फेवातालमा मापदण्डविपरीत भौतिक संरचना निर्माण हुने क्रम बढ्यो «

फेवातालमा मापदण्डविपरीत भौतिक संरचना निर्माण हुने क्रम बढ्यो

पोखराको फेवाताल किनारामा मापदण्डविपरीत भौतिक संरचना निर्माण गर्ने क्रम बढेको छ ।
पोखरा महानगरपालिका र महानगरका विभिन्न वडा कार्यालय सक्रिय नहुँदा पोखराको फेवातालनजिकै भौतिक संरचना बनाउने क्रम बढेको नागरिक समाजले बताएका छन् । हिउँदको समयमा तालमा पानीको सतह घटेको मौका छोपी हाल रातारात भौतिक संरचना बनाउने क्रम बढेको नागरिक समाज पोखराका अगुवा रामबहादुर पौडेलले बताए । उनले भने, “पोखराको पर्यटकीय गन्तव्य फेवाताल संरक्षणमा सबैको चासो र चिन्ता हुनु प¥यो, फेवाताल अतिक्रमण गर्ने विरुद्ध स्थानीय सरकार पनि भूमिकाविहीन जस्तै भएको छ, पोखराको फेवातालसहित अन्य क्षेत्रका सार्वजनिक जग्गा अतिक्रमण गर्नेक्रम रोकिएकोे छैन ।”
यसैक्रममा पोखराको फेवातालमा मापदण्डविपरीत निर्माण हुँदै गरेको भौतिक संरचना शनिबार भत्काइएको छ । पोखरा महानगरको नगर प्रहरी, सरसफाइ विभाग, वडा प्रहरी कार्यालय बैदाम, पोखराको नागरिक समाजको सहभागितामा पोखरा–१८ स्थित खपौदीमा फेवातालबाटै पर्खाल निर्माण गर्दै गरेको भौतिक संरचना शनिबार भत्काइएको हो ।
फेवातालमा मापदण्डविपरीत भौतिक संरचना निर्माण गर्दैै गरेको सूचनाका आधारमा महानगरले उक्त संरचना भत्काएसँंगै संरचना निर्माणमा प्रयोग भएको ढुंगा, गिटीसमेत जफत गरेको महानगरका मेयर मानबहादुर जिसीले बताए । फेवाताल किनारमा मापदण्डविपरीत निर्माण भएका संरचना क्रमशः भत्काउँदै जाने मेयर जिसीले जनाए ।
पहिलाको ब्लू स्काई प्याराग्लाईडिङ अवतरण गर्ने स्थलमा हाल पानीको सतह घटेसंँगै मनोज श्रेष्ठ, प्रवेष शाक्यसहितको एउटा टोलीले व्यावसायिक प्रयोजनका लागि उक्त क्षेत्रमा फेवातालको सतहबाटै पर्खाल निर्माण गरेको अवस्थामा महानगरले डोजर लगाएर शनिबार बिहान भत्काएको महानगरका नगर प्रहरी नायव निरीक्षक पुरुषोत्तम थापाले बताए । उनका अनुसार फेवातालको सतहबाटै करिब १० मिटरको पर्खाल निर्माण भएकाले उक्त पर्खालको केही भाग डोजरले भत्काएसंँगै निर्माण सामग्रीसमेत जफत गरिएको छ ।
शनिबार भत्काइएको उक्त संरचना कसले निर्माण गरेको हो भन्ने प्रश्नमा पोखरा–१८ का अध्यक्ष रणबहादुर थापा, पोखरा महानगरका सूचना अधिकारी भरतराज पौडेललगायतले आफूहरूलाई जानकारी नभएको प्रतिक्रिया दिए । वडाध्यक्ष थापाले मापदण्डविपरीत निर्माण गर्नेविरुद्ध आवश्यक कारबाहीका लागि महानगरमा सिफारिस गर्ने बताए ।
फेवाताल चारकिल्ला निर्धारण, सीमांककन तथा नक्शांकन समितिका संयोजक पुण्यप्रसाद पौडेलले महानगरलाई नटेरी फेवातालनजिक भौतिक संरचना निर्माण भएको दाबी गरे । फेवाताल सीमांकनको काम जारी रहेको उनले जनाए । हाल पोखराको फेवातालको सीमांकन हुन लागेको अवस्थामा पानीको सतह घटेको मौका छोपी केहीले रातरात भौतिक संरचना बनाउन लागेको बताए । मापदण्डविपरीत निर्माण भएका भौतिक संरचनाको विवरण पेस गर्न आफूहरूले सम्बन्धित वडामा खबर गरेको उनले जनाए ।
फेवातालको हाल करिब ९ हजार ९ सय ५५ रोपनी पानीले ढाकिएको महानगरले जनाएको छ । समयमै फेवाताल संरक्षण गर्न नसक्दा हाल मापदण्डविपरीत र फेवाताल किनारामा धमाधम विभिन्न संरचना निर्माण हुने क्रम नरोकिएको नागरिक समाजले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्