खेतीयोग्य जमिन बाझै «

खेतीयोग्य जमिन बाझै

डडेलधुरा : खेतलाई छोएर सुसाउँदै महाकाली नदी बग्छ, तर खेतको होचो भाग किनारलाई छोएर बग्ने महाकालीको पानी खेतसम्म नपुग्दा स्थानीयले आकाशे पानीको भरमा बर्खामा रोपाइँ गर्ने र हिउँदमा गहुँ छर्ने गरेका छन् । वर्षातमा पानी परेसँगै किसानले रोपाइँ गर्न खेतमा बिहान–बेलुका रातदिन नभनी खटिनुपर्छ । हिउँदमा खासै पानी नपर्ने भएकाले सिँचाइ सुविधा नहुँदा खेत बाँझै पनि रहने गरेका छन् । परशुराम नगरपालिका–६, महाकाली नदी किनारका स्थानीयले वर्षाैंदेखि भोग्दै आएको समस्या हो यो ।
बर्खामा महाकालीसँगै रंगुन र पन्तुरत नदीको बाढीको प्रकोप उच्च रहन्छ यस क्षेत्रमा । २०६२ सालमा आएको पन्तुरत र रंगुन नदीको बाढीले सिमल खेतका ३ सय ५० भन्दा बढी स्थानीको घरखेत बगाउँदा उठिबास भयो । उनीहरू अहिलेसम्म पनि पुनस्र्थापित हुन सकेका छैन । वर्षातमा बाढीको डर रहन्छ । सिँचाइको सुविधा नहुँदा हिउँदमा खेत बाँझै रहन्छन् ।
तटबन्ध र सिँचाइ सुविधा भए डडेलधुराको अन्नभण्डार क्षेत्र जोगबूढा नै हो । सिँचाइ नहँुदा ठूला–ठूला फाँट भएका खेत बाझै रहँदा बजारबाट किनेर खानुपर्ने बाध्यता छ ।
अब त महाकाली १० हात पनि पर छैन । बिहानदेखि साँझसम्म दैनिक सीमाको समस्या झेल्दै आएका स्थानीय महिला अहिले आफ्ना समस्या समाधानका लागि स्थानीय निकाय धाउन थालेका छन् । गाउँका महिला सामूहिक रूपमा सीमा जोडिएका आफ्ना समस्या समाधानको माग गर्दै वडा हुदै नगर कार्यपालिका र मन्त्रालय धाउन थालेका हुन् ।
महाकाली नदीतटीय क्षेत्रका महिलाहरूले आफ्नो मुख्य सिँचाइको समस्या लिएर वडा कार्यालयको रोहवरमा नगरपालिका र जलस्रोत तथा सिँचाइ डिभिजन कार्यालयमार्फत मन्त्रालय पुग्ने गरी ज्ञापन–पत्रसमेत बुझाएका छन् । समुदायमा रहेका विभिन्न समस्या, मुद्दा र सवालहरू उठान गरी समाधानका प्रयासबारे स्थानीय महिलाहरू आबद्ध भएका छन् ।
दक्षिणी नाका महाकाली नदी परशुराम नगरपालिका वडा नं. ६ का नदीतटीय समुदायका महिलाहरू महिला सशक्तीकरण केन्द्रमा आबद्ध भई तटीय समुदायका सवालमा पैरवी अभियान सञ्चालन गरिरहेका छन् । स्थानीय स्तरमा गठित तीनवटा महिला सशक्तीकरण केन्द्रमा आबद्ध ९० जना महिलाले सीमा क्षेत्रमा रहेका मुख्य समस्या खानेपानी र सिँचाइ अभावजस्ता विषयलाई लिएर परशुराम ननगरपालिका–६ मा लबी मिटिङ कार्यक्रम सञ्चालन गरेका छन् ।
“महाकालीको पानी हेर्नका लागि मात्रै रहेको नदी किनारमा रहेका बस्तीहरूमा खडेरी अभाव, सिँचाइको अवस्था दयनीय रहेकाले रंगुन तथा महाकालीको पानीले यो नदी टतीय क्षेत्रलाई कसरी सिञ्चित गर्न–गराउन सकिन्छ भनी हामीले ध्यानाकर्षणसहितको पत्र वार्ड अध्यक्ष, नगरपालीका उपप्रमुख र जलस्रोत तथा सिँचाइ डिभिजन कार्यालयका प्रतिनिधिलार्ई बुझाई समस्या दर्साएका छौं,” महिला सशक्तीरण केन्द्रकी सदस्य विष्ना भट्टले बताइन् । वडा नं. ६ का वडा अध्यक्ष, नगर उपप्रमुख, जलस्रोत तथा सिँचाइ डिभिजन कार्यालय प्रतिनिधिसहित वडा कार्यपालिका पदाधिकारी, स्थानीय बुद्धिजीवी, प्रहरी र नदीतटीय बासिन्दाहरूको उपस्थितिमा सञ्चालित उक्त लवी बैठकमा ध्यानाकर्षण पत्र बुझ्दै नदीतटीय समुदायले उठाएका माग एकदमै महत्वपूर्ण रहेको र यी मागलाई नगर कार्यपालीकामा राखी सम्बोेधन गर्न प्रयासरत रहने परशुराम नगर उपप्रमुख कलावती बोहराको भनाइ छ ।
“हामी यस्ता समुदायले स्वतःस्फूर्त रूपमा गरिएका आवश्यकतामा आधारित माग खोजिरहन्छौं र यस क्षेत्रको यो मागका बारेमा तत्कालै गर्नुपर्ने प्रारम्भिक तथ्यांक फारम तथा सूचना संकलन कार्य गर्न हामी स्थानीयको सहयोग गर्छौं । जलस्रोत तथा सिँचाइ डिभिजन कार्यालय डडेलधुराका प्रतिनिधि गोविन्दराज पाण्डेयले बताए । उनले भने, “सिँचाइका लागि नहर बनाउने मागबमोजिम एकसरो सर्भेको काम भएको थियो । देश संघीय संरचनामा रुपान्तरण भएपछि यो काम अघि बढ्न सकेन ।”

प्रतिक्रिया दिनुहोस्