एक हजार विघामा बासमती धान लगाउँदै राष्ट्रिय खाद्य बैंक «

एक हजार विघामा बासमती धान लगाउँदै राष्ट्रिय खाद्य बैंक


झापा गौरादह नगरपालिकाका ८४ वर्षिय डिल्ली सेढाइँलाई काम गर्न उमेरले छेकेको थिएन । विगत ५४ वर्षदेखि ४ विगाह जग्गामा धान खेती गर्दै आएका थिए । तर, उत्पादित धान समयमा बिक्री नहुँदा, उचित मूल्य नपाउँदा सेढाइँ हरेक वर्ष चिन्तित हुन्थे । सेढाइँले यस वर्ष उक्त जग्गा राष्ट्रिय खाद्य बैंकलाई बासमती धान उत्पादनका लागि दिएका छन् ।


राष्ट्रिय खाद्य बैंकले झापामा सञ्चालनमा ल्याएको कृषि परियोजनालाई जग्गा उपलब्ध गराएको सेढाइँ बताउँछन् । सेढाइ ँ जस्तै स्थानीय १३ परिवारको जग्गा भाडामा लिएर बैंकले ५० विगाहमा धान लगाउन सुरु गरेको छ । कृषकसँग दक्ष कृषि विज्ञ र उत्पादनको बजारीकरण नहुँदा अपेक्षित लाभ लिन नसकिरहेको अवस्थामा बैंकलाई भाडामा जग्गा दिइएको उनले बताए ।


बैंकले झापामा बासमती धानका चार जात लगाएको छ । रैथाने बासमती, कालो बासमती, हाइब्रिड बासमती, र लोकल कालो बासमती लगाइएको बैंकका सेयर सदस्य धनन्जय चुँडालले बताए । अन्य लोकल जात भन्दा बासमती धानको उत्पादकत्व कम भएपनि मूल्य भने उच्च रहेको छ । “नेपालमा बासमती धानको उत्पादन कम छ । हामीले मंहगो मूल्य तिरेर विदेशबाट बासमती धानको चामल आयात गर्छौं। त्यही भएर नेपालमा नै उत्पादन गर्ने उद्देश्यले बैंकले बासमती धान लगाएको हो” चुडालले भने । चुँडालले पनि बैंकलाई ३ विगाह जग्गा उपलब्ध गराएका छन् । “बैंक भएकाले पनि सफल हुन्छ भन्ने हामीलाई लागेको छ” उनले भने ।

बैंकले वैशाखमा सोही स्थानमा आफ्नो शाखा कार्यालयको समेत विस्तार गरेको थियो । कृषि पेशालाई सम्मानित बनाएर उत्पादन बढाउने उद्देश्यले झापाको गौरादह नगरपालिका –२ र ७ नम्बर वडामा परियोजना सुरू भएको हो । ‘पोसिलो आहारका लागि दिगो कृषि उत्पादन हाम्रो अभियान’ भन्ने मूल नाराका साथ झापामा प्रदेशकै पहिलो परियोजना सञ्चालनमा आइसकेको राष्ट्रिय खाद्य बैंक लिमिटेडका अध्यक्ष शंकरनाथ उप्रेतीले बताए ।


बैंकले झापासहित पोखरा, बर्दिया, कैलालीमा ११ सय विगाह जग्गा भाडामा लिएर बासमती धान लगाउन सुरु गरेको छ । झापा गौरादहका कृषकले बैंकलाई १० वर्षसम्म भाडामा जग्गा उपलब्ध गराउने सम्झौता गरेका छन् । बैंकले कृषकलाई वार्षिक प्रतिविगाह ३५ हजार रुपैयाँ उपलब्ध गराउने छ । बैंकले पूर्वी पहाडी जिल्लामा चिया, मकै, गहुँलगायतका बालीमा लगानी गर्ने योजना बनाएको अध्यक्ष उप्रेतीले जानकारी दिए । प्रदेश–१ भरीको उत्पादन र बजारीकरणका लागि इटहरीमा सम्पर्क कार्यालय स्थापना हुने बैंकले जनाएको छ । बैंकले भाडा लिएको जमिनमा सोही क्षेत्रका नागरिकलाई रोजगारीसमेत दिएको छ ।

प्रतिक्रिया दिनुहोस्