श्वेतपत्रमा पूर्वाग्रह राखेको छैन : अर्थमन्त्री शर्मा

अर्थमन्त्री जनार्दन शर्माले देशको वर्तमान आर्थिक अवस्थाको श्वेतपत्रमा कुनै आग्रह र प्रर्वाग्रह नरहेको स्पष्ट पारेका छन् ।
बिहीबार राष्ट्रियसभामा देशको वर्तमान आर्थिक अवस्थाको जानकारीपछि सांसदका प्रश्नको उत्तर दिँदै उनले देशको वर्तमान आर्थिक अवस्थाको श्वेतपत्रमा कुनै आग्रह र पूर्वाग्रह र डेटामा फरक रहेको भए आफू कठघरामा उभिन तयार रहेको बताए । उनले देशको वर्तमान आर्थिक अवस्थाको श्वेतपत्रमा भएका र गरेका कामसहितको विकासको उल्लेख गरिएको बताए । उनले यसमा कुनै आग्रहको गन्ध नभेटिने पनि प्रष्ट पारे ।
“मैले देशको आर्थिक अवस्थाको जानकारी भनेको छु, त्यसमा कुनै आग्रह, पूर्वाग्रह छैन, यहाँ सडक कति लामो खनियो, कति वटा पुल बनाइयो भन्ने कुरा उल्लेख गरिँदैन, यसमा आर्थिक विकास र प्रगतिको के अवस्था छ, पुँजी निर्माण कसरी भइरहेको छ, ऋणको अवस्था के छ, सञ्चितिको अवस्था के छ, भन्ने विषय प्रस्तुत गर्नुपर्ने भएकोले डेटामा जे छ त्यही प्रश्तुत गरेका छु” उनले भने, “प्रगति के भयो भनेर देशको ऐना प्रस्तुत गरेको हुँ, कतै डेटामा फर परेको रहेछ भने कतै पूर्वाग्रही रहेछ भने त्यसको जिम्मा लिन्छु, कुनै आग्रह, पूर्वाग्रह छैन, भएका गरेका काम छन्, फरक परे म फेरि कठघरामा उभिन तयार छु ।”
उनले जिम्मेवार भएर लोकतन्त्रलाई स्वीकार गर्ने भएकोले संसदमा बजेट प्रस्तुत गरिएको बताए । यसको निर्णय संसदले गर्ने उनले बताए । बजेटको बारेमा संशोधन, परिमार्जन र प्रतिस्थापन जस्ता कुरा संसदले गर्ने बताए । आग्रह र पूर्वाग्रहमा निकट र टाढाको नातामा वा गुट र अर्कोको नातामा यो सरकारले बजेट विनियोजन नगर्ने बताए ।
“बजेट अध्यादेश मार्फत् नल्याउनु पथ्र्यो ल्याइयो तरपनि सरकारको निरन्तर्ताको कारणले, जिम्मेवार भएर लोकतन्त्रलाई स्वीकार गर्ने भएको कारणले संसदमा प्रस्तुत गरिएको छ” उनले भने, “यसको निर्णय संसदले गर्नेछ, , त्यसलाई संशोधन, परिमार्जन, प्रतिस्थापनका कुराह संसदमा आएर निर्णय हुनेछन्, त्यसकारणले पूर्वाग्रही ढंगले निकट र टाढाको नातामा वा गुट र अर्कोको नातामा बजेट विनियोजन गर्ने कुरा यो सरकारले गर्दैन, यो सरकारको मन्त्रीले गर्नेछैन ।”
राष्ट्रिय गौरवका योजनाहरु निरन्तर रुपमा अघि बढ्ने बताउँदै उनले प्रदेश, पालिकाका अधिकार मिच्ने गरी गरिएका निर्णयमा सुधार गरिने बताए । उनले मानव सूचकांक विकसित नभएका कर्णाली, सुदूरपश्चिम र प्रदेश–२ मा विशेष महत्व दिइने बताए ।