नेपाल टेलिकमको व्यावसायिक तथा वित्तीय स्वास्थ्य «

नेपाल टेलिकमको व्यावसायिक तथा वित्तीय स्वास्थ्य

मोबाइल र इन्टरनेट सेवाको गुणस्तर सिकायतपूर्ण रहेकाले गुणस्तर सुधारमा ध्यान दिनुपर्छ ।

नेपाल दूरसञ्चार कम्पनी लिमिटेड विभिन्न आरोह–अवरोह छिचोल्दै आजको अवस्थामा आइपुगेको हो, जुन १ सय ४ वर्षपूर्व स्थापना भई १९९१ सालमा टेलिफोन हेड अफिस, २०१६ सालमा विभाग, २०२६ सालमा समिति हुँदै २०३१ सालमा संस्थानमा रूपान्तरण भएको पाइन्छ । तत्कालीन दूरसञ्चार संस्थानलाई निजीकरण गर्ने सोच २०५२ तिरबाट चलेकोमा कम्पनी ऐन, २०५३ को प्रावधानअनुरूप २०५६ सालमा मन्त्रिपरिषद्को निर्णय अनुसार २०६० माघ २२ गते नेपाल दूरसञ्चार कम्पनीमा रूपान्तरण भई २०६१ वैशाख १ गते यसको टे«डनेम ‘नेपाल टेलिकम’ सम्बोधन गर्न थालियो । ०७४/७५ मा भ्वाइसतर्फ ५०.९ प्रतिशत र डाटातर्फ ४३.६ प्रतिशत बजार हिस्सा रहेको नेपाल टेलिकमले आधारभूत दूरसञ्चार सेवा, जिएसएम मोबाइल, सिडिएमए, डिएसएल, आईपिसिडिएमए, वाइम्याक्स तथा एलटिईजस्ता सेवाहरू पस्किरहेको मात्र छैन, स्थानीय टेलिफोन, जिएसएम मोबाइल, वाइम्याक्स, एडिएसएल र थ्रीजी सेवा मुलुकभर बिस्तार गरिसकेको छ ।

पुँजी संरचना
नेपाल सरकारको ९१.४९ प्रतिशत, नागरिक लगानीकोषको ०.०३ प्रतिशत, सर्वसाधारणको ३.९७ प्रतिशत र कर्मचारीको ४.५ प्रतिशत हिस्सा रहेको नेपाल दूरसञ्चार कम्पनी लिमिटेड जनउपयोगी संस्था हो । अधिकृत पुँजी २५ अर्ब र जारी पुँजी १५ अर्ब रहेको नेपाल दूरसञ्चार कम्पनी लिमिटेडको सेयर स्टक एक्सचेन्जमा सूचीकृत भएको छ । २०६५ चैत ३० गते पहिलो साधारणसभा गरेकोमा २०७५ पुस ३० मा एघारौं वार्षिक साधारणसभाको मिति तय भएको हो ।

वित्तीय स्वास्थ्य
०७४/७५ नेपाल दूरसञ्चार कम्पनीले आधारभूत सेवाबाट ४.७२ अर्ब, जिएसएम सेवाबाट २४.६२ अर्ब, सिडिएमए सेवाबाट ९१.४६ करोड र सेरिङबापत ८.०४ अर्ब गरी कुल ३८.९९ सेवा सञ्चालन राजस्व आर्जन गरेको छ । वित्तीय आम्दानीसहित कुल राजस्व ४५.२७ अर्ब आर्जन भएको छ । राजस्व वृद्धि भने १.५२ प्रतिशतले मात्र भएको छ, जहाँ कुल खुद नाफा १७.४८ अर्ब आर्जन भएकोमा लगानीकर्ताले प्रतिसेयर आम्दानी ११६.५६ रुपैयाँ र प्रतिसेयर लाभांश ५५ रुपैयाँ प्राप्त गरेका छन् । सञ्चित त मुनाफासहित कुल इक्युटी ९९.६६ अर्ब र कुल सम्पत्ति १.३१ खर्ब पुगेको छ । कुल खर्च २३.३५ अर्ब खर्च गरिएकोमा राज्य कोषमा २६.६५ अर्ब राज्य कोषमा दाखिला भएको छ । जहाँ प्रतिसेयर आम्दानी ११६.५६ रुपैयाँ गरिएको छ भने नेटवर्थ प्रतिसेयर ६६४.४ रुपैयाँ पुगेको छ ।

