अलैंची खेतीले फेरिएको डिल्लीरामको जीवन «

अलैंची खेतीले फेरिएको डिल्लीरामको जीवन

तेह्रथुम-तेह्रथुमको फेदाप गाउँपालिका ओयाक्जुङका डिल्लीराम ढकालले अन्नबालीसँगै अलैंची रोप्न सुरु गरेका थिए । शुरुमा अलैंची बिक्रीबाटै परिवार धान्न सकिन्छ भन्ने कल्पनासमेत उनले गरेका थिएनन् ।
समय वित्दै जाँदा उनले सुरु गरेको अलैंची खेतीबाटै लाखौं आम्दानी हुन थालेको छ । परिवारका लागी खोतीयोग्य जमिनमा धान फलाएर खुवाउँदै आएका उनले समयसँगै धानलाई मासेर अलैंची खेतीलाई विस्तार गर्दै गए । सुरुका दिनमा अलैंचीबाट आम्दानी नहुने डरले पिरोलिएका उनी अहिले निकै प्रसन्न छन् । २०३५ सालमा ईलामबाट बिरुवा खरिद गरी अलैंची खेती सुरु गरेका उनले ४ दशकपछि अन्नबाली मासेर अलैंचीमा खेती मात्र गर्दै आएका छन् ।
५० रोपनीमा अलैंची खेती गर्दै आएका ७३ वर्षीय डिल्लीराम बिहान बेलुकी अलैंचीको बगानमै काम गर्दछन् । सिंचाईका लागि उनले ४ वटा स्प्रिङकल प्रयोग गर्दै आएका छन् । पछिल्ला दिनमा अलैंचीको मूल्यमा गिरावट आए पनि लगानी भने खेर नगएको उनले बताए । अलैंचीसँगै बिरुवासमेत उनले बिक्री गर्दै आएका छन् । यस वर्ष अलैंचीको बिरुवा बिक्रीबाटै १ लाख ५० हजार रूपैयाँ आम्दानी गरेको उनले बताए ।
उनले यस वर्ष ५ मन अलैंची उत्पादन गरेका छन् । आगामी वर्ष १० मन अलैंची उत्पादन गर्ने लक्ष्य उनले राखेका छन् । उनले उत्पादित अलैंची सदरमुकाम म्याङ्लुङमा पुर्याएर बिक्री गर्ने गरेका छन् ।
डिल्लीराम मात्र होइन, जिल्लाका धेरै किसानले अलैंची खेतीबाट राम्रो आम्दानी गर्दै आएका छन् । जिल्लामा ७ सय २३ हेक्टरमा अलैंची खेती हुने गरेको जिल्ला कृषि विकास कार्यालयका बागवानी विकास अधिकृत दिपा देवले बताइन् ।

प्रकाश पाक्साँवा

प्रतिक्रिया दिनुहोस्