परशुरामधाम प्रवद्र्धन गर्न महोत्सव «

परशुरामधाम प्रवद्र्धन गर्न महोत्सव

डडेलधुरा – माघे संक्रान्तिको अवसरमा डडेलधुराको परशुराम नगरपालिका–५ परिगाउँमा अवस्थित परशुरामधाम महोत्सव हुने भएको छ । आजदेखि माघ ८ गतेसम्म हुने ‘परशुराम धार्मिक, पर्यटन महामहोत्सव २०७५’ को पूर्व प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले उद्घाटन गर्ने कार्यक्रम छ ।
श्यामा (महाकाली) र एला (रंगुन) नदीको संगममा रहेको यस तीर्थमा भृगुवंशी महर्षि जमदग्नि र रेणुका पुत्र परशुरामले तपस्या गरेको विभिन्न पुराणहरुमा वर्णन गरिएको छ । एला र श्यामाको संगममा जमदग्नि पुत्र परशुरामको आश्रय रहेको स्कन्दपुराणमा उल्लेख गरिएको छ । हैयेय वंशी क्षत्रीहरुले पिता जमदग्निको हत्या गरी कामधेनु गार्य अपहरण गरेको र आततायी क्षत्रीयहरुको अत्याचार कम गर्न क्षत्रीय विनास गरेपछि सरयूश्यामा नदीमा स्नान गरेको पुराणमा उल्लेख छ ।
परशुराम तीर्थमा स्नानको निकै ठूलो महत्व रहेको छ । गंगास्नानको समान पुण्य प्राप्त हुने पौराणिक मान्यता छ । त्यसमा पनि मकर स्नान अर्थात् माघ स्नानको निकै ठूलो महत्व रहेको छ । स्नानसँगै पितृ कार्य, देव पूजन, यज्ञयज्ञादि विधिपूर्वक गर्ने गरिन्छ । यज्ञादिसँगै विवाह, व्रतबन्ध आदि संस्कार र अनुष्ठान गर्ने गरिन्छ । रथ पूजनको विशेष महत्व रहेको छ ।
छत्रशिला महाकाली नदीको पानीभित्र छाता आकारको शिला अवस्थित छ, जसलाई स्वयं भगवानले शिवजीको स्वरूप मानेर पूजा गरिन्छ । महालिंग १६ शिवालयका देवस्थलहरू महाकाली (सुरसागा) को किनारमा अवस्थित रहेका छन् । १६ शिवालय र वरदानौका २२ देउरा ल्याउने प्रचलन रही आएको छ । देउरा ल्याई देवसभा गरिने, स्नान गर्ने गरिन्छ ।
दार्चुलाको मालिकार्जुन अछामको वैद्यनाथलगायत मानसखण्ड क्षेत्र लगायतका अन्य लालपुरी महाराजद्वारा निर्मित शिव मन्दिर धर्मशाला, महर्षि विश्वकर्माको मन्दिर निर्माण भएको छ भने विभिन्न शिवालयका मन्दिर निर्माण प्रक्रियामा रहेको परशुराम क्षेत्र विकास समितिका अध्यक्ष प्रेमचन्द ठकुरीले बताए । साविकको शीर्ष र जोगवुडा गाविस गाभिएर वि.सं २०७१ सालमा परशुराम नगरपालिका निर्माण गरिएको छ ।
पुस मसान्तको साँझ यहाँ आएर रातभर आगो तापेर भक्तजनहरू जाग्राम बस्ने गर्दछन् । माघ १ गते बिहान ४ बजेदेखि महाकाली किनारमा नुहाउने भक्तजनहरूको पनि भिड लाग्छ । माघे संक्रान्तिको दिन गंगा स्नान गरेमा सम्पूर्ण पाप कट्टी हुने तथा पुण्य कमाइने विश्वास गरिन्छ । मेला भर्न सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्ला तथा छिमेकी राष्ट्र भारतबाट समेत तीर्थालु तथा दर्शनार्थीहरू आउने गरेको परशुराम क्षेत्र विकास समितिका अध्यक्ष प्रेमचन्द ठकुरीले जानकारी दिए ।
चार धाममध्येको एक मानिने परशुराम धामलाई देश तथा विदेशमा प्रचारप्रसार गर्ने उद्देश्यले महामहोत्सव गर्न लागिएको आयोजनक परशुराम नगरपालिकाका नगरप्रमुख एवं परशुराम धार्मिक, पर्यटन महामहोत्सव २०७५ का संयोजक भीमबहादुर साउदले जानकारी दिए । “परशुराम भगवानलाई विष्णुको छैटौँ अवतारका रुपमा लिइन्छ । भगवान परशुरामले यही क्षेत्रमा तपस्या गरेको र यसै क्षेत्रमा उहाँहरु पनि जन्म भएको स्कन्द पुराणमा उल्लेख छ,” नगरप्रमुख साउँदले भने, “यो क्षेत्र ओझेलमा परेको छ । यसको महत्वलाई देश विदेशमा चिनाउन महामहोत्वसको आयोजना गर्न लागिएका हो ।”

कसरी पुग्ने ?
परशुराम धाम डडेल्धुराको सदरमुकामदेखि १०० किलोमिटर र कञ्चनपुरबाट ३९ किलोमिटरको दूरीमा सडक मार्गबाट पुग्न सकिन्छ । भीमदत्त सडकखण्डमा पर्ने डोटीको बुडरबाट छुट्टिने कच्ची सडकबाटो भएर ४ घण्टामा परशुरामधाम पुग्न सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्