वनका राजाको मासिक आम्दानी २५ हजार «

वनका राजाको मासिक आम्दानी २५ हजार

विश्वव्यापीकरणको प्रभाव मानवीय जीवनशैलीमा पर्दै गएको छ । परम्परागत पेशा, व्यवसायमा व्यवसायीकरण भएको छ भने पेशा परिवर्तन पनि उत्तिकै हुने गरेको छ ।
नेपालका वनमा फिरन्ते जीवनशैलीयापन गर्दै आएका कुसुण्डा जातिका धनबहादुर कुुसुण्डा अहिले सहरमा चालक बनेर जीविकोपार्जन गर्दै आएका छन् । कुनै समय वनका राजा भनेर चिनिने उनी एकवर्षदेखि घोराहीमा अटोरिक्सा चालक बनेका छन् । उनको आम्दानी मासिक २५ हजार रुपैयाँ छ ।
“यो कमाइले छ जनाको परिवार राम्रैसँग पाल्न सकेको छु,” उनले भने, “४ वटी छोरीलाई पढाइरहेको पनि छु ।” चालक हुनुअघि उनी बिजुली, मिस्त्री तथा ठेकेदारको काम गर्थे । “के गर्नु खान परेपछि काम पनि गर्नु प¥यो नि,” धनबहादुर भन्छन्, “काम नगरे गास नै हराउँछ ।” समाजले कामलाई सम्मान नगरेकोमा भने उनले दुःखेसो गरे । समाज परिवर्तन हुन जरुरी रहेको उनको धारणा छ । सरकारले पनि लोपोन्मुख कुसुण्डा जातिलाई प्रतिव्यक्ति मासिक दुई हजार रुपैयाँ प्रदान गर्दै आएको छ । उनी आफैं भने जंगलमा फिरन्ते भएर हिँडेनन् तर बुबा र फुपूहरू डिँहेको याद छ ।
देशभर २७३ जनसंख्या रहेको यस जातिको संख्या दाङमा भने ६६ जना छन् । कुसुण्डा जाति छरिएर जातिकै संस्कार लोप हुँदै गएकोमा भने उनी चिन्तित छन् । उनी कुसुण्डा जातिलाई छुट्टै स्थान दिएर राज्यले बसाउनु पर्ने बताउँछन् । कुसुण्डा जातिलाई एकै स्थानमा बसाउन सकिएमा भाषा तथा संस्कृतिको समेत संरक्षण हुने धनबहादुरको भनाइ छ ।
समाजसेवीको समेत पहिचान बनाएका उनी कुसुण्डा समाजका केन्द्रीय अध्यक्ष, घोराही उपमहानगरपालिका कार्यालयका बोर्ड सदस्य, भृकृटीमण्डप पर्यटन बोर्डको सदस्य, आदिवासी जनजाति महासंघको केन्द्रीय परिषद् सदस्य आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान सञ्चालक परिषद्का सदस्य तथा जिल्ला जनजाति महासंघको सदस्यसमेत हुन् ।

प्रतिक्रिया दिनुहोस्