मनाङमा ३ दिनदेखि फसेका ३५ जनाको उद्धार «

मनाङमा ३ दिनदेखि फसेका ३५ जनाको उद्धार



हिमालपारी मनाङमा बाढी र पहिरोका कारण तिनदिन अघिदेखि फसेका ३५ जनाको हेलिकप्टरमार्फत् उद्धार भएको छ । नेपाली सेनाको हेलिकप्टरमार्फत् मनाङको सिरानतालका २४ जना र थोंचेको गुम्बामा फसेका ११ जनाको हेलिकप्टरबाट उद्धार गरिएको प्रमुख जिल्ला अधिकारी विष्णु लामिछानेले बताएका हुन् ।


मौसममा आएको खराबीका कारण विगत तिन दिनदेखि मनाङ बाढी र पहिरोमा फसेका नागरिकलाई उद्धार गर्न हेलिकप्टर जान सकेको थिएन । मौसममा सुधार आउनासाथ बिहीबार बिहानै सेनाको हेलिकप्टरले अलपत्र नागरिकको उद्धार गरेको हो । सिरानतालका नागरिकलाई हेलिकप्टरमार्फत् तालडाँडामा लगेर राखिएको छ भने थोंचे गुम्बाका नागरिकलाई सदरमुकाम चामे लगिएको प्रजिअ लामीछानेले बताए ।


बाढी र पहिरोले फसेका नागरिकको उद्धारमा मनाङबाट निर्वाचित सांसद पोल्देन गुरूङसमेत हेलिकप्टरमा गएका थिए । प्रजिअ लामिछानेका अनुसार सेनाको हेलिकप्टरले बाढी र पहिरोबाट पीडित भएका नागरिकहरुलाई तत्काल राख्न त्रिपाल, टेन्ट लगायतका सामग्री समेत लगेको छ ।
यस्तै मौषममा सुधार आएसँगै गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपालीले पनि मनाङको बाढी पहिरो प्रभावित क्षेत्रको स्थलगत अवलोकन गरेका छन् । नेपाली सेनाको हेलिकप्टर मार्फत् प्रदेश सरकारका मन्त्री राजीव गुरुङ र साँसद चिन्तबहादुर घले सहित मुख्यमन्त्री नेपालीले मनाङको बाढी प्रभावित क्षेत्रको अवलोकन तथा प्रभावितहरुसँग भेट गरेका हुन् ।


मुख्यमन्त्री गुरुङले विपदको बेला उद्धार र राहातम कुनै कसर नराख्न सुरक्षा निकायलाई निर्देशन समेत दिएका छन् । यसअघि मुख्यमन्त्री गुरुङले प्रदेशस्तरीय विपद कोषमा पाँच करोड रूपैयाँ राख्ने निर्णय गरेका थिए । उक्त रकम बाढी र पहिरो पीडितको राहत, उद्धार र व्यवस्थापनमा खर्च गर्ने प्रदेश सरकारले जनाएको छ ।


यसैगरी नेपाल सरकारका पूर्व मन्त्री एवं मनाङका पूर्व सांसद टेकबहादुर गुरुङले पनि बाढी पहिरोबाट प्रभावित जिल्लाबासीहरुका लागि राहात उपलब्ध गराएका छन् । पूर्व मन्त्री गुरुङले काठमाण्डौ र लमजुङको सदरमुकाम बेसीशहरदेखि खाद्यान्न तथा अन्य राहातका सामाग्री प्रभावित क्षेत्रमा पु¥याएका हुन् ।


नेपाली काँग्रेस मनाङका सभापति समेत रहेका पूर्व श्रम तथा रोजगार राज्यमन्त्री टेकबहादुर गुरुङ र विघटित प्रतिनिधी सभा सदस्य, सांसद कर्म घलेले निजी खर्चमा राहत सामाग्री सहित फिस्टेल हेलिकप्टरबाट मनाङ गएका हुन् । पूर्वमन्त्री गुरुङले पहिलो चरणमा मनाङको तालमा अवतरण गरी हेलिकप्टर मार्फत चार पटक सम्म बेसीशहरबाट राहातका सामाग्री ओसारेका थिए । पूर्व राज्यमन्त्री गुरुङ र साँसद घलेले तालका प्रभावितहरुलाई राहात वितरण गरी ओडारमा बस्दै आएका धारापानीका प्रभावितहरुलाई भेट गरी राहात वितरण गरेका थिए भने धारापानी क्षेत्रको स्थलगत अवलोकन समेत गेरेका गुरुङका स्वकीय सचिव सोनाम लामाले जानकारी दिए ।


पूर्वमन्त्री गुरुङ र सांसद घलेले सदरमुकाम चामेमा पुगी प्रमुख जिल्ला अधिकारी, जिल्ला समन्वय समिति प्रमूख, स्थानिय जनप्रतिनिधी, बाढी पहिरो प्रभावित लगायत सूरक्षा निकायका टोलीसँग भेट गरी विपत्तीबाट परेको प्रभाव, राहात र दिर्घकालिन समाधानका विषयमा पनि छलफल गरेको स्वकिय सचिव लामाले जानकारी दिएका छन् ।


सोमबार देखि शुरुभएको अविरल बर्षा सँगै मस्र्याङदी नदिमा आएको बाढीले मनाङको नासोङ गाउपालिका–१ तालमा ३८ वटा घरहरु डुबानमा परेका छन भने अन्य घरहरुपनि बाढीको उच्च जोखिममा रहेका छन् । यसैगरी मनाङको दुघखोला र मस्र्याङदी नदीको बाढीले पुरानो धारापानीमा रहेको नासोङ गाउँपालिकाको कार्यालय, प्रहरी कार्यालय, दुईवटा बैंक लगाएत सर्वसाधरणका घरहरु पनि बगाएको छ । मनाङका सडक तथा अधिकाँश खोलाहरुमा राखिएका अस्थायी पूलहरु बगाएकाले आवत जावतमा समेत समस्या भएको छ ।

प्रतिक्रिया दिनुहोस्