Logo

सेजनद्वारा आर्थिक पत्रकारिता हाते किताब प्रकाशन


नेपाल आर्थिक पत्रकार समाज सेजनले आर्थिक पत्रकारितासम्बन्धी हाते किताब प्रकाशित गरेको छ ।
नेपाल संघीयतामा गएपछि संघसँगै प्रदेश र स्थानीय तहसम्म आर्थिक क्षेत्रलाई पत्रकारिताको विधाको रुपमा विकास गर्ने उद्देश्यसहित सेजनले पुस्तक प्रकाशन गरेको हो । एक कार्यक्रमबीच बुधबार अर्थमन्त्री जनार्दन शर्माले पुस्तकको विमोचन गरे ।
आर्थिक क्षेत्रका सबैजसो विधा समेटर ल्याइएको पुस्तक १४ अध्यायमा विभाजन गरिएको छ । जसमा अध्याय एकदेखि सातसम्म आर्थिक पत्रकारिताको परिचय, समष्टिगत अर्थतन्त्र, मौद्रिक नीति र यसका उपकरण, ऋणपत्र बजारको रिपोर्टिङ, बिमा क्षेत्र, संघीयता र अर्थतन्त्र राखिएको छ । त्यस्तै अध्याय आठदेखि १४ सम्म पूर्वधार निर्माण, आन्तरिक तथा अन्तर्राष्ट्रिय व्यापार, निजी क्षेत्रको रिपोर्टिङ, श्रमसम्बन्धी रिपोर्टिङ, भ्रष्टाचारसम्बन्धी रिपोर्टिङ, आर्थिक पत्रकारितामा अंक र आर्थिक पत्रकारितामा आचारसंहिता राखिएको छ ।
विश्व बैंकको सहयोगमा प्रकाशन गरिएको यो पुस्तक आर्थिक विषयवस्तु सहज बनाउनुका साथै सैद्धान्तिक पक्षसँगै उदाहरण तथा पत्रकारले बुझ्नुपर्ने मुद्दा र प्रश्नहरू समावेश गरिएको छ ।
पुस्तक विमोचन कार्यक्रममा अर्थमन्त्री शर्माले पुस्तक अर्थका विषयमा जानकारी लिनको लागि उपयोगी हुने बताए । ‘आर्थिक क्षेत्रमा काम गर्ने र रुचि राख्ने सबैलाई यो पुस्तक निकै उपयोगी हुन्छ,’ शर्माले भने । उनले पुस्तकमा सैद्धान्तिक पक्षहरूका साथै अर्थ पत्रकारिताको आचारसंहितासमेत बनाएको कारण मर्यादित पत्रकारितामा सहयोग पु-याउने बताए ।
आर्थिक विषयमा कलम चलाउन रुचाउनेका लागि यो महत्वपूर्ण हुने उनको भनाइ छ ।
विश्व बैंकका नेपाल, माल्दिभ्स र श्रीलंकाको राष्ट्रिय निर्देशक फारिस हदाद जर्भोसले अर्थपत्रकारिताको विकासको लागि पुस्तक महत्पूर्ण भएको बताए । उनले अर्थ र वित्त क्षेत्रमा कलम चलाउन रुचि राख्नेका लागि उपयोगी हुने बताए ।
त्रिभुवन विश्वविद्यालय पत्रकारिता विभागका प्रमुख प्राध्यापक चिरञ्जीवी खनालले अर्थका विषयमा कम जानकारी भएको कारणले पनि अझै पनि अर्थतन्त्रका विषयले सञ्चारमाध्येममा कम ‘स्पेश’ पाएको भन्दै अर्थ पत्रकारिताको महत्व बढाउन पनि पुस्तक उपयोगी हुने बताए । उनले यो पुस्तक पत्रकार, पत्रकारिताको विद्यार्थी, तथा अध्यताहरूका लागि सहयोगी हुने बताए ।
नेपाल आर्थिक पत्रकार समाज सेजनका संस्थापक अध्यक्ष प्रतीक प्रधानले अर्थपत्रकारितका लागि पुस्तक कोशेढुंगा हुने बताए । उनले अहिले पत्रकारिता एउटा बिटमा केन्द्रित हुँदै गएको अवस्थामा अर्थका सबै विषयमा जानकारी गराउनको लागि पुस्तक उपयोगी हुने बताए । यो पुस्तक अर्थ बीटमा काम गर्ने पत्रकारलाई मात्रै नभई डेक्स एडिटरका साथै सम्पादकहरूले पनि पढ्न जरुरी रहेको बताए ।
लेखक प्रेम खनालले लामो समयको प्रयासपछि यो पुस्तक निकालिएको बताउँदै उनले आर्थिक पत्रकारितालाई सहज बनाउन सहयोग पुग्ने बताए । उनले अर्थपत्रकारका लागि ‘डाटा भिजियोलाइजेसन’ सम्बन्धी अर्को पुस्तक पनि आवश्यक पर्ने भन्दै भविष्यमा त्यस्ता पुस्तकमा पनि ध्यान दिन आग्रह गरे । सेजनले निकालेको हाते किताब संस्थागत रूपमा एक हजार रुपैयाँ र व्यक्तिगत रुपमा ५ सय रुपैयाँ तोकिएको छ ।

प्रतिक्रिया दिनुहोस्