Logo

विपद् व्यवस्थापन कोषमा ७९ लाख

दोभानका अग्निपीडितलाई वितरण गर्ने


जिल्लाको दोभान बजारका अग्निपीडितका लागि मेरिङदेन गाउँपालिकाको विपद् व्यवस्थापन कोषमा ७९ लाख ३९ हजार रुपैयाँ जम्मा भएको छ । पालिकाको गाउँ कार्यपालिकाको आइतबार बसेको बैठकको निर्णयअनुसार संकलन भएको रकम सोमबार सार्वजनिक गरेको हो । उक्त रकम जिल्लास्थित विभिन्न गाउँपालिका, सँघ संस्था तथा व्यक्ति एवं देश विदेशका संघ संस्थाबाट प्राप्त भएको हो ।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत डम्बरबहादुर आङदेम्बेका अनुसार पीडित परिवारलाई बैंकमार्फत नै भुक्तानी गर्ने निर्णय भएको छ । उक्त रकम ५० जना अग्निपीडितलाई वितरण गरिनेछ । ‘क’ ‘ख’ र ‘ग’ गरि तीन समूहमा विभाजन गरिएको छ । प्रमुख प्रशासकीय अधिकृत आङद्ेम्बेले भने, “क्षतिअनुसारको वर्गीकरण गरेका छांै । सबैलाई बैंकमार्फत नै भुक्तानी गर्छौ ।” ‘क’ वर्गका ३५ घरलाई जनही १ लाख १९ हजार प्रदान गरिने भएको छ । ‘ख’ वर्गका ७ घरलाई जनही ९० हजार प्रदान गरिने भएको छ । बाँकी ‘ग’ वर्गकालाई २५ हजारका दरले प्रदान गर्ने निर्णय गरेको छ ।
गत चैत १८ गते साँझ वडा नं.–३ खाम्लुङस्थित दोभान बजारमा आगलागी भएको थियो । उक्त क्षेत्र ३ वटा गाउँपालिकाका सेवाग्राहीको आवतजावत गर्ने मुख्य थलो मानिन्छ । नुनदेखि सुनसम्म कारोबार हुने व्यवपारिक केन्द्र भएकाले लाखदेखि करोडौं लगानी गरेर व्यवपार व्यवसाय गर्नेको संख्या बाक्लो छ । आगलागीपश्चात दोभान बजारमा संरचना निर्माणको काम सुरु भएको छ । कतिपयले निर्माण गरिसेकका छन् । अधिकाँश व्यवसायी तथा स्थानीयबासी पुरानै लयमा फर्किएको अग्निपीडित गुरु पौडेलले जानकारी दिए । उनले भने, “व्यापारिक केन्द्रमात्र नभई अधिकांशको व्यापारमा लगानी छ । त्यही भएर नै पुनः व्यापार गर्ने पुरानै अनुहार छन् ।”

प्रतिक्रिया दिनुहोस्