Logo

कोरोना संक्रमणको प्रभावले विद्यालय बन्द

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठले २५ वर्षमुनिका उमेर समूहमा कोरोना भाइरस संक्रमणको प्रभाव बढी देखिएको कारण विद्यालय बन्द गर्नुपरेको बताए ।

सोमबार ललितपुरमा आयोजित एक कार्यक्रमपछि सञ्चारकर्मीहरूलाई प्रतिक्रिया दिँदै मन्त्री श्रेष्ठले २५ वर्षभन्दा मुनिका उमेर समूहमा कोरोना भाइरस संक्रमणको दर बढेकाले पठन पाठनलाई अनलाइन माध्यमबाट गर्नेगरी वैशाख मसान्तसम्मका लागि विद्यालय बन्द गरिएको बताए ।

उनले भने, ‘२५ वर्षभन्दा तलका उमेरका विद्यार्थी भाइबहिनीहरूमा यसको प्रभाव अलि बेसी देखिएको हुनाले यो सन्दर्भमा लामो आवश्यक अनुसन्धान र छलफल पछि यो कोभिडको कारणले सबैभन्दा बढी प्रभावित बालबालिकामै पर्ने हुनाले आजको मन्त्रिपरिषद्ले वैशाख मसान्तसम्म स्कुलको पठनपाठनलाई नियमित गर्ने, भौतिक रूपमा विद्यालयमा विद्यार्थी भाइबहिनीहरूलाई उपस्थित हुन अनिवार्य नगर्ने र भर्चुअल माध्यम र इलेक्ट्रोनिक माध्यमबाट पठनपाठनलाई निरन्तरता गर्ने । वैशाख मसान्तसम्मको स्थितिलाई हेर्दै जाने ।’

मन्त्री श्रेष्ठले कोरोना भाइरसको संक्रमण दर उच्च रहेको जिल्लामा स्थानीय तहको सिफारिसको आधारमा विद्यार्थीहरूलाई विद्यालयमा भौतिक रूपमा आउन अनिवार्य नगरे पनि वैकल्पिक माध्यमबाट पठनपाठन गरिने बताए । उनले भने, ‘स्वास्थ्य मन्त्रालयले तोकिएका जिल्लाहरू र घोषित सहरहरू जुन क्षेत्रमा कोभिडको प्रभाव व्यापक छ ती सहरहरू र जिल्लाहरूमा डिसीसीएमसीको तर्फबाट गरिएको सिफारिसको आधारमा ति सहर र जिल्लामा वैशाख मसान्तसम्म भौतिक रुपमा विद्यार्थीहरूलाई स्कुलमा आउन अनिवार्य नगर्ने । वैकल्पिक व्यवस्थाबाट पठनपाठन गर्ने गरी वैशाख मसान्तसम्मका लागि स्थगित गरिएको छ ।’

मन्त्री श्रेष्ठले कुनै पनि तहको परीक्षा नरोकिने पनि स्पष्ट पारे । असारदेखि नयाँ शैक्षिक सत्र सुरु हुने पनि उनले बताए ।

प्रतिक्रिया दिनुहोस्