Logo

विन्ध्यवासिनी मन्दिरमा भक्तजन जान थाले

पोखराको धार्मिक एवं पर्यटकीय गन्तव्य विन्ध्यवासिनी मन्दिरमा आइतबारदेखि पर्यटक तथा भक्तजन जान थालेका छन् । लामो समयदेखि बन्द भएको उक्त मन्दिर खुलाउने प्रयासस्वरुप हाल २-४ जना भक्तहरुलाई मन्दिर प्रवेश गराइएको विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समितिका सचिव तिर्थ श्रेष्ठले बताए ।

उनले भने, “हामीले अझै पनि विन्ध्यवासिनी मन्दिर औपचारिक रुपमा खुल्ला गरेका छैनौं तर मन्दिरमा विभिन्न भाकल लिएर आएका भक्तजनलाई हामीले रोक्न सकेनौं ।” विवाहको सिजन पनि सुरु भएकोले गर्दा पनि मन्दिर खुलाउने प्रयास रुवरुप हाल केही भक्तजनलाई कोरोना संक्रमणबाट बच्ने र बचाउने गरी आवश्यक मापदण्ड समेत पालना हुने गरी मन्दिर प्रवेश गराउने गरेको उनले जनाए ।
कोरोनाका कारण अझै पनि औपचारिक रुपमा उक्त मन्दिर खुलाउन नसक्दा केही समय अघि नै ४० जना कर्मचारीलाई कटौती गर्नु परेको सचिव श्रेष्ठले बताए । उक्त भन्दिरमा ५५ जना कर्मचारी रहेकोमा कोरोना महामारीले विगत ८ महिनादेखि मन्दिर बन्द हुँदा ४० जना कर्मचारी कटौती गर्न आफूहरु बाध्य भएको सचिव श्रेष्ठले बताए ।
मन्दिर परिसरमा रहेका फलफूलका १८ वटा सटर व्यवसायी तथा स्थानीय केही व्यवसायीहरु मन्दिर बन्द हुँदा प्रत्यक्ष रुपमा प्रभावित भएका छन् । समितिले पूर्वतर्फको ढोका खुल्ला गर्नाले उत्तरतर्फका व्यवसायीहरु निकै मारमा परेको एक व्यवसायी कृष्ण प्रसाद शर्माले बताए ।
अर्का एक व्यवसायी कृष्ण पराजुलीले मन्दिर जाने उत्तरतर्फको पुरानो बाटो भएको हुँदा उक्त गेट बन्दा हुँदा आफूहरुका २० वटा व्यवसायीहरुको एक रुपैयाँको समेत कारोवार नहुने गरेको गुनासो गