लुम्बिनी प्रदेशमा लगानीमैत्री वातावरण छ :मुख्यमन्त्री

दाङ-लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले लुम्विनी प्रदेशमा लगानीमैत्री वातावरण रहेको बताएका छन् । दाङ जिल्ला उद्योग वाणिज्य संघको १६औं साधारणसभा तथा स्वर्ण जयन्तीको उद्घाटन गर्दै उनले यस्तो बताएका हुन । लगानीमैत्री वातावरण भएकाले ढुक्क भएर लगानी गर्ने निजी क्षेत्रलाई उनले आग्रह गरे । “हामीले व्यवसायी मैत्री वातावरण निर्माण गरेका छौं” मुख्यमन्त्री पोखरेलले भने । व्यवसायीहरुको समस्याको समस्या समाधान गर्न सरकार लागिपरेकोसमेत उनले बताए । सरकार निजी क्षेत्रसँग सहकार्य गरेर अघि बढ्न तयार रहेको समेत उनले बताए । निजी क्षेत्र र सरकार मिलेर आर्थिक क्षेत्रको विकास गर्नतर्फ लाग्नु पर्ने उनले बताए ।
प्रदेश सरकारले लगानी भित्र्याउनका लागि अहिले उद्योग दर्ता निःशुल्क बनाएको बताए । प्रदेश सरकारले अहिले उद्योग दर्ता गर्दा कुनै पनि शुल्क नलिएको उनले बताए । प्रदेश सरकार ठूला लगानीमा स्थापना हुने उद्योगहरुलाई सहयोग पु-याउन उद्योग स्थापना हुने स्थानसम्म सडक, विद्युत् तथा खानेपानी पु¥याइने मुख्यमन्त्री पोखरेलको भनाइ छ । “उद्योग स्थापना गरी रोजगार सृजना गर्नतर्फ लाग्नु पर्दछ” उनले भने । व्यवसायीहरुले बजारको अध्ययन गरी लगानी गर्नुपर्ने उनले बताए ।
एक महिनामा औद्योगिक क्षेत्र घोषणा
मुख्यमन्त्री पोखरेलले घोराही उप–महानगरपालिकामा औद्योगिक क्षेत्र घोषणा हुने बताए । “औद्योगिक क्षेत्र बनाउन दाङ जिल्ला उद्योग वाणिज्य संघले महत्वपूर्ण योग्दान गरेको छ, एक महिना भित्र घोषण हुन्छ” उनले भने । सबै प्रक्रिया पूरा भएर मन्त्रिपरिषद्मा फाइल पुगेको भन्दै उनले घोषण गराउन आफू लागिपरेको बताए ।
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष दिनेश श्रेष्ठले राज्यले व्यवसाय मैत्री नीति ल्याउन नसकेको बताए । व्यवसाय मैत्री नीति ल्याए निजी क्षेत्र लगानी तयार रहेको उनले बताए ।
कारोबारकर्मी आचार्य पुरस्कृत
कारोबार दैनिकका दाङ संवाददाता अमरराज आचार्य पुरस्कृत भएका छन् । दाङ जिल्ला उद्योग वाणिज्य संघको १६औं साधारणसभा तथा स्वर्ण जयन्तीको अवसरमा आचार्यलाई आर्थिक क्षेत्रमा कलम चलाएको भन्दै पुरस्कृत गरिएको हो । लुम्बिनी प्रदेशका मुख्यमन्त्री पोखरेलले उनलाई सम्मान तथा पुरस्कृत गरेका हुन् ।