लिफ्टिङ प्रविधिबाट बझाङका दुर्गम गाउँमा खानेपानी
दुर्गाथली गाउँपालिका–५ बाजगडाकी धर्मा जप्रेललाई आँगनमै खानेपानीको धारा बनेपछि हाइसन्चो भएको छ । वर्षौंदेखि खोलाको पानी बोक्दै आएकी उनी गाउँमा बाजगडा सोलार लिफ्टिङ खानेपानी आयोजना बनेपछि दुःखका दिन हटेको बताउँछिन् । उनी भन्छिन्, “अहिले आँगनमै पानीको धारा छ । न त बिहानै उठेर पानी भर्नु परेको छ । न त एक गाग्री पानी भर्न दिनभर कुर्नु परेको छ । पहिले एक घण्टा हिँडेर खोलाबाट पानी ल्याउनु पर्ने बाध्यता थियो । सरसफाइमा पनि त्यति ध्यान दिन सकिएको थिएन । आफूलाई त बोकेरै पानी पिउन सम्भव थियो । गाईभैंसीलाई पनि बोकेरै पानी दिनुपर्ने अवस्था भएपछि हामीले पाउनसम्मका दुःख पायौं ।” गाँउमा योभन्दा पहिले खानेपानीको कुनै योजना आएन । अहिले पानी बोक्नु पर्ने दुःख हटेसँंगै सरसफाइमा पनि ध्यान दिन थालेको उनको भनाइ छ ।
महिलाहरूलाई महिनावारी भएको बेला नुहाउनलाई एक घण्टा हिँडेर खोलामा जानुपर्ने बाध्यता थियो । पानी नहुँदा महिनावारी भएको समयमा विद्यालयसमेत नजाने गरेको खप्तडछान्ना–२ की पूजा सुनारले बताइन् । उनी भन्छिन्, “नुहाउन टाढा जानुपथ्र्यो । विद्यालय जाने समय पनि नुहाउनमै जान्थ्यो । महिनावारी भएका बेला ७ दिनसम्म दिनहुँ नुहाउने, लुगा धुने गर्नुपर्छ, टाढाको धारा र मुहान जाँदा यता पढाइ छुट्छ ।” पानी नहुँदा महिनावारी भएका छात्रालाई समस्या हुने गरेको थियो । अहिले घरमै पानी पुगेपछि महिनावारी भएका बेला स्कुल छुटला भन्ने चिन्ता हँुदैन ।
बझाङको बुङगल नगरपालिका–६ बड्डी ज्यावनकी धनमती धामीलाई पनि अचेल खानेपानीको चिन्ता हँुदैन । अहिले धनमतीले बिहान सबेरै उठनु परेको छैन भने घरमा खानेपानी छ कि छैन भन्ने चिन्ता पनि छैन । ग्राीमण जलस्रोत व्यवस्थापन परियोजनाले सोलार लिफ्टिङ प्रविधिबाट गाउँमा खानेपानी पु¥याएपछि उनी मात्र हैन गाउँलेकै दैनिकी फेरिएको छ । आयोजना निर्माण हुनुअघि गाउँभन्दा तलको खोलाबाट पानी बोक्नु पर्ने र वर्षात्को समयमा वर्षाको पानी पिउनुपर्ने बाध्यता थियो । वर्षांैदेखि खानेपानीको समस्या झेल्दै आएका स्थानीय घर अगाडि धारा जडान भएपछि गाउँमा खुसी भएका छन् । पानी भर्नका लागि पालो कुर्नुपरेको छैन भने पानी भर्नकै लागि आधा रातमा उठनु पर्ने अवस्था पनि नरहेको उनी बताउँछिन् ।
दुर्गम गाउँमा सोलार लिफ्टिङ प्रविधिबाट खानेपानी आएपछि स्थानीयले खोला र कुलाको फोहर पानी पिउनु परेको छैन । वर्षौंदेखि खानेपानीको समस्या झेल्दै आएका ग्रामीण क्षेत्रका बासिन्दा खानेपानी आयोजना निर्माण भएसँंगै खुसी भएका छन् । घरघरमा पानीका धारा भएपछि गाउँमा सरसफाइको क्षेत्रमा मात्रै नभई व्यावसायिक तरकारीखेती गर्नेका लागि पनि सहज भएको छ । नेपाल सरकारको सहकार्यमा ग्रामीण जलस्रोत व्यवस्थापन परियोजनाको आर्थिक र सामाजिक तथा प्राविधिक विकास सेवा समूह बझाङको प्राविधिक सहयोगमा जिल्लाका दुर्गम बस्तीमा सोलार लिफ्टिङ प्रविधिबाट खानेपानी पु¥याइएको हो । जिल्लामा अहिलेसम्म १३ ठाँउमा सोलार लिफ्टिङ प्रविधिबाट आयोजना निर्माण सम्पन्न गरी स्वच्छ पिउनेपानीको पहुँचमा पु¥याइएको सामाजिक तथा प्राविधिक विकास सेवा समूहका टिमलिडर कलक खत्रीले बताए ।
परियोजना अन्तर्गत जिल्लाका छविसपाथीभेरा, थलारा, दुर्गाथली, खप्तडछान्ना, तल्कोट, वित्थडचिर, केदारस्युँ गाउँपालिका, जयपृथ्वी नगरपालिका र बुङगल नगरपालिकामा गरी ९ वटा स्थानीय तहमा लिफ्टिङ प्रविधिबाट खानेपानी आयोजना निर्माण भएका छन् । सोलार लिफ्टिङ प्रविधिबाट दुर्गाथलीमा–५, खप्तडछान्नामा–१, वित्थडचिरमा–२, थलारामा–२ र बुङगल नगरपालिकामा २ वटा आयोजना सम्पन्न भई प्रयोगमा आएको परियोजनाका इन्जिनियर लोकेन्द्र ओलीले बताए । उनले भने, “बस्तीभन्दा माथि पानीको मुहान नभएका ठाउँमा सौर्यऊर्जा जडान गरी लिफ्ट प्रविधिबाट पानी तानिन्छ । यसरी तानिएको पानी ८ हजारदेखि २० हजार घनलिटर क्षमताका आरबीटी ट्यांकीमा जम्मा हुन्छ । सोही ट्यांकीबाट घरघरमा वितरण गरिन्छ । आयोजनाबाट हालसम्म विभिन्न एक हजार दुई सय घरधुरीका करिब सात हजार लाभान्वित भएका छन् ।