बाँसको टेकोको भरमा विमानस्थल

खोटाङ-मनमाया राई खानीडाँडा विमानस्थलको धावनमार्गलाई बाँसको टेकोको भरमा राखिएको छ । वर्षायाममा पहिरोले चारैतिरबाट विमानस्थललाई तानेपछि ठेकेदार कम्पनीले तत्काल काम गर्नुको साटो बाँसको टेकोले विमानस्थल अड्याएर राखिएको छ ।
नागरिक उड्डयन प्राधिकरण र मनमाया राई खानीडाँडा विमानस्थल निर्माण उपभोक्ता समितिको हेलचेक्र्याइँका कारण जीर्ण बनेको हो ।
जेठ १ मा भारी वर्षाका कारण ढल थुनिएपछि धावनमार्गमा जमेको पानी फुटेर बाहिरिँदा विमानस्थलको डिलको माटो कटान सुरु भए पनि यसको स्थायी रोकथामका लागि हालसम्म कसैको ध्यान गएको छैन ।
वर्षायाममा विमानस्थलमा पस्ने भलबाढीलाई व्यवस्थापन नगरिँदा चारैतिरबाट भल पसेर विमानस्थल पहिरोको रूपमा परिणत भएको छ । नागरिक उड्डयन प्राधिकरणअन्तर्गत सम्पत्ति भएकाले प्राधिकरणले यस विमानस्थलाई प्राथमिकता नराख्दा समस्या भएको जिल्लावासीको गुनासो छ ।
सदरमुकाम दिक्तेलनजिक रहेको खानीडाँडा विमानस्थल चिरा–चिरा हुँदासम्म प्राधिकरणले हालसम्म चासो नदेखाउँदा बेकम्मा बन्ने स्थितिमा पुगेको हो । माटो कटान हुँदा जोखिममा परेको विमानस्थल मर्मतका लागि बजेट विनियोजन नभएको पनि होइन । तर, प्राधिकरणले चासो नदेखाउँदा हालसम्म कामले तीब्रता पाएको छैन ।
भलबाढी पसेर ड्रेन (ढल) थुनिएपछि चिरा–चिरा भएको विमानस्थल मर्मतका लागि प्राधिकरणले गत आर्थिक वर्षमा ५ करोड ३९ लाख ४२ हजार रुपैयाँ बजेटको व्यवस्थापन गरेसँगै कान्छाराम कन्स्ट्रक्सन ठेकेदार कम्पनीले काम जिम्मा लिएको थियो । कल्भर्ट आरसीसी, टावर वरीपरि टायल ओछ्याउने, खोलामा ग्याभिन भर्ने, मेसिनरी वाल निर्माण, ढल पसेर बिगारेको धावनमार्गको सेन्टर लाइनदेखि उँधो कालोपत्रे गर्नेगरी जिम्मा लिएको ठेकेदार कम्पनीको कामको प्रगति भने शून्य छ । ठेकेदार कम्पनीसँग बेलाबेला प्राधिकरण र उपभोक्ता समितिले कामको प्रगतिको जानकारी नलिइँदा ठेकेदार कम्पनीले कामलाई सुस्त बनाएको पाइएको छ । गत भदौबाट विमानस्थल मर्मत गर्नेगरी जिम्मा लिएको ठेकेदार कम्पनीले २०७६ मंसिर १४ भित्रमा काम पूरा गर्नुपर्ने हुन्छ । तर, हालसम्म कामको प्रगति देखिँदैन ।
५९० मिटर लम्बाई र २० मिटर चौडाई कालोपत्रे भएको विमानस्थलको भित्रबाट बनाइएको पुरानो ड्रेन (ढल) हाल ५६ मिटर नयाँ निर्माण र ५० मिटर पुरानो मर्मत गर्नुपर्नेछ भने विमानस्थलको बीच भागबाट झण्डै १ सय मिटर झरेको पहिरोमा वाल लगाउनुपर्ने अवस्था छ ।
विमानस्थल निर्माण उपभोक्ता समितिका अध्यक्ष दुर्गा घिमिरेले प्रशस्त जग्गा हुँदाहुँदै इन्जिनियरको गलत स्टिमेट र प्राविधिक त्रुटीका कारण विमानस्थल बनाइँदा बारम्बार पहिरोले तान्ने र बर्सेनि लाखौं खर्च हुने गरेको बताएका छन् । उनले अबका दिनमा ठेकेदार कम्पनीलाई निर्माणको कामलाई गति बढाउन लगाइएको बताए ।
विमानस्थल मर्मतका लागि हाल ३१ जना कामदारले काम गरिरहेको कान्छाराम कन्स्ट्रक्सन ठेकेदार कम्पनीका साइड इन्चार्ज नीरकुमार श्रेष्ठले बताए । बालुवा गिटी, ढुंगालगायतका निर्माण सामग्री संकलन गर्ने कार्य भइरहेकोले कामको प्रगति नदेखिएको उनले दाबी गरे । स्थानीयको १५ करोड बढी श्रमदान तथा नेपाल नागरिक उड्डयन प्राधिकरणको ७ करोड २४ हजार लागतमा निर्माण सम्पन्न भएको विमानस्थल लामो समयदेखि बन्द रहेको छ ।
स्थानीय मनमाया राईले निशुल्क उपलब्ध गराएको जग्गामा २०६० वैशाख २० गतेबाट निर्माण सुरु भइ २०६२ सालबाट नेपाल एयरलाइन्सले परीक्षण उडान भरेको थियो । जिल्लाका लामिडाँडा, थामखर्क र खानीडाँडासहित तीनवटा विमानस्थलमध्ये दूरीका हिसावले खानीडाँडा विमानस्थल सदरमुकाम दिक्तेलबाट सबैभन्दा नजिक पर्छ । दिक्तेलबाट बढीमा डेढ घण्टा पैदल दूरीमा रहेका कारण अधिकांश बिरामीलाई वाहिरी अस्पताल लैजानका लागि खानीडाँडा विमानस्थलको उपयोग हुने गरेको थियो ।
कामको प्रगति बुझ्न अनुगमन
खानीडाँडा विमानस्थलमा कामको प्रगति बुझ्न बुधबार अनुगमन गरिएको छ । विमानस्थल अनुगमन समितिका संयोजक तथा प्रमुख जिल्ला अधिकारी सुरेन्द्रराज पौडेल र विमानस्थल निर्माण उपभोक्ता समितिका अध्यक्ष दुर्गा प्रसाद घिमिरेको नेतृत्वमा अनुगमन गरिएको हो । अनुगमन समितिका सदस्य रहेका जिल्ला समन्वय समिति अधिकारी, शेर गण मुडे ब्यारेकका गणपति, जिल्ला प्रहरी कार्यालय र सशस्त्र प्रहरी कार्यालयका डीएसपीद्वय, जिल्ला प्राविधिक कार्यालयका इन्जिनियर, मालपोत कार्यालयका प्रमुखलगायतको टोलीले विमानस्थलमा कामको गुणस्तर, प्रगति र समस्याका विषयमा अनुगमन गरेका हुन् । अनुगमनपश्चात विमानस्थल मर्मतको कार्यमा सुस्तता पाइएपछि प्रमुख जिल्ला अधिकारी पौडेलले कामलाई तीब्रता दिन ठेकेदार कम्पनीलाई निर्देशन दिएका छन् ।