कुलुङ जातिको ‘चालिम’ तोस
नेपालमा हालसम्म आफुलाई किराती भनी स्विकार्ने जातिहरूमध्ये कुलुङ जाति पनि एक हो । वि.सं. २०६८ को ११ औं राष्ट्रिय जनगणनाअनुसार कुलुङ जातिको जनसंख्या २८ हजार ६ सय १३ छ भने कुलुङ मातृभाषीको संख्याचाहिँ ३३ हजार १ सय ७० छ । यो लेखमा कुलुङ जाति र कुलुङ जातिले मनाउने ‘चालिम तोस’का बारे लेख्नेछु ।
कुलुङ जातिमा चलेको लोकमान्यता र विश्वासअनुसार आदिम कालमा किरात कुलुङ जातिहरूको पुर्खा ‘धनमुख’ महाकुलुङमा बस्थे । उनी निकै शक्तिशाली थिए । उनी पाँच पाथीको पीठोको ढिँडो खान सक्थे, आफु एक्लैले जंगल गएर कटुसको रूख उखेलेर ल्याउन सक्थे । धनमुख कुन शताब्दीका पुर्खा थिए भन्नेबारे यकिन प्रमाण नभेटिए तापनि नेपाल किरात कुलुङ भाषामा संस्कृति उत्थान संघद्वारा कुलुङ भाषामा प्रकाशित ‘कुलुङ वंशावली, २०५४’ मा उल्लेख भएअनुसार उनी आजभन्दा २६ पुस्तापहिले कुलुङ जातिको थिम्रा पाछा (थर) भित्रका कुलुङ पुर्खा थिए ।
कुलुङ जातिमा रहेको विश्वासअनुसार आफ्ना पुर्खा धनमुखको पालामा एक साल ‘महाकुलुङ क्षेत्र’मा ठूलो खडेरी प-यो । विभिन्न देवीदेवता र सिमेभूमेको पूजाआजा गर्दा पनि पानी नपरेपछि खडेरीले गर्दा सारा वनजंगल, खोलानाला, खेती, अन्नबाली, झारपात आदि सुकेर गयो । त्यसपछि अनिकालले गर्दा मानिसहरू मर्न थाले । बाँचेका मानिसहरू पनि अब अनिकालले मरिने भयो भनी चिन्ता गर्न थाले । यस्तैमा एक दिन धनमुखले गाउँभरिका शक्तिशाली साँढे (गोरु) हरू भेला पारी सबैभन्दा शक्तिशाली साँढेलाई छानेर जुरोमा टोकेर बिरालोले मुसो मारेझैं मारे ।
धनमुखले भेला पारेका गाउँभरिका शक्तिशाली साँढेहरूमध्ये पनि शक्तिशाली साँढेलाई जुरोमा टोकेर मार्ने क्रममा सो साँढे (गोरु) पूरै गाउँ थर्किने÷हल्लिने गरी ग्वाँ… गर्दै करायो । यसरी ग्वाँ… गर्दै साँढे (गोरु) कराउनेबित्तिकै आकाशमा बादल गर्जेको सुनियो । त्यसपछि गाउँभरिका मानिसहरू विशेष चासोका साथ भेला भए । तर, त्यतिन्जेलसम्ममा साँढे (गोरु) मरिसकेको थियो ।
संयोगले भनौं वा दैवी शक्तिका कारणले त्यस दिन गाउँमा ठूलो मुसलधारे पानी प-यो । त्यसपछि सारा वनजंगलमा हरियाली छायो, खोलानालामा पानी भरियो, खेती, अन्न–बाली सप्रियो, झारपात आदि पलाए । त्यसपछि गाउँभरिका कुलुङहरू आफूसँग भएको अन्न (मकै, कोदो, फापर, चामल, आदि) लिएर भेला भई धनमुखले साँढे (गोरु) को जुरोमा टोकेर मारेको गोरुको मासुसँग भोज खाए ।
त्यस दिनदेखि ‘धनमुख’लाई बोलाउने-सम्बोधन गर्ने नाम (दप्प–निङ) धेरै खाने मात्रै नभएर विधाता वा भनौं भगवान्लाई समेत कुतकुत्याउन सक्ने भनी कुलुङ भाषामा ‘निनाम्मा यासाम्मा चाप्दुलु युप्लुमा’ राखियो । साथै भोज खाइसकेपछि पानी परेपछि बालीनाली सप्रिएर हावाले लहलहाउँछ भन्दै बालीनाली हल्लिने पारामा आफ्नो शरीरलाई ढल्काउँदै सारा गाउँलेहरू नाच्न थाले । त्यसरी नाचेको दिनलाई कुलुङ भाषामा ‘चालिम’ भनिन्छ । यो उत्सव ३-४ दिनसम्म मनाइयो र अन्त्यमा ‘तोस कुइम’ (भूमे पूजा) गरी खुसीयाली मनाइयो । ‘चालिम’देखि ‘तोस’सम्मका उत्सवहरूमा थो तोस, गुुमेल तोस, याउ तोस गरी वर्षमा तीनपल्ट (बाली लगाउने र भित्र्याउने बेलामा) मनाउने गरिन्छ ।
तर, नेपालको भौगोलिक एकीकरणसँगै गाई–गोरु काट्न कानुनी रूपमै प्रतिबन्ध लगाइयो । साथै दसैं, तिहारलगायत हिन्दू धर्म र चाडपर्वहरू महाकुलुङका कुलुङ समुदायमा पनि अनिवार्य मनाउनुपर्ने बाध्यता सिर्जना गरियो । फलतः कुलुङ जातिले मान्दै आएको ‘चालिम’ तोस उत्सव मात्रै नभएर अरू चाडपर्वहरू पनि ओझेल पर्दै गए ।
‘चालिम’ तोसपछि उत्सव मनाएर खाइने खानेकुरोलाई कुलुङ भाषामा ‘वाक्पुम्’ भनिन्छ । अझै पनि ‘चालिम’ उत्सव मनाउनका लागि महाकुलुङका गाउँ-बस्तीमा ‘चालिम’ पर्वको दुई–चार दिनअगाडि नै प्रत्येक घरबाट एक–एक ट्वाक (माना) मकै, कोदो, फापर वा अन्य जे अन्न छ सो अन्न उठाइन्छ । कसैसँग गोरुको छाला छ भने सो पनि दिइन्छ । यसरी पकाएको ‘वाक्पुम्’ गाउँभरिको मानिसहरूले खाएमा गाउँमा सह हुन्छ, कहिल्यै अनिकाल लाग्दैन भन्ने मान्यताका कारण परदेश गएका आफन्तलाई पनि ‘वाक्पुम्’ सुकाएर राखिदिने चलन छ । यसरी चालिम मनाउने साझा ठाउँलाई कुलुङ भाषामा ‘चालिम–खम’ भनिन्छ ।