन्त्र उपकरण खरिद गर्ने, उत्पादित चिया ल्यावमा परीक्षणका लागि पठाउने निर्णय समेत गरेको छ ।


पहिलोपटक उत्पादन गरिएको अर्गानिक चिया निकै गुणस्तरको पाएको र अब परीक्षण र थप क्षेत्रमा व्यावसायिक विकासको लागि गाउँपालिकाले योजना निर्माण गरी कार्य अगाडि बढाउने गाउँपालिकका प्रवक्ता जीवन उच्चै ठकुरीले बताए । फलामखानीमा चियाको व्यावसायिक विकास गर्दै लैजाने गाउँपालिकाको नीति तथा कार्यक्रम समेत रहेको उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्