निर्माण सामग्रीको मूल्यवृद्धिले अर्थतन्त्र नै प्रभावित «

निर्माण सामग्रीको मूल्यवृद्धिले अर्थतन्त्र नै प्रभावित

मुलुकमा विकास निर्माणका काम सुरु हुन लागेका वेला निर्माण सामग्रीको मूल्य अचानक वृद्धि भएपछि यसबाट समग्र अर्थतन्त्र नै प्रभावित हुने देखिएको छ । निर्माण सामग्रीको बढ्दो मूल्यले विकास निर्माणको लागत वृद्धि भइ यसबाट सरकार, निर्माण व्यवसायीदेखि सर्वसाधारणसम्म प्रत्यक्ष प्रभावित हुने भएका छन् । चालू आर्थिक वर्षमा विकास निर्माण क्षेत्रका लागि विनियोजित बजेट नै अपुग हुने देखिएको छ भने भूकम्प प्रभावितका लागि सरकारी अनुदानले घर बनाउन झनै अप्ठेरो पर्ने देखिएको छ ।
एक महिनायता विकास निर्माणका मुख्य कच्चा पदार्थहरू सिमेन्ट र डन्डीको मूल्य वृद्धि भएको छ । हिउँद लागेसँगै सुरु भएका निजी तथा सरकारी विकास निर्माणका काममा कच्चा पदार्थको मूल्य एक्कासी बढ्दा समस्या उत्पन्न भएको छ भने कतिपय परियोजना यही मूल्यवृद्धिका कारण ढिला सम्पन्न हुने समेत देखिएको छ ।
नेपाल निर्माण व्यवसायी महासंघका पूर्वअध्यक्ष जयराम लामिछानेले सिमेन्ट र डन्डी भारतबाट ल्याउन नपाउने सरकारी नीति एकातिर रहेको र अर्काेतर्फ उत्पादकहरूले एक्कासी मूल्य बढाउँदा निर्माणको काम नराम्रोसँग प्रभावित भएको बताउँछन् । यसबाट निर्माण क्षेत्रमात्र नभएर समग्र अर्थतन्त्र नै प्रभावित भएको उनको भनाइ छ । हाल बजारमा सिमेन्टको भाउ प्रतिबोरा १ सय रुपैयाँदेखि १ सय ३० रुपैयाँसम्म तथा डण्डीको मूल्य प्रतिकेजी ७ रुपैयाँले बढेको छ । प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचनअघि सिमेन्टको मूल्य प्रतिबोरा ८ सय १० रुपैयाँ थियो भने डण्डीको मूल्य प्रतिकेजी ७८ रुपैयाँ हाराहारीमा थियो । तर निर्वाचनपछि सिमेन्टको मूल्य प्रतिबोरा १२.५ प्रतिशत तथा डण्डीको मूल्य ९ प्रतिशतले बढेको छ ।
नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष भवानी राणाले अहिलेको मूल्यवृद्धिलाई स्वभाविक रूपमा लिन नसकिए पनि व्यवसायीका समस्यासमेत पहिचान हुनुपर्ने बताइन् । खुला बजार अर्थतन्त्रमा कार्टेलिङ गरी मूल्यवृद्धि गर्न नपाइने पक्षमा महासंघ रहेको भन्दै उनले बढेको मूल्य फिर्ता गराउन तथा व्यवसायीका लागत कम गर्न पहल गरिने बताइन् । “समस्या के कारणले भएको हो त्यसमा अध्ययन गरेर समाधानका लागि छलफलमा जान हामी तयार छौं,” उनले भनिन्, “महासंघको नीति नै उपभोक्तालाई मारमा पारेर गरिएको कार्टेलिङबिरुद्ध छ ।”
राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले दिएको जानकारीअनुसार भूकम्पबाट प्रभावित ६ लाख घरको पुननिर्माण आवश्यक छ । यति धेरै संख्यामा पुनर्निर्माण हुने घरमा हालै भएको मूल्यवृद्धिले अर्बौं भार थपिने निश्चित छ । स्थानीय तथा प्रदेश र प्रतिनिधि सभाको निर्वाचनपछि विकास हुने आशा बोकेका जनता कहिले इन्धन त कहिले निर्माण सामग्रीको मूल्य बढ्दा झनै अत्तालिएका छन् । इन्धनको मूल्यवृद्धिले समग्र विकास निर्माणको लाइफलाइनलाई प्रत्यक्ष असर गर्छ । इन्धन र निर्माण समाग्रीको कच्चा पदार्थको भाग बढ्दा निर्माणमा दाहोरो प्रभाव परेको छ ।
यतिवेला राष्ट्रिय गौरवका आयोजना तथा सरकारी भवन, निजी घर तथा भूकम्पप्रभावित निर्माणको क्रममा छन् । कात्तिक लागेसँगै मुलुकमा विकास निर्माणका कामहरू सुरु हुने गर्छन् । निर्माणको कामलाई प्रभावित पार्ने गरी गरिएको मूल्यवृद्धिले समग्र अर्थतन्त्रदेखि आर्थिक वृद्धिमासमेत नकारात्मक प्रभाव पार्नेछ । २०७२ वैशाखमा गएको विकासकारी भूकम्पले क्षति भएका घर यतिबेला निर्माण हुन लागेका थिए । तर एक्कासी मूल्य बढ्दा घर निर्माणको लागत बढ्ने पक्का भएको छ भने समयमा निर्माण सम्पन्न हुनेमा पुनः आशंका बढेको छ ।
उद्योग वाणिज्य महासंघका निवर्तमान अध्यक्ष पशुपति मुरारका भने बर्सेनि यो सिजनमा हुने मूल्यवृद्धिलाई सामान्य रूपमा लिनुपर्ने बताउँछन् । सिमेन्ट उत्पादनमा बढेको लागतले मूल्य बढेको उनको भनाइ छ ।

मूल्यवृद्धि फिर्ता लिन माग
नेपाल निर्माण व्यवसायी महासंघले निर्माण सामग्रीमा भएको मूल्यवृद्धि फिर्ता लिन माग गरेको छ । महासंघले आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गरी सिमेन्ट र डण्डी उद्योगीले कार्टेलिङ गरेर मूल्य बढाएको र यसमा सरकारले नै साथ दिएको आरोप लगाएको छ । निर्माण व्यवसायीहरूले अस्वभाविक मूल्य वृद्धिका कारण आफूहरू मारमा परेको भन्दै यस विषयमा नेपाल उद्योग वाणिज्य महासंघको धारणासमेत माग गरेका छन् । निर्माण व्यवसायीहरूले सिमेन्ट र डण्डीमा गरिएको मूल्यवृद्धिले अप्रत्याशित मूल्यवृद्धिले मुलुकको अर्थतन्त्रमा नै गम्भीर आघात पुग्ने भन्दै विनाशर्त बढाइएको मूल्यवृद्धि फिर्ता गर्न माग गरेका छन् । उनीहरूले निर्माण सम्पन्न भएका विकास आयोजनाहरूमा सरकारले भुक्तानी रोकेको गुनासो समेत गरेका छन् ।

 

प्रतिक्रिया दिनुहोस्