लकडाउनले होटल व्यवसायी संकटमा «

लकडाउनले होटल व्यवसायी संकटमा


कोरोना महामारीको प्रभावल तेह्रथुम सदरमुकाम म्याङलुङ तथा विभिन्न बजारमा रहेका होटल व्यावसायी संकटमा पर्न थालेका छन् ।
कोरोना महामारी नियन्त्रणका लागि स्थानीय प्रशासनहरुले निषेधाज्ञा जारी गरेका कारण सिजनमा समेत पर्यटक नआउँदा व्यवसाय नै धरापमा परेको व्यवसायीले गुनासो गरेका छन् । निषेधाज्ञा जारी भएसँगै तेह्रथुमको म्याङलुङलगायत जिल्लाका सबै शहर सुनसान छन् ।
आर्थिक वर्ष वर्ष सकिन लाग्दा दैनिक आयोजना हुने तालिम, गोष्ठी, विवाहलगायतका सामुहिक कार्यक्रमले तेह्रथुमका होटलहरु भरिभराउ हुने गरे पनि यसपटक कोरोनाको कारण चहलपहल ठप्प छ । गत वर्षको कोरोनाका कारण थिलथिलो भएको होटल व्यावसाय फस्टाउनै नपाई पुनः अस्तव्यस्त बनेको छ ।
प्रायः भीडभाड र व्यस्त रहने भएकाले पनि होटल व्यवसायलाई संक्रमणको उच्च जोखिमयुक्त मानिएको छ । सरकारले पनि संक्रमणको जोखिमलाई ध्यानमा राख्दै होटल व्यवसायलाई सञ्चालनमा कडाइ गरेको छ । आर्थिक उपार्जनको राम्रो सम्भावना बोकेर सदरमुकाम म्याङलुङमा मात्र साना ठूला गरी १ सयभन्दा बढी होटल सञ्चालनमा छन् ।
भाडामा घर लिएर व्यवसाय सञ्चालन गरेका व्यवसायीलाई मासिक भाडा तिर्नसमेत कठिन भएको होटल व्यवसायी राजकुमार लिम्बुले बताए । जिल्लाका विभिन्न पर्यटकीय क्षेत्रको प्रवेशद्वार कै रुपमा रहेको सदरमुकाम म्याङलुङ निकै पुरानो बजार मानिन्छ । यहाँ एक करोडसम्मको लगानीमा बनेका होटलहरु छन् ।
संक्रमणको जोखिम लामो समयसम्म रहने र तत्काल व्यापार हुन नसक्ने भएकाले होटल व्यवसाय क्षेत्र ठूलो मारमा पर्ने अवस्थामा छ । पर्यटकीय सिजनमा विगतका वर्षहरूमा होटल तथा रेस्टुराँ भरिभराउ हुने गरेपनि यस वर्ष अधिकांश होटल रित्तै छन् । अन्य समयमा महिनामा लाखौं आम्दानी हुने गरेको तर यो समयमा ठूलो संकट झेल्नुपरेको होटल व्यवसायीको गुनासो छ ।
गत वर्षपनि लकडाउनका कारण करिब चार महिना होटल बन्द भएका थिए । जिल्लाका विभिन्न क्षेत्रमा रहेका साना ठूला गरी करिब ३ दर्जन भन्दाबढी होटलहरु संकटमा पर्दै आएको होटल व्यवसायी संघ तेह्रथुमका सचिवमा चेतन सुवेदीले बताए । जिल्लाको म्याङलुङ, बसन्तपुर, छथर शुक्रबारे बजार, ओख्रे शनिश्चरे, आठराई जिरीखिम्ति बजार, पोक्लाबाङ, मोराहाङ, हलिमेलालगायतका स्थानमा होटल सञ्चालन हुँदै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्