कृषि क्षेत्रमा १० करोड ९ लाख ८९ हजार खर्च «

कृषि क्षेत्रमा १० करोड ९ लाख ८९ हजार खर्च


जिल्लामा कृषि क्षेत्रमा १० करोड ९ लाख ८९ हजार लगानी गरिएको छ । आर्थिक वर्ष २०७७/०७८ मा कृषि ज्ञान केन्द्र दाङमार्फत उक्त रकम खर्च गरिएको हो । कृषि क्षेत्रका लागि १२ करोड ५२ लाख ५७ हजार बजेट रहेकोमा १० करोड ९ लाख ८९ हजार खर्च भएको कृषि ज्ञान केन्द्र दाङका बाली संरक्षण अधिकृत तथा सूचना अधिकारी रुद्रमणि पौडेलले जानकारी दिए ।
यो खर्च ८०.६३ प्रतिशत रहेको छ भने २ करोड ४२ लाख ६८ हजार खर्च हुन नसकेको हो । कोभिडको संक्रमण फैलनका लागि सरकारले गरेको लकडाउनको कारण फिल्डमा गएर काम गर्न समस्या भएको कारण सबै बजेट खर्च हुन नसकेको कृषि ज्ञान केन्द्र दाङले जनाएको छ ।
“कोभिड तथा प्राविधिक कारणले सबै बजेट खर्च हुन नसकेको हो” सूचना अधिकारी पौडेलले भने । कृषि क्षेत्रको लागि आएको बजेट कार्यान्वयन गराउन आफूहरु लकडाउनको समयमा पनि काम गरी राखेको बताए । “कृषकका लागि आएको बजेट कृषकले उपयोग गर्न पाउन सकुन भनेर हामीहरुले कोभिडका समयमा पनि काम गरेका हौं” पौडेलले भने । कार्यालयमा आएको कृषि तथा पशुपन्छी स्रोत तथा प्रविधि सेवा टेवा विस्तार कार्यक्रममा १ करोड ३ लाख ३१ हजार बजेट रहेकोमा ७१ लाख २५ हजार १ सय ९६ रुपैयाँँ खर्च भएको छ ।
साधारण कार्यक्रम १ करोड ३२ लाख ९६ हजार बजेट रहेकोमा १ करोड १६ लाख ३२ हजार खर्च भएको छ । कृषि उत्पादन, खाद्य तथा पोषण सुरक्षा कार्यक्रमतर्फ २ करोड ३० लाख २० हजार बजेट रहेकोमा १ करोड ९२ लाख ३९ हजार ३ सय ४७ रुपैयाँ खर्च भएको सूचना अधिकारी पौडेलले बताए । स्मार्ट कृषि गाउँ कार्यक्रम २ करोड २६ लाख १० हजार बजेट भएकोमा १ करोड ७५ लाख ९८ हजार ४ सय १६ रुपैयाँ खर्च भएको छ ।
अभियान मुखी (मिसन) कृषि तथा पशुपन्छी विकास कार्यक्रमतर्फ १ करोड ७४ लाख ५० हजार बजेट रहेकोमा १ करोड ५१ लाख ६४ हजार ५ सय ३५ रुपैयाँ खर्च भएको छ । कृषि तथा पशुपन्छी उद्योग, यन्त्र तथा पूर्वाधार विकास कार्यक्रमतर्फ ३० लाख बजेट रहेकोमा १७ लाख ४ हजार खर्च भएको छ । भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय (संघ सशर्त अनुदान) कार्यक्रमको ३ करोड ५५ लाख ५० हजार बजेट रहेकोमा २ करोड ८५ लाख २४ हजार खर्च भएको कृषि ज्ञान केन्द्र दाङका बाली संरक्षण अधिकृत अधिकारी पौडेलले बताए ।

प्रतिक्रिया दिनुहोस्