व्यावसायिक स्वास्थ्य
(क) आधारभूत टेलिफोन : ०७४/७५ पुससम्ममा ६ लाख ८६ हजार लाइन आधाभूत टेलिफोन वितरण भएको छ । ०७४/७५ मा सेवा सञ्चालन आय ३८.९९ अर्ब रहेकोमा पिएसटीएनको योगदान (एडिएसएल, एफटिटिएच सहित) ४.७२ अर्ब मात्र रहेको छ, जुन कुल सेवा सञ्चालन आयको योगदान १२.१० प्रतिशत मात्र हो, जहाँ ०७४/७५ मा ४० हजार लाइन वितरण गर्ने लक्ष्य रहेकोमा ५ हजार ३४४ लाइन मात्र वितरण भएको छ ।
(ख) सेलुलर मोबाइल : जिएसएमअन्तर्गत २०६१ मा प्रिपेड, २०६६ मा थ्रीजी र २०७३ मा सेवा वितरण गरिएको छ, जहाँ ०७४/७५ सम्म नेपाल दूरसञ्चार कम्पनी लिमिटेडले १ करोड ७५ लाख लाइन वितरण गरेको छ । ०७४/७५ मा सेवा सञ्चालन आय ३८.९९ अर्ब रहेकोमा जिएसएमको योगदान २४.६२ अर्ब मात्र छ, जुन कुल सेवा सञ्चालन आयको योगदान ६३.१५ प्रतिशत मात्र हो, जहाँ ०७४/७५ मा २७ लाख ३० हजार जिएसएम वितरण गर्ने लक्ष्य लिएकोमा २२ लाख ६८ हजार मात्र वितरण गर्न सकेको छ ।
(ग) सिडिएमए : सिडिएमए प्रविधिमार्फत फिक्सफोन, मोबाइल र डाटा सेवा सञ्चालन गरिएको भए पनि आशातीत रूपमा फस्टाउन सकेको छैन । ०७४/७५ सम्ममा १७ लाख ६ हजार लाइन मात्र वितरण हुनु यसैको सबुत हो । ०७४/७५ मा सेवा सञ्चालन आय ३८.९९ अर्ब रहेकोमा सिडिएमएको योगदान ९१.४६ करोड अर्ब मात्र छ । जुन सेवा कार्य सञ्चालन आयको योगदान २.३५ प्रतिशत मात्र हो, जहाँ ०७४/७५ मा १ लाख ४२ लाइन वितरण गर्ने लक्ष्य रहेकोमा १ लाख ४ हजार मात्र वितरण भएको छ ।
(घ) एडिएसएल : एडिएसएल ग्राहकबाट अत्यन्त रुचाइएको सेवा मात्र होइन, टेलिकमको एकल बजार रहेको सेवा हो । तथापि टेलिकम ग्राहकको अपेक्षाअनुरुप एडिएसएल सेवा वितरण गर्न नसकेको अबस्था छ, जुन ०७४/७५ सम्ममा २ लाख ६ हजार लाइन मात्र वितरण भएको छ । ०७४/७५ मा सेवा सञ्चालन आय ३८.९९ अर्ब रहेकोमा सिडिएमएको योगदान १.५१ अर्ब मात्र रहेको छ । जुन कुल सेवा सञ्चालन आयको योगदान ३.८७ प्रतिशत मात्र हो, जहाँ ०७४/७५ मा ९६ हजार २ सय ९७ वितरण गर्ने लक्ष्य रहेकोमा २४ हजार ६ सय ३५ मात्र वितरण भएको छ ।
(ङ) वाइम्याक्स : वाइम्याक्स फोरजी प्रविधिको व्रोडब्यान्ड इन्टरनेट पनि हो, तर २०७३ कात्तिकसम्ममा ७५ वटै जिल्लामा वितरण भइसकेको भए पनि वाइम्याक्स सेवा खासै फक्रन सकेको छैन । ०७४/७५ सम्ममा १७ हजार ६ सय लाइनमै सीमित हुनु त्यसैको सबुत हो । ०७४/७५ मा सेवा सञ्चालन आय ३८.९९ अर्ब रहेकोमा वाइम्याक्सको योगदान ४.३९ करोड अर्ब मात्र रहेको छ, जुन कुल सेवा सञ्चालन आयको योगदान ०.११ प्रतिशत मात्र हो, जहाँ ०७४/७५ मा २ हजार ५ सय ९८ लाइन वितरण गर्ने लक्ष्य राखिएकोमा ८ सय ८४ लाइन मात्र वितरण भएको छ ।
(च) फाईबर टु होम : एफटिटिएच नेपाल टेलिकमले २०७१ सालमा अगाडि सारेको अत्याधुनिक फिक्स ब्रोडब्यान्ड सर्भिस हो । एफटिटिएच प्रविधिमा ५, १० र २५ एमबिपिएस स्पिडमा मल्टिमिडिया (भिडियो अनडिमान्ड, टिभी, गेमिङ, भिडियो कन्फेन्सिङ) लगायतका सेवा उपभोग उपभोग गर्न सकिने सेवा भए पनि आशातीत वितरण हुन सकेको छैन, जुन ०७४/७५ सम्ममा ७ सय ६० मात्र वितरण भएको छ । यसको योगदान कार्य सञ्चालन आयमा १ प्रतिशतभन्दा कम रहेको छ ।
(छ) एलटिई : अहिले सम्मकै अत्याधुनिक मानिने फोरजी, २०७३ माघ १७ गते सफ्ट लन्च गरी माघ २२ गते व्यावसायिक रूपमा वितरण सुरु गरेको हो । आइपी टेलिफोनी, रोमिङ सर्भिस, हाई डेफिनेसन मोबाइल टिभी, भिडियो कन्फ्रेन्सिङ, थ्रिडी टेलिभिजन, क्लाउड कम्प्युटरिङ जस्ता सेवा उपभोग गर्न सकिने फोरजीको स्पिड १ देखि १ सय मेगाबाइट मानिन्छ । तर, नेपाल टेलिकमभन्दा ५ महिनापछि सुरु गरेको ऐनसेलको सेवा २१ वटा सहरमा पुग्दा नेपाल टेलिकम भने काठमाडौं र पोखरामा मात्र सीमित छ ।

