महासंघ र अर्थमन्त्रीबीच छलफल «

महासंघ र अर्थमन्त्रीबीच छलफल

नेपाल पत्रकार महासंघले नव नियुक्त अर्थमन्त्री जनार्दन शर्मासँग कोभिडले सञ्चार क्षेत्रमा पारेको प्रभाव र त्यसको समाधान तथा बजेट कार्यान्व्यनका विषयमा छलफल गरेको छ । महासंघ केन्द्रीय कार्यालयमा अर्थमन्त्री शर्मालाई स्वागत गर्दै कोभिडले सञ्चार क्षेत्रमा पारेको प्रभाव र त्यसको समाधान तथा बजेट कार्यान्व्यनका विषयमा छलफल गरेको हो ।
कार्यक्रममा अर्थमन्त्री जनार्दन शर्माले प्रेस स्वतन्त्रताको रक्षा र श्रमजीवी पत्रकार साथै, स्वरोजगारमूलक मिडियाको रक्षाका लागि सबै सरोकारवालासँग छलफल गरी योजना ल्याउने बताए । शर्माले निरन्तर सुधारको आन्दोलन आवश्यक रहेको भन्दै ऐन कानुन निर्माण, संस्थागत कमिकमजोरीको सुधार र कार्ययोजना निर्माणमा आवश्यक सुझाव दिन आग्रह गरे । उनले सत्यतथ्य सूचना सम्प्रेषणमा ध्यान दिन आग्रह गर्दै सरकारको स्वस्थ्य आलोचना गर्नसमेत आग्रह गरे ।
महासंघका कार्यवाहक अध्यक्ष रमेश विष्टले मन्त्री शर्मालाई कार्य सफलताको शुभकामना दिँदै कोभिडले सञ्चार क्षेत्रमा धेरै ठूलो प्रभाव परेको भन्दै पत्रकारहरू पेशाबाट विमुख हुने अवस्था रहेको अवगत गराए । उनले मुख्य गरी साना लगानीका सञ्चारमाध्यम र तिनमा आश्रित पत्रकारहरू मारमा परेको भन्दै त्यसको सम्बोधन गर्न सरकारसंग आग्रह गरे ।
महासंघका महासचिव रोसन पुरीले कोभिडले श्रमजीवी पत्रकार तथा तिनका आश्रित परिवारलाई ठूलो मारमा पारेको भन्दै सरकारले त्यसको समाधानका लागि योजना ल्याउनुपर्ने बताए ।
भेटमा कार्यवाहक अध्यक्ष रमेश विष्टले बजेट कार्यान्व्यनका साथ साथै सञ्चारसँग सम्बन्धित विभिन्न कानुनको विश्लेषण गरी तयार पारेको पुस्तिका मन्त्री शर्मालाई हस्तान्तरण गरे ।

प्रतिक्रिया दिनुहोस्