सप्तरीमा चिसोले १९ को मृत्यु

बुधबारदेखि पुनः लगतार हुस्सु लागेसँगै चलेको चिसो हावाका कारण जिल्लामा फेरि चिसो बढेको छ । अत्यधिक चिसोका कारण जिल्लाको जनजीवन झनै कष्टकर बनेको छ ।
यता चिसो बढेसँगै जिल्लामा कठ्यांग्रिएर मृत्यु हुनेको संख्या १९ पुगेको छ । पछिल्लो पटक जिल्लाको कञ्चनरुप नगरपालिका ४ का ४२ वर्षिय जडोली सदा, छिन्नमस्ता गाउँपालिका ७ हाटीका अबजल मंसुरीका १३ महिने छोरा अबदुल्हा मंसुरी, शम्भुनाथ नगरपालिका २ कनकपट्टीका ७ वर्षिय जितेन्द्र सदा र तिरुहत गाउँपालिका १ निवासी ६५ वर्षीया भटनिदेवी यादवको मृत्यु भएको हो ।
यसअघि सप्तरीमा अत्यधिक चिसोका कारण कठ्याग्रिंएर १५ जनाको ज्यान गएको थियो । यता राजविराजस्थित सगरमाथा अञ्चल अस्पतालमा कोल्ड डायरिया, निमोनिया, रुखा खोकी लगायतका बिरामीहरु बढ्दै गएका छन् । चिसोका कारण अधिकांश बालबालिकाहरु प्रभावित भएका छन् ।
यसैबीच सप्तरीका प्रमुख जिल्ला अधिकारी भागिरथ पाण्डेयले जिल्लाका ८ हजार अति विपन्न गरिब जनतालाई ब्ल्याङकेट वितरण गरिसकेको जानकारी दिएका छन् भने अझ ७ हजारको संख्यामा विभिन्न संघसंस्थाको सहयोगमा ब्लांकेट वितरण गर्ने उनले बताए ।
चिसोको समयमा आमनागरिकलाई अतिआवश्यक कामबाहेक घर बाहिर ननिस्कन अपिल गर्दै उनले कुनै काम विशेषले बाहिर निस्केमा न्यानो कपडा लगाएर मात्र निस्कन सल्लाह समेत दिएका छन् ।
चिसो हावासँगै शितलहर बढेपछि सप्तरी जिल्लाका सबै ४ सय १२ सामुदायिक विद्यालय बुधबारसम्मका लागि बन्द गरिएको छ । निजी विद्यालयहरु तीन दिनका लागि बन्द गरिएको थियो । तर, बुधबारदेखि विद्यालय खुले पनि बढेको चिसोका कारण विद्यालयहरुमा विद्यार्थीहरुको उपस्थिति न्यून रहेको थियो ।
पछिल्लो पटक जिल्लाको खडग नगरपालिका ७ खोरियाका ६० वर्षिय प्रेमबहादुर माझी र तिलाठी कोईलाडी गाउँपालिका ४ का ७० वर्षिय नारायण मुखिया, अग्निसाईर कृष्णासवरन गाउँपालिका ४ का ६० वर्षिय लखन ठाकुर, कञ्चनरुप नगरपालिका २ बरमझियाका ५५ वर्षिय बेचन शेख र खडग नगरपालिका ८ मुसहरनियाँका ६० वर्षिय मुसहरु चौधरीको चिसोका कारण मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ ।
यस्तै कञ्चनरुप नगरपालिका ७ निवासी ६१ वर्षिय उत्तम मरिक डोम, वडा नं. ४ जगतपुरका ललित चौधरीको ७ महिने छोरा गणेश चौधरीको मृत्यु भएको छ । उनी चिसोका कारण बिरामी भएपछि उपचारका लागि विराटनगर लैजाँदै गर्दा बाटोमै मृत्यु भएको आफन्तजनले बताएका छन् । यस्तै, तिलाठी कोईलाडी गाउँपालिका २ का ५६ वर्षिय सुजन ठाकुर, वडा नं. ७ का ३५ वर्षिय शिवु मण्डल, महदेवा गाउँपालिका वडा नं. २ का ५८ वर्षीय सुकदेव यादव, राजविराज नगरपालिका वडा नं. ११ झल्हीका ६५ वर्षीया कैलीदेवी खंग, वडा नं. २ का ६० वर्षीया नाजो बेगम, छिन्मस्ता गाँउपालीका १ बिरपुरका ३६ वर्षीया कुलदिप राय, सोही वडाका ३५ वर्षीय रामदयाल राम र सोही वडाकी ७२ वर्षीया रजियादेवी रायको चिसोका कारण मृत्यु भएको स्थानीय जनप्रतिनिधि तथा आफन्तजनले बताएका छन् ।