सबल पक्ष
कम्पनीका तमाम सबल पक्षहरू छन् । सेवा विस्तारको हकमा ७५ जिल्लामा पिएसटिएन, जिएसएम, वाइम्याक्स, एडियसएल, थ्रीजी पुर्याइएको छ । प्रविधि अवम्लबनको हकमा पिएसटिएन, जिएसएम, सिडिएमए, आइपिसिडिएम, वाइम्याक्स, एफटिटिएच, इभिडियोजस्ता अत्याधुनिक प्रविधि अवलम्बन गरेको छ । ७५ जिल्लामा अप्टिकल बिच्छ्याउने योजना अगाडि बढाएको छ । पिएसटिएन, एडिएसएल, वाइम्याक्स सेवामा एकाधिकार प्राप्त छ । ग्रामीण दूरसञ्चार कोषबाट बेहोर्ने गरी मध्यपहाडी लोकमार्गमा २८ सय किमि अप्टिकल फाइबर बिच्छ्याउने अवसर प्राप्त भएको छ । २०/२२ अर्बको पुँजीगत बजेटसहित ९७.९७ अर्बको वार्षिक बजेट परिचालन गर्ने वित्तीय हैसियत राख्छ । ०७४/७५ सम्मको लेखापरीक्षणसहित वार्षिक साधारणसभा सम्पन्न गर्दो छ । धितो बोर्ड ऐनको प्रावधानअनुरूप चौमासिक रूपमा वित्तीय प्रतिवेदन सार्वजनिक गर्ने गरेको छ । नेपाल लेखामान मापदण्ड लागू गर्न सकेको छ । राज्यको आर्थिक, सामाजिक, सांस्कृतिक जीवनमा लाभ पुग्ने गरी संस्थागत सामाजिक उत्तरदायित्व निर्वाह गरेको मात्र छैन, मुलुकको जिडिपीमा करिब १० प्रतिशत र कर राजस्वमा करिब ५ प्रतिशतको योगदान पुर्याउन सफल छ ।

