बागलुङका पत्रकारको आफ्नै आइसोलेसन «

बागलुङका पत्रकारको आफ्नै आइसोलेसन


कोरोना सक्रमणको दर बढ्दै जान थालेपछि नेपाल पत्रकार महासंघ बागलुङ शाखाले आफ्नै आइसोलेसन कक्ष निर्माण गरेको छ । फ्रन्टलाइनमा खटिने पत्रकारहरूमा कोरोनाको उच्च जोखिम महसुस गरेर महासंघले १० बेडको आइसोलेसन कक्ष निर्माण गरेको हो । ।
आफ्नै भवनको सभाहलमा तत्कालका लागि १० बेडको आइसोलेसन कक्ष निर्माण गरिएको महासंघका शाखा अध्यक्ष नरेश कँडेलले बताए । फ्रन्टलाइनमा खटिने पत्रकारहरूलाई लक्षित गरेर आइसोलेसन कक्षा निर्माण गरेको उनको भनाइ । जिल्लाका प्राय पत्रकारहरू सदरमुकाममा भाडाको कोठामा बसेर काम गर्ने भएकाले कोरोना लाग्दा समस्या भएपछि आफ्नै आइसोलेसनको ब्यवस्था गरिएको हो ।
‘पत्रकार फ्रन्टलाइनमा खटिएर काम गरिरहेका हुन्छन्, कोरोना लागेपछि छुट्टै बस्ने स्थान छैन ।’ अध्यक्ष कँडेलले भने, ‘विरामिको उच्च चापका कारण अस्पतालमा बेड नपाइन सक्दछ त्यसैले पत्रकारहरूका लागि महासंघले नै आइसोलेसन कक्ष बनाएका छ ।’ जिल्लामा हालसम्म पाँच जना पत्रकारहरूलाई कोरोना संक्रमण भएर निको भइसकेका छन । हाल जिल्लामा संत्रमित पत्रकार छैनन । पत्रकारहरूमा कोरोना संक्रमणको दरअनुसार आइसोलेसन कक्ष व्यवस्थित र विस्तार गर्दै जाने उनले बताए ।
महासंघको नवनिर्मित भवनको हलमा आइसोलेसन कक्ष, शौचालय तथा आवश्यक स्वास्थ्य सुरक्षाका सामग्रीको व्यवस्था छ । अहिले कुनै पनि पत्रकार संक्रमित नभए पनि कोरोनाको बढ्दो संक्रमणले जस्तोसुकै अवस्थासमेत आउन सक्ने भन्दै पूर्व तयारी थालिएको महासंघले जनाएको छ । आइसोलेसनलाई अक्सिजनसहित सञ्चालनको व्यवस्थापन गर्न धौलागिरी अस्पतालसँग समन्वय गरिएको छ । कोरोना संक्रमणको उच्च जोखिमका बीचमा पत्रकारहरूले आफ्नो उपचार व्यवस्थापनका लागि गरेको पूर्व तयारी निकै स्राहनीय भएको धौलागिरी अस्पतालमा प्रमुख मेडिकल सुपरीटेण्डेन्ट डा. शैलेन्द्र बिक पोखरेलले बताए । संक्रमणको दर बढ्दै गएमा अस्पतालमा वेड अभाव हुन भएकाले अन्य स्थानमा समेत आइसोलेसन कक्ष बनाउनुपर्ने उनको भनाइ छ । महासंघको आइसोलेसन कक्षमा नगरपालिकाले स्वास्थ्यकर्मीसमेत खटाउनेछ ।
यसैबीच कोरोना संक्रमणको दर बढ्दै गएपछि बागलुङ नगरपालिकामा निषेधाज्ञा जारी गरिने भएको छ । नगरपालिकामा मंगलबार बिहान ६ बजेदेखि जारी हुने गरी १० दिनका लागि निषेधाज्ञा हुने भएको हो । पछिल्लो केही दिनयता बागलुङ नगरपालिकामा संक्रमितको संख्या ह्वात्तै बढेको छ । सोमबार मात्रै बागलुङका ६८ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । योसँगै जिल्लाभरमा सक्रिय संक्रमितको संख्या २ सय ६ पुगेको छ । नेपाल सरकारले बागलुङसहित १८ जिल्लालाई कोरोनाको प्रभावित जिल्लाको सूचीमा राखेको छ । निषेधाज्ञाको अवधीमा खाद्य सामग्री, एमबुलेन्स, दमकल, दूध, गेडागुडीजन्य उत्पादन, माछा मासु, बीउ भिजन, प्रेस पास वाहक तथा स्वास्थ्यकर्मीले प्रयोग गरेका सवारी सधान तथा निर्माण सामग्री बोकेका साधानहरू बाहेक अरू पूर्णरूपमा बन्द हुने बताइएको छ ।

त्रिलोचन रिजाल

प्रतिक्रिया दिनुहोस्