तरुलमा आत्मनिर्भर बन्दै मुलुक «

तरुलमा आत्मनिर्भर बन्दै मुलुक

अधिकांश वस्तुको आयात भइरहेका बेला पछिल्लो समय मुलुक तरुलजन्य कन्दमूलमा आत्मनिर्भर बन्दै गएको छ ।
स्थानीय स्तरमा पर्याप्त मात्रामा उत्पादन हुन थालेपछि तरुलमा आत्मर्निर्भर बन्न थालेको हो । माघे संक्रान्तिमा बजारमा तरुलको खपत धेरैे हुने गर्छ । माघे संक्रान्तिमा सबैले अनिवार्य रुपमा तरुलको उपभोग गर्ने भएकाले पनि बजारमा यसको खपत बढी हुने गरेको हो ।
बिहीबार माघे संक्रान्ति परेकाले पनि उपत्यकाका मुख्य बजार कालीमाटी, बल्खु, बानेश्वर, लगनखेल लगायतका बजारमा तरुल खरिद गर्ने ग्राहकको भीडभाड लागेको थियो । बजारमा तरुलको मूल्य प्रतिकेजी ५० देखि दुई सय ५० रुपैयाँसम्म रहेको छ ।
कालीमाटी फलफूल तथा बजार विकास समितिका अनुसार बुधबारसम्म कालीमाटी बजारमा १५ सय मेट्रिक टन तरुल भित्रिएको छ । सबैभन्दा धेरै तरुल सर्लाहीबाट आएको छ । बनतरुल, घरतरुल, सखरखण्ड, पिँडालु, हात्तीपाइले तरुल, सिमल तरुल बजारमा भित्रिएका छन् । यो वर्ष छिमेकी मुलुक भारतबाट न्यूनमात्र आयात भएकाले स्थानीय उत्पादनले माग पर्याप्त धानेको व्यवसायीको भनाइ छ ।
कालीमाटी तरकारी तथा फलफूल थोक व्यवसायी संघका अध्यक्ष गीताप्रसाद आचार्यले यो वर्ष स्थानीय उत्पादनले माग धानेकोले बाहिरबाट कम आयात भएको जानकारी दिए । कोरोना भाइरसको प्रभावले अघिल्लो वर्षको तुलनामा उत्पादन कम भएको उनको भनाइ छ । कोरोना भाइरसको प्रभावले गर्दा यो वर्ष अघिल्ला वर्षको तुलनामा कम खपत भएको व्यवसायीले बताएका छन् ।
कालीमाटी बजारमा प्रतिकेजी ४० देखि दुई सय ५० रुपैयाँसम्म होलसेल बिक्री भएको उनको भनाइ छ । माघे संक्रान्तिलाई लक्षित गरेर बुधबारसम्म १५ देखि १६ सय मेट्रिक टन तरुल बजारमा भित्रिएको उनले जानकारी दिए । व्यवसायीका अनुसार वनतरुल प्रतिकेजी दुई सयदेखि दुई सय ५०, घरतरुल ७० देखि ८० रुपैयाँ मूल्य रहेको छ । यस्तै हात्तीपाइले तरुल एक सयदेखि एक सय २०, सखरखण्ड प्रतिकेजी ४० देखि ५०, सिमल तरुल प्रतिकेजी ५० रुपैयाँ, पिँडालु प्रतिकेजी ५० रुपैयाँ होलसेल मूल्य रहेको छ । बाहिरी बजारमा खुद्रा व्यवसायीले भने बढी मूल्यमा बिक्री गरिरहेका छन् ।
चालू आर्थिक वर्ष सुरु भएदेखि हालसम्म पुस २९ गतेसम्म कालीमाटी बजारमा १२०८ टन तरुलजन्य कन्दमूल भित्रिएको समितिले जानकारी दिएको छ । यस वर्षको माघे संक्रान्तिका लागि भारतबाट तरुलजन्य कन्दमूलको आयात नगन्य छ । अर्थात्, स्वदेशी उत्पादित तरुलको नै बढी कारोबार भएको छ । पुस महिना अवधिभर तरुलको सबैभन्दा बढी कारोबार हुने गरेको छ ।
कालीमाटी बजारमा भित्रिएको मध्ये सबैभन्दा बढी सर्लाहीबाट तरुल आएको छ । बजारमा कारोबार भएकामध्ये ४ प्रतिशत परिमाणको तरुल मात्रै भारतबाट आएको व्यवसायीको भनाइ छ । एक महिनाको अवधिमा कालीमाटी बजारमा भित्रिएको मध्ये सर्लाहीबाट सबैभन्दा बढी ४७ प्रतिशत, धादिङबाट १३ प्रतिशत, सुनसरीबाट १३ प्रतिशत, चितवनबाट ४ प्रतिशत, नवलपरासीबाट साढे ३ प्रतिशत, मकवानपुरबाट ३ प्रतिशत, काभ्रे र दोलखाबाट २÷२ प्रतिशत लगायतका अन्य केही जिल्लाबाट तरुलजन्य कन्दमूल आयात भित्रिएको छ । खुद्रा बजारमा भने तरुलअनुसार मूल्य पनि फरक छ । माघे संक्रान्ति पर्वमा तरुलसँगै पिँडालु, घ्यू, फर्सी, खिचडी, चाकु खाने प्रचलन छ ।

प्रतिक्रिया दिनुहोस्