दुर्बल पक्ष
टेलिकमलाई ऐन, नियम, कानुन र सामाजिक उत्तरदायित्वमा बाँधिएर प्रतिस्पर्धा गर्नुपर्ने बाध्यता छ । खरिदसम्बन्धी एउटा निर्णय हुन बोलपत्र तयारी, बोलपत्र आह्वान, बोलपत्र मूल्यांकन, छनोट, पुनरावेदन, सम्झौता, आपूर्ति कार्यकै लािग कम्तीमै ६ महिनाको समय लाग्ने अवस्था छ । विगतमा सिडिएमए फुल मोबिलिटी, १ करोड मोबाइल, रणनीतिक साझेदारले अख्यितारमा पुगेको हालसालै फोरजीको फाइल १० महिना अख्तियारमा नियन्त्रण रही भरखरै फर्किएको छ । २०६९ फागुनमा सम्झौता भएको ५.२ मिलियन २०६९ आषाढमा सम्झौता भएको ४.८ मिलियन जिएसएम आयोजना अझै सम्पन्न भएका छैनन् । एकलौटी बजार रहेको आधारभूत स्थानीय टेलिफोन सेवालाई कार्यसञ्चालन खर्च धान्न हम्मेहम्मे परेको छ । सिडिएमए, वाइम्याक्स, एडिएसएल सेवाको वितरण र राजस्व निकै नाजुक छ । मोबाइल सेवा अवरुद्ध हुने तथा गुणस्तरमा सिकायत रहने समस्या निदान गर्न सकिएको छैन ।

चाल्नुपर्ने कदम
बजारमा टिक्न नियमित भरपर्दो, सर्वसुलभ र अत्याधुनिक सेवा पस्कनुको विकल्प नरहेकाले भ्वाइस सेवाप्रतिको आकर्षण कम हुन नदिन समयसापेक्ष भ्यालु एडेड सेवा विस्तार गर्नुपर्छ । करिब ८५ प्रतिशत नेपाली ग्रामीण क्षेत्रमा बसोबास गरिरहेकाले सेवालाई ग्रामीणमुखी बनाउनुपर्छ । मोबाइल र इन्टरनेट सेवाको गुणस्तर सिकायतपूर्ण रहेकाले गुणस्तर सुधारमा ध्यान दिनुपर्छ । आईपिसिडिएम, इभिडियो, वाईम्याक्स, थ्रीजी तथा फोरजीको गुणवत्तार प्रवद्र्धनमा यथेष्ट ध्यान पुर्याउनुपर्छ । आधारभूत टेलिफोनलाई इन्टरनेट प्रोटोकल बेस्ड बनाई भ्यालु एडेड सेवाहरू विस्तार गर्नुपर्छ । फाईबर टु होम प्रविधिमार्फत आइटिभी पस्कन विलम्ब गर्नु हुँदैन । कर्मचारीको उत्पादकत्व वृद्धि गर्न अनिवार्य रूपमा कार्य सम्पादन सम्भौता गर्नुपर्छ, ग्राहकका गुुनासा र समस्याहरू निराकरण गर्नका लागि ग्राहक सेवा केन्द्रलाई चुस्त तुल्याउनुपर्छ ।

प्रतिक्रिया दिनुहोस्