Logo

राप्तीसोनारीमा बाख्रापालन फस्टायो

वार्षिक साढे तीन करोडका खसीबोका बिक्री
नेपालगन्ज-बाँकेको राप्तीसोनारी गाउँपालिका बाख्रापालनको पकेट क्षेत्र बन्दै गएको छ । गाउँपालिकाका अधिकांश महिलाले बाख्रापालन सुरु गरेपछि सो क्षेत्र बाख्रापालनका लागि पकेट क्षेत्र बन्दै गएको हो ।
राप्तीसोनारी गाउँपालिकाका महिलाले मात्रै गएको एक वर्षमा साढे तीन करोड रूपैयाँभन्दा बढीको खसीबोका बिक्री गरेका छन् । गाउँपालिकाका महिलाले स्थापना गरेका १० वटा सहकारीमार्फत उनीहरूले साढे तीन करोडभन्दा बढी रूपैयाँका खसीबोका बिक्री गरेका हुन् ।
सहकारीबाट ऋण लिएर व्यावसायिक बाख्रापालन सुरु गरेका एकजना महिलाले वार्षिक झन्डै चार लाख रुपैयाँको खसीबोका बिक्री गर्न थालेको नयाँ सिर्जनशील सामाजिक महिला उद्यमी सहकारी संस्थाका अध्यक्ष गंगा शाहले बताइन् । उनको सहकारीमार्फत महिलाले ३ करोड १२ हजार रुपैयाँका खसी बोका बिक्री गरिसकेका छन् । अन्य सहकारीमार्फत पनि ५० लाख बढीको खसी बोका बिक्री हुन्छन् । भारतबाट हुने खसीबोकाको आयात कम गर्न महिलाले महत्वपूर्ण भूमिका खेलेको उनले बताइन् ।
सो गाउँपालिकाका महिलाले पालेका खसीबोका काठमाडौं, पोखरा, विराटनगरलगायतका शहरमा जाने गरेका छन् । “राप्तीसोनारी गाउँपालिकाबाट मात्र मासिक कम्तीमा ५ सय खसीबोका बाहिर जान्छन्,” अध्यक्ष शाहले भनिन् ।
महिलाले जिउँदो खसी प्रतिकिलो ३५० देखि ३८० रूपैयाँसम्ममा बिक्री गर्दै आएका छन् । खसीको ग्रेडिङ गरेर बिक्री गर्दै आएको परिवर्तन महिला सामाजिक उद्यमी सहकारी संस्थाका अध्यक्ष सुनिता खाँडले जानकारी दिइन् ।
यसैगरी बैजनाथ र खजुरा गाउँपालिकाका किसानले पनि बाख्रापालनलाई व्यवसाय बनाएका छन् । बैजनाथ गाउँपालिका–१, गाभरमा सञ्चालनमा रहेको शिव शिखर कृषि सहकारी संस्था लिमिटेडद्वारा सञ्चालित शिव शिखर कृषि अनुसन्धान केन्द्रले पाँच वर्षमा पाँच हजार बाख्रापालन गर्ने योजना बनाएको छ ।
गाभरस्थित २२ विगाह जमिन वार्षिक १० लाख रूपैयाँमा भाडामा लिएको उक्त सहकारीले अहिले ५४ वटा बाख्रा पालेको छ ।१०० बाख्रा थप्ने तयारी भएको शिव शिखर अर्गनाइजेसनका क्षेत्रीय प्रमुख विनोदकुमार घिमिरेले जानकारी दिए ।
यस क्षेत्रकै नमुना बाख्रा पालन बनाउने र भारतबाट आयात हुने खसीलाई प्रतिस्थापन गर्ने लक्ष्य लिइएको घिमिरेले बताए । उनले शिव शिखर कृषि अनुसन्धान केन्द्रमा ५२ वटा बाबरी र जमुनापारी जातका बाख्रा रहेको जानकारी दिए । शिव शिखर कृषि अनुसन्धान केन्द्रले बाख्रा फार्ममा दुई करोड लगानी गरिसकेको छ । सय र १ सय ५० बाख्रा अट्ने आधुनिक खोर निर्माण भइसकेको संस्थाका कोहलपुर शाखा व्यवस्थापक चेतन न्यौपानेले बताए । उनले पाँच वर्षभित्र १० करोड रुपैयाँ लगानी गर्ने उद्देश्य रहेको बताए ।

प्रतिक्रिया दिनुहोस्