पर्यटकको रोजाइमा अर्गानिक खाना

कर्णालीमा घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटकको रोजाइमा यहाँको अर्गानिक खाना पर्न थालेको छ । कालिकोट, जुम्ला हुँदै मुगुको रारा जाने पर्यटकसमेत जुम्लामा रहँदा अर्गानिक खाना नै रुचाउँछन् । पछिल्लो समय यहाँका अधिकांश होटलमा पर्यटकको मुख्य रोजाइ नै अर्गानिक खाना पर्न थालेको छ ।
जुम्लाको मार्सी चामलको भात, सिमी, स्याउ, स्याउको चाना र ब्राण्डी, ओखर, फापरको पीठो, कोदाको पीठो, मकै, गहुँ, आलु, गेडागुडी र अन्य फलफूललगायत अर्गानिक खानाको माग बढ्न थालेको हो । यहाँ घुम्दा अर्गानिक खाना खाने र फर्केर जाँदा पनि अर्गानिक उत्पादन किनेर लैजाने चलन बढेको हो । पर्यटकको मागअनुसार स्थानीय होटल व्यवसायीले समेत अचेल मार्सी चामल, सिमी, स्याउको चानालगायत खानालाई आफ्नो ‘मेन्यु’मै समावेश गर्न थालेका छन् । “अधिकांश पर्यटक मार्सी चामलको भात नै खान खोज्छन्,” होटल व्यवसायी कृष्णबहादुर रावलले भने । मार्सीको भातबाहेक अधिकांश पर्यटकले अर्गानिक सिमीको दाल, मह, घ्यू, दहीजस्ता परिकार अर्डर गर्ने गरेको व्यवसायी रावलको अनुभव छ ।
यसरी अर्गानिक उत्पादन तथा परिकारको माग बढ्न थालेको २ वर्षजति भएको होटल व्यवसायीको अनुभव छ । सदरमुकाममा ‘तिला अर्गानिक पसल’ सञ्चालन गर्दै आएकी तिलादेवी विष्टले पर्यटकलाई मार्सी चामल पु¥याउन नै धौधौ भएको बताइन् । उनका अनुसार पर्यटकहरू यहाँबाट कोसेलीको रूपमा अर्गानिक उत्पादन धेरै लैजाने गरेको बताउँछिन् । जिल्ला कृषि विकास कार्यालयका विज्ञ बालकराम देवकोटाले हरेक वर्ष जिल्लामा अर्गानिक परिकार सप्लाइ गर्ने चलन बढेको बताए । “अर्गानिक उत्पादनबाट जिल्लामा हरेक वर्ष करोडौं रकम भित्रिएको छ, अझै यसलाई वृद्धि गर्नुपर्छ,” देवकोटाले भने । जिल्लामा अहिले अर्गानिक वस्तुको लेबलिङ, प्याकेजिङ र यसको महत्वबारे प्रचार प्रसार हुन थालेपछि स्थानीयले पनि अर्गानिक खान्की बेचेरै राम्रो पैसा कमाउन थालेका छन् ।
माग बढी, उत्पादन कमअर्गानिक उत्पादन तथा खानाको माग बढे पनि जुम्लामा व्यवस्थित रूपमा यसको उत्पादन भने घट्दो छ । जिल्लाभर अर्गानिक अन्न तथा फलफूलको उत्पादन घट्दो छ । बजार क्षेत्रमा केही अर्गानिक उत्पादन बिक्रीका लागि राख्न थाले पनि कुल उत्पादन घट्न थालेको कृषि कार्यालयको भनाइ छ । कृषि कार्यालयका अनुसार खेतीयोग्य जमिनमा अव्यवस्थित सहरीकरण, जलवायु परिवर्तन तथा कृषि पेशाप्रतिको वितृष्णा यसको मुख्य कारक हो । कृषि कार्यालयले सार्वजनिक गरेको एक तथ्यांकअनुसार चन्दननाथ नगर क्षेत्रको २० रोपनी बढी खेतीयोग्य जग्गामा घर निर्माण भएपछि वार्षिक उत्पादनमा कम्तीमा ५० मेट्रिक टन उत्पादन घटेको छ ।
उत्पादनमा चासोअव्यवस्थित सहरीकरणले पनि उत्पादनमा ह्रास ल्याएको भन्दै यसबारे जिल्लाका अगुवाले चिन्ता गर्न थालेका छन् । नागरिक समाज जुम्लाका अध्यक्ष राजबहादुर महत भन्छन्, “देशभित्र र विदेशमा समेत यहाँको उत्पादनको माग बढ्दो छ । तर उत्पादनमा चासो कसैले दिएको छैन ।” युवाले अर्गानिक खेतीलाई व्यावसायिक रूपमै विकास गर्नुपर्ने महतको तर्क छ । चन्दननाथ नगरपालिका मेयर कान्तिका सेजुवालले पर्यटन विकास र अर्गानिक उत्पादनका लागि खेतीयोग्य जमिनमा अव्यवस्थित रूपमा भवन निर्माण गर्न नदिने तयारी गरिरहेको बताएकी छन् ।