तानसेन नपाका प्रतिनिधिमण्डल टोली भक्तपुर नपामा
भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिसँग पाल्पाको तानसेन नगरपालिका–१० का वडाध्यक्ष लोचनप्रसाद तिमिल्सिनासहितको प्रतिनिधिमण्डल टोलीले बिहीबार भेट ग¥यो । नगर प्रमुख प्रजापतिले तानसेनका प्रतिनिधिमण्डल टोलीलाई सांस्कृतिक नगर भक्तपुरमा खादा र भादगाउँले टोपी लगाई स्वागत गरे ।
भेटमा उनीहरूबीच भक्तपुरको शिक्षा, स्वास्थ्य, विकास निर्माण तथा भक्तपुर नपाद्वारा निर्मित स्थानीय पाठ्यक्रमबारे छलफल भयो ।
नगर प्रमुख प्रजापतिले भक्तपुरको इतिहास, भूगोल, जातजाति, संस्कृति, कला सम्पदा, सीप, स्थानीय खेल, पर्यटनलगायत विविध विषयमा केन्द्रित शिक्षक र विद्यार्थीहरूका लागि अत्यन्त उपयोगी स्थानीय पाठ्यक्रम सन्दर्भ सामग्री र ख्वपको पहिचान प्रकाशनमा ल्याएको अवगत गराए ।
भक्तपुरलाई ज्ञान विज्ञानको केन्द्र बनाउने उद्देश्यले नगरपालिकाले शैक्षिक क्षेत्रका गतिविधिमा तीव्रताका साथ अगाडि बढिरहेको बताउँदै उनले भक्तपुरका विद्यालयहरूमा पाठ्यक्रमको आधारमा पठनपाठन गराउने नयाँ अभ्यासको थालनी भएको बताए ।
तानसेन नपा–१० का वडाध्यक्ष लोचनप्रसाद तिमिल्सिनाले भक्तपुर नपाले शिक्षा क्षेत्रमा गरिरहेको गतिविधि प्रशंसनीय रहेको बताउँदै तानसेन नपामा स्थानीय पाठ्यक्रम निर्माण गर्ने सिलसिलामा कार्यदलसहितको टोली भक्तपुर नपाको अध्ययन भ्रमणमा आएको बताए ।
तानसेन नपाका प्रतिनिधिमण्डल टोलीमा तानसेन नपाका कार्यकारी प्रमुख पिताम्बर पाण्डे, शिक्षा शाखा प्रमुख रेशमलाल न्यौपाने, शिक्षा शाखा सदस्यहरू कृष्णबहादुर थापा, भेषराज सुवेदी, तीर्थप्रसाद गौतमको सहभागिता थियो । सोही क्रममा नगर प्रमुख प्रजापतिले उक्त टोलीलाई नगरपालिकाका प्रकाशनहरू र भित्तेपात्रो उपहार स्वरुप प्रदान गरे ।