व्यापारिक मलमा मानिसहरूको चहलपहल आंशिक मात्रै «

व्यापारिक मलमा मानिसहरूको चहलपहल आंशिक मात्रै

कोरोना महामारी र लकडाउनका कारण विगत लामो समयसम्म बन्द रहेका व्यापारिक मलमा भने लकडाउन केही खुकुलो भएपछि पनि मानिसहरूको चहलपहल आंशिक रूपमा मात्रै भएको देखिन्छ । व्यापारिक प्रतिष्ठानहरू लामो समयसम्म बन्द हुँदा व्यापारमा समेत नराम्रो घाटा बेहोर्नुपरेको थियो । तर, पछिल्लो समय राजधानीका विभिन्न व्यापारिक मलहरूमा बुझ्दा त्यति सन्तोषजनक ग्राहकहरू नआएको विभिन्न व्यापारीहरू बताउँछन् ।
यसै क्रममा गत शनिबार म राजधानीको सिभिल मल गएको थिएँ । यस मलमा कोरोना महामारी सुरु नहुँदा अत्यन्तै भीड हुने गरेको देखिन्थ्यो भने व्यापार–व्यवसाय पनि राम्रै तरिकाले सञ्चालन हुन्थ्यो । तर, कोरोना महामारी र लकडाउनका कारण लामो समयसम्म व्यापारिक मलहरू बन्द रहँदा यहाँका कति व्यवसायका पसलहरू खाली रहेका छन् त कति बन्द भइसकेका छन् । हप्ताको सातै दिन भीड लाग्ने यस मलमा गत शनिबार भने मानिसहरूको चहलपहल आंशिक रूपमा मात्रै देखिन्थ्यो ।
त्यसैगरी सिभिल मलको छैटौं तलामा रहेको विभिन्न मनोरञ्जनात्मक गतिविधि हुने ठाउँमा पनि त्यति सन्तोषजनक ग्राहक नआएको एक कर्मचारीहरू बताउनुहुन्छ । त्यस्तै माथिल्लो तलामा रहेको न्यू माइक लुकमा पनि मानिसहरूको चहलपहल आंशिक रूपमा मात्र देखिन्थ्यो । तर, पहिलेको जस्तो चहलपहल भने छैन । यसै मलको कुनै–कुनै व्यवसायमा भने मानिसहरू आ–आफ्नै तरिकाले ग्राहकहरूसँग कुरा गरिरहेका देखिन्थे । कुनै–कुनै पसलमा मात्र मानिसहरूको केही चहलपहल देखिन्थ्यो । यस मलको ग्राउन्ड फ्लोर अर्थात् बाहिरपट्टि रहेको चमेना गृहमा पनि मानिसहरू कमै मात्रामा देखिन्थे । छेउमै रहेको एटीएम बन्द नै थियो भने खानेकुरा खाने पसलहरूमा पनि शनिबार भएर मात्र कही चहलपहल भएको होला, नत्र अरू बेला अलि मानिसहरूको चहलपहल कम रहेको देखिन्थ्यो । त्यसैगरी न्यूरोडको एक मिक्स कलेक्सनमा पनि ग्राहकहरू कमै मात्रामा आएको उक्त कलेक्सनका व्यापारी बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “कोरोना र लकडाउनले गर्दा व्यापार बन्द भयो ।” व्यापार बन्द हुँदा धेरै आर्थिक क्षति बेहोर्नुपरेको र अहिले लकडाउन र निषेधाज्ञा खुले पनि त्यति सन्तोषजनक ग्राहकहरू नआएको गुनासो गर्नुहुन्छ ।
हो, पक्कै पनि राजधानीको सिभिल मल र न्युरोडको मिक्स कलेक्सन केही उदाहरण मात्र हुन् । राजधानीभित्र रहेका धेरै सपिङ मलहरूको अवस्था पनि सायद यस्तै नहोला भन्न सकिन्न । लामो समयसम्म बन्द हुँदा व्यापार चौपट भएको छ । सटरभाडा कहीँकतैबाट छुट छैन । व्यापार नभए पनि सटरभाडा तिर्नैपर्छ । झन् राजधानीको मुटुमा रहेका अत्यन्तै व्यापार हुने ठाउँमा भने व्यापारिक मल, न्युरोड, भोटाहिटी, असन, महाबौद्ध, ठमेललगायतका ठाउँहरूमा सटरभाडा पनि अत्यन्तै महँगो रहेको छ । यी ठाउँका प्रायः मानिसहरूको आयस्रोत नै सटरभाडाप्रति निहित रहेको हुनाले पनि यस ठाउँमा सटरभाडा महँगो हुनुका साथै अत्यन्तै मानिसहरूको चहलपहल हुने ठाउँ भनेर पनि चिनिन्छ । तर, लामो समयसम्म व्यापार–व्यवसाय बन्द हुँदा निकै नै घाटा परेको व्यापारीहरूको गुनासो छ । कति व्यापारीहरूले त विभिन्न व्यवसाय गर्दा बैंक–वित्तीय संस्थाबाट लोन लिएर व्यवसाय गरिरहेका छन् । लकडाउनका कारण व्यापार–व्यवसाय बन्द गर्नुपरेको अवस्थामा सो समयभित्रको ब्याजमा बैंक–वित्तीय संस्थाहरूले सहुलियत गरिदिए र सटरभाडामा केही सहुलियत दिए केही आशा पलाउँथ्यो कि भन्ने आम व्यापारीहरूको गुनासो छ ।

प्रतिक्रिया दिनुहोस्