दैनिक उपभोग्य वस्तुको मूल्यवृद्धिले उपभोक्ता मारमा «

दैनिक उपभोग्य वस्तुको मूल्यवृद्धिले उपभोक्ता मारमा

जुम्लामा कोरोना संक्रमणको दोस्रो लहर सुरु भएसँगै कृतिम अभाव देखाउँदै दैनिक उपभोग्य वस्तुको अस्वभाविक मूल्यवृद्धिले उपभोक्ता मारमा परेका छन् । जुम्लाका साना तथा ठूला व्यापारीले तेल, चिनि, ग्यास सिलिण्डर, चामललगायतका दैनिक उपभोग्य बस्तुको मूल्य मनपरी रूपमा बढाएपछि उपभोक्ता मारमा परेका हुन् ।
वैशाख पहिलो सातासम्म प्रतिकार्टुन २१ सयमै बिक्री भइरहेको स्वास्तिक खाने तेल कोरोना संक्रमण बढेसँगै एकाएक २ हजार ४ सयसम्म पुगेको छ । चिनी प्रतिबोरोना ४ हजार मूल्य भए पनि वैशाख १३ गतेदेखि १७ गतेसम्मको मूल्य हेर्दा सिधै ६ सयले वृद्धि भएर ४ हजार ६ सय पुगेको छ । आधा लिटर खाने तेलकै १ सय १० रुपैयाँ भएकोमा अहिल सिधै १३० देखि १४० रुपैयाँसम्म मूल्य तिर्न उपभोक्ता बाध्य भएका छन् । साथै धारा तेलको मूल्य त झनै छोईसक्नु छैन ।
कोरोना संक्रमण बढ्दै गएको मौकाछोपी कृतिम अभाव सिर्जना गरी उपभोक्ताबाट लट्ने मनसायका साथ मूल्यवृद्धि गर्ने व्यापारी, डिलरहरूलाई तत्तकाल कारबाहीको दायरामा ल्याउनुपर्ने नागरिक समाजको जोड छ ।
साथै जिल्ला प्रशासन कार्यालय, उद्योग वाणिज्य संघको लापरबाहीकै कारण पनि व्यापारीको मनपरीतन्त्र चलेको हो । कोरोना महामारीमा मौका छोपी मनपरी मूल्य बढाउने, म्याद सकिएका बस्तु बिक्री गर्ने, मूल्यसूची नटाँस्ने समस्या भइरहँदा पनि प्रशासन, उद्योग वाणिज्य संघ यतिबेला मुकदर्शक हुनुनै नागरिकको उपभोक्ता अधिकार कार्यान्वयनमा कन्जुसाइँ गर्नु हो ।
सबैभन्दा तेलको मूल्यमा भने व्यापारीले अस्वाभाविक रुपमा उपभोक्ताको ढाडै सेक्ने गरी मूल्यवृद्धि गरेको प्रतिनागरिक समाजका अध्यक्ष राजबहादुर महतले आपत्ति जनाए । उनले भने, “एक सातामै दैनिक उपभोग्य बस्तुको मनपरी मूल्यवृद्धिले कमाई नहुने विपन्नलाई तेल, चामल चिनी किन्नै नसक्ने भएको छ । कोरोना महामारीको मौकाछोपी उपभोक्ता ठग्ने, कालोबजारी गर्नेलाई कारबाही हुनुपर्छ ।”
जुम्लामा दैनिक उपभोग्य वस्तुको मूल्यवृद्धि हुनुमा प्रहरी प्रशासन, उद्योग वाणिज्य संघ मुकदर्शक भएर बसेकाले हो । नत अधिकांश पसलमा मूल्यसूची टाँसिएका छन् ? नत मूल्यमा एक रूपता छ ।
चन्दननाथ नगरपालिका–१ का धन बहादुर नेपालीले भने, “सामान्य नागरिकलाई तेल किनेर खानसमेत मुस्किल भएको छ । दैनिक सय रुपैयाँको कमाई छैन । काम गरौं काम छैन । अहिले खाने तेलनै प्रतिप्याकेट १३० देखि १४० रुपैयाँसम्म पर्न थाल्यो ।”
बालबच्चालाई नुहाइधुवाई गरेपछि घसाउने धारा तेलको मूल्य आफूजस्ता सामान्य नागरिकले किन्नै नसकिने गरी बढेको उनको गुनासो छ । १ सय ५० रुपैयाँ प्याकेट धारा तेल किनेर प्रयोग गर्न आफ्नो गक्षले नसक्ने दुखेसो पोखे ।
उत्पादन घटेपछि मूल्य बढ्यो
दैनिक उपभोग्य वस्तुको उत्पादन घटेपछि मूल्यवृद्धि भएको व्यापारीहरू बताउँछन् । गत वर्षभरी कोरोना कारण उत्पादनशील उद्योग सबै बन्द भए । कृषि क्षेत्र पनि ठप्प भएपछि कच्चा पदार्थ अभावका कारण मूल्यवृद्धि भएको हो ।
व्यापारी मिनप्रसाद पौडेलले उत्पादन घटेकै कारण तेल,चीनिमा थोरै मूल्यवृद्धि भएको बताए । उनले भने, “स्वस्तिक तेल प्रतिकार्टुन २२ सय ५० सम्म बढेको छ । तर, बजारमा २४ सय ५० सम्म लिएको कुरा सुनियो । हामीले प्रिन्ट मूल्यमै बिक्री गरेका छौं । साना व्यापारीलाई अनुगमन गर्न पर्छ ।
कोभिडकै कारणले कच्चा पर्दाथ उत्पादन घटेर मुल्य बढेको तर कोभिडको मौकाछोपी नाफा कमाउन मुल्य व्यापारी नबढाएको समेत पौडेलले दाबी गरे । साथै विगतमा ३५० रुपैयाँमा ५ किलोको प्याकेट आउने स्वयाबिन तरकारी अहिले ७ सय रुपैयाँ पुगेको समेत उनको भनाइ छ । साथै, व्यापारी थानेश्वर पोखरेल भन्छन्, “तेलको प्रिन्ट मूल्यनै बढेर आएको छ । ठूला व्यापारी, डिलरभन्दा साना व्यापारीबाट उपभोक्ता ठगिएका हुन सक्छन् । यसमा अनुगमन तीब्र बनाउनुपर्छ ।”
सहायक प्रमुख जिल्ला अधिकारी नन्दराम चौलागाईले बजारमा अस्वभाविक मूल्यवृद्धिको गुनासो आएको र विपद व्यवस्थापन समितिको बैठकबाट समितिनै खडा गरी तत्तकालै बजार अनुमगनलाई अघि बढाइने बताए ।

प्रतिक्रिया दिनुहोस्