शुभकामना र खुसी साटासाटको पर्व «

शुभकामना र खुसी साटासाटको पर्व

नेपाल एक सुन्दर, मनोरम र प्राकृतिक रूपले धनी देश हो । सानो भौगोलिक क्षेत्रफल भए पनि यहाँको विविधताको चर्चा जति गर्दा पनि थोरै हुन्छ । वि.सं. २०७६ को अन्त्यतिर विश्वलाई नै त्रसित बनाउने गरी कोरोना संक्रमणका कारणले कुनै औपचारिक कार्यक्रमबिना लकडाउनको पालना गरेर बसियो । आज त्यसपछिको एक वर्ष व्यतीत भई नयाँ वर्षलाई हामीले व्यग्र प्रतीक्षाका साथ स्वागत गरिरहेका छांै । अहिले फेरि कोरोनाको अर्को चरण आइरहेको छ । नववर्षको जुन रौनक अघिल्ला वर्षहरूमा हुन्थ्यो त्यो आज छैन, किनभने कोरोनाको अर्को चरणले सर्वत्र त्रसित बनाइरहेको अवस्था छ । हामीले हाम्रो मौलिक पर्व नयाँ वर्षको महिमालाई ख्याल गर्दै यस पर्वलाई संक्रमणका बीचमा सामान्य हिसाबले मनायौं । कोरोनाको कहरले आठ महिनासम्म थलिएका सबै व्यापार–व्यवसायले केही मात्रामा भने पनि गति लिँदै थियो, पुनः यसले अवरोध सिर्जना गराउने अवस्था आएको देखिन्छ ।
हामी पुरानो वर्षलाई बिदा गर्दै नयाँ वर्षलाई स्वागत गर्न आ–आफ्नो ढंगले लागिपरेका छौँ । सामान्यतया नयाँ वर्ष भनेको नराम्रा पक्षलाई हटाएर नौलो, राम्रो र सकारात्मक कार्य गर्नका लागि शुभारम्भ गर्ने महŒवपूर्ण अवसर हो । त्यसैले हामी घरघरमा पनि शुभकामनाको आदानप्रदान गर्छौं । मुख्य गरी राष्ट्रिय पर्व भएकाले पनि सार्वजनिक बिदा हुने यस दिनमा वनभोज, भेटघाट, नाचगान गरी आपसमा मनोरञ्जन गर्दै धूमधामले मनाइने वैशाख १ गतेलाई अत्यन्तै शुभ दिन मानिन्छ । हाम्रो सन्दर्भमा नै भन्ने हो भने सौर्यमानअनुरूप सूर्यले एक वर्ष यात्रा पूरा गरी मीन राशिबाट मेष राशिमा प्रवेश गरेपछि नववर्ष सुरु भएको मानिन्छ ।
१२ राशिमध्येको पहिलो नै मेष र बाह्र महिनामध्येको पहिलो महिना वैशाख हो । ज्योतिष शास्त्रअनुसार एउटा पूर्ण राशिवृत्तको अंश ३६० लाई १२ ले भाग गरेर १२ वटा राशि र १२ वटै महिनाको कल्पना गरिएको पाइन्छ । यस विषयलाई आजको नयाँ नेपाल निर्माणकै क्रमसँग जोड्ने र अध्यापन गर्ने विषयसमेतमा बडो महŒवका साथ लिइन्छ । किनभने विज्ञान, भूगोल र सामाजिक यी तीनवटै विषयसँग अन्तरसम्बन्धित छन् । हिन्दू धर्मशास्त्रअनुसार १२ राशिको मात्र नभई बाह्रै महिनाको कल्पनामा पनि नक्षेत्रको नै सहयोग लिइएको देखिन्छ ।
सूर्यले एउटा राशि चक्रलाई संक्रमण गर्न जुन सवा दुई नक्षेत्रको सहयोग लिने गर्छ, तिनैमध्येको मुख्य नक्षत्रको नामबाट हालका महिनाहरूको नामकरण गरिएको पाइन्छ । यसका लागि सूर्य अस्ताएपश्चात् पूर्वको क्षितिजमा देखिने नक्षत्रलाई मूल आधार मानेर महिनाको नाम राख्ने गरेको ज्योतिषशास्त्रहरूको अध्ययन गर्दा पाउन सकिन्छ । जस्तै वैशाख महिनामा सूर्यास्तको लगत्तैपछि पूर्व क्षितिजमा विशाखा नक्षत्र देखा पर्छ । यो नक्षत्र सूर्यास्त हुनासाथै आकाशमा देखा परेर बिस्तारै–बिस्तारै दुई घण्टामा करिब ३० अंशको गतिले पश्चिमतर्फ बढ्दै गएर बिनादुर्बिन मध्यरातमा मध्यआकाशमा पूर्ण रूपले देख्न सकिन्छ ।
अर्को बडो रोचक र जानकारीमूलक कुरा के छ भने सूर्यास्तका बेला पूर्वको क्षितिजमा देखा पर्ने ज्येष्ठा नक्षत्रको आधारमा जेठ महिना हुँदै यही रीतले देखा पर्दै जाने पूर्वआषाढलाई आषाढ, श्रवणलाई श्रावण, पूर्वभाद्रालाई भाद्र, अश्विनीलाई अश्विन, कृतिकालाई कार्तिक, मृगशीरालाई मंसिर, पुष्यलाई पुस, माघलाई माघ, उत्तरफाल्गुनीलाई फागुन र चित्रालाई चैत्र भनेर नामहरू राखिएका छन् । अचेल हाम्रो कला, संस्कृति र विशेष गरी यस्ता चाडपर्वमा पाश्चात्य संस्कृतिको प्रभाव बढ्दै गएको छ ।
नयाँ वर्षमा आपसमा जमघट गर्ने, मिष्ठान्न भोजन खाने, नाच्ने–गाउने, शुभकामना आदान प्रदान गर्ने, आपसमा रमाइलो वातावरणमा रम्ने गरिन्छ । यस्तो प्रचलन अन्य देशहरूमा पनि हुन्छ । नयाँ वर्षको शुभ अवसरमा नराम्रा र गलत कार्य नगर्ने प्रण गर्ने, आफ्नो कार्यक्षेत्रमा नयाँ जोस र जाँगरका साथ कार्य सम्पादन गर्ने तथा आर्थिक, सामाजिक र सांस्कृतिक विकास कार्यमा लाग्ने अठोट गरिन्छ । आफन्त, साथीभाइ भेटघाट गर्ने, पिकनिक होस् या अन्य जमघटमा रमाइलो गर्ने, शुभकामना दिने÷लिने र प्रगतिको कामना गर्ने चलन छ ।
आमनागरिकले सजग र सतर्क भई कोरोनाको विरुद्धमा अनुशासित जीवनशैलीको अवलम्बन गर्नुमा नै बुद्धिमानी हुने वास्तविकतालाई मनन गर्नुपर्छ । स्वास्थ्य मापदण्ड पालना गर्न सकेमा मात्र हामी सुरक्षित रहन सक्छौं । आमनागरिकमा २०७८ सालको शुभकामना ! कोरोनालाई आत्मबल र व्यक्तिगत सफाइबाट पर भगाऔं । सचेत हँुदै अनुुशासित जीवनशैलीको अवलम्बनमा ध्यान दिई अगाडि बढ्ने शक्ति तथा बुद्धि समस्त मानवलाई पशुपतिनाथले प्रदान गरून् भन्ने कामना गर्दै स्वस्थ र खुसी रहने मार्ग पहिल्याउँदै नयाँ वर्षलाई स्वागत गरौं, आमजनमा शुभकामना !

प्रतिक्रिया दिनुहोस्