नेपाली भूमिमा खेती गर्दा भारतीय पक्षको अवरोध «

नेपाली भूमिमा खेती गर्दा भारतीय पक्षको अवरोध


कञ्चनपुरको दोधरा चाँदनी नगरपालिका–८ स्थित सुन्दरनगरमा नेपाली जमिनमा खेती गर्न भारतीय पक्षले अवरोध गरेको छ । बुधबार नेपाली जमिनमा वर्षाैंदेखि खेती गर्दै आएका नेपालीललाई भारतीय पक्षले आफ्नो भूमि भएको दाबी गर्दै खेती गर्दा अवरोध गरेको हो । सुन्दरनगरमा वर्षाैंदेखि खेती गर्दै आएका नेपाली नारायणप्रसाद अधिकारीलाई भारतीय एसएसबीले खेती गरेको बेसारलाई उखेल्ने क्रममा अवरोध गरेको उनले बताए । उनका अनुसार भारतीय सीमा सुरक्षाबल एसएसबीले एकाएक बुधबार दिउँसो खेतमै आएर भारतीय जमिनमा खेती गर्न नमिल्ने भन्दै अधिकारीलाई बन्दुक देखाएर धम्काइ थर्काइ खेती गर्न अवरोध गरेको हो ।
“बुधबार खेतमा काम गरिरहेको थिए, वर्षाैंदेखि उक्त खेतमा भोगचलन गर्दै आएको छु, एकाएक भारतीय सीमासुरक्षा बल आएर भारतीय जमिनमा खेती गर्न नपाइने भन्दै डराएर धम्काएर खेती गर्न लागेको काममा रोक लगाएको हो ।” अधिकारीले भने, “भारतीय पक्षले अवरोध गरेको क्षेत्रमा वर्षाैंदेखि सुन्दरनगरका धेरै स्थानियले भोगचलन गर्दै आएका छन् । उक्त क्षेत्रको लालपुर्जा पनि बन्ने क्रममा रहेको अवस्था छ, तर पनि भारतीय पक्षले तिनतिन महिनामा उक्त क्षेत्रमा किचलो गर्दै आएको छ ।” उनले सेतो पुर्जाको राजस्व नेपाल सरकारलाई बुझाएको बिलसमेत राखेका छन् । २०५४ सालको नापीको फिल्ड बुकमा कायम भएर २०६६ सालमा सेतो पुर्जा पाइसकेका छन् । यस्तै उक्त जमिनमा २०२२ सालदेखि आफूले खेती गर्दै आइरहेको र यो खेतीबाली लगाउने समयमा भारतीय पक्षले आएर हरेक वर्ष दुःख दिने गरेको अधिकारीले बताए ।
उनले लगाएको खेतको केही पश्चिमतर्फ भारततर्फ १७ नम्बर सीमा स्तम्भ रहेको छ । तर, भारतीय पक्षको वर्षाैंदेखिको हेपाहा प्रवृत्तिले नेपाली भूमि भए पनि भारतीय हो भनेर दाबी गर्दै डराउँदै धम्काउँदै सिमा मिच्दै आएको उनको भनाइ छ ।
खेतमा विवाद चर्किएपछि भारतीय पक्षले नारायण प्रसाद अधिकारीलाई भारतीय एसएसबीले अबको दिनमा खेतमा आयोभने उठाएर लैजाने धम्की पनि दिएका थिए । नेपाली पक्षको बसोबास भारतीय सीमा क्षेत्रको बसोबाससँग जोडिएको छ । बसोबास जोडिएको भएर पनि नेपाली नागरिक र भारतीय नागरिक बिच सुमधुर सम्बन्ध पनि रहेको छ ।
“नेपाल–भारत सीमाक्षेत्र वरपर नेपाली र भारतीय गाउँबस्तीहरू छन्, सम्बन्ध पनि नेपाली र भारतीय नागरिकको एकदमै बलियो राम्रो सम्बन्ध छ ।” उनले भने, ‘नेपाली नागरिकलाई भारतीय एसएसबीले थिचोमिचो गरेको भनेर नेपाली नागरिकले आवाज उठायो भने पनि भारत गएको बेला भारतीय एसएसबीले थुन्ने तथा दुःख दिने गरेको अवस्था छ, बाध्यताले भारत जानुपर्ने अवस्था छ, त्यसकारण थिचोमिचो भएको छ भनेर बोल्न पनि भारतीय पक्षले बन्द जस्तै गरेको अवस्था छ ।” योसँगै भारतीय पक्षले जिल्लाका अन्य स्थानमा पनि नेपाली जमिनलाई थिचोमिचो गर्दै आएको छ । यी यस्ता विवाद भारतीय पक्षले हप्तै पिच्छे गर्दै गएको उनको भनाई छ । यसरी भारतीय पक्षले सधैंजसो गर्ने थिचोमिचोका कारण सिमा विवादकै कारण २०७३ साल फागुन २७ गते कञ्चनपुरको पुनर्वास नगरपालिका–९ का गोविन्द गौतमले ज्यान गुमाउनु परेको थियो ।
दुवैपक्ष बीचको सम्वादपछि नापजाँच नहुने समयसम्म नेपाली पक्षले खेती गर्न पाउने
बुधबारको विवादलाई लिएर भारतीय पक्ष र नेपाली पक्षबिच बिहीबार छलफल भएको छ । बुधबारको विषयलाई लिएर जिल्ला स्थरदेखि केन्द्र स्थर सम्म विवाद उत्पन्न हुनथालेपछि प्रमुख जिल्ला अधिकारी रामकुमार महतो सहितको नेपाली पक्षले भारतीय पक्षबीच विवाद भएको ठाउँमा गएर दुवैपक्षको छलफलपछि भारतीय पक्षले विवादित बनाएको भूमिमा सीमाक्षेत्रको नापजाँच नहुने समयसम्म भोगचलन गर्न दिने गरी सहमति भएको छ ।
“जिल्लाका अन्य स्थानमा पनि भारतीय पक्षले विवादमा ल्याएका सिमाक्षेत्रका धेरै समस्या रहेका छन्, यी यस्ता विवादित क्षेत्रहरूलाई हल गर्नका लागि हामी प्याकेजका रूपमा समस्या हल गर्ने भन्ने भएको छ ।” प्रमुख जिल्ला अधिकारी रामकुमार महतोले भने, “सीमा समस्या भनेको दुवै देशको समस्या हुन्छ, यस विषयमा दुवै देशका सीमा नक्सानपछि मात्रै हल हुने हुन्छ तसर्थ अहिलेको विवादित सिमा समस्यालाई भने हालको अवस्थामा भोगचलन गर्न पाउने र सीमा क्षेत्र नापजाँचको समयमा विवादित क्षेत्रको समस्या हल गर्ने भारतीय पक्षसँग समझदारी भएको छ ।” यसले गर्दा सामान्य रूपमा विवादित भएको क्षेत्रले पनि राहात पाउने गर्दछ । यसरी समस्या सुल्झउँदा सिमा समस्या सामाधान गर्न सीमा क्षेत्रको नापजाँच छिटो गरिनुपर्ने प्रमुख जिल्ला अधिकारी महतोको भनाइ छ ।
योसँगै उक्त क्षेत्रमा थप नयाँ काम गर्न नपाउने गर्ने पनि सहमति भएको छ । वर्षाैंदेखि गरिआएको कामलाई गर्ने र हाल भने भारतीय पक्ष तथा नेपाली पक्षले कुनै किसिमको गतिविधि गर्न नपाउने समझदारीसमेत भएको छ । छलफलमा नेपाली पक्षबाट प्रमुख जिल्ला अधिकारी सहित टिमको उपस्थिति रहेको थियो भने भारतीय पक्षबाट एसएसबीको एसपी सहितको टिम छलफलमा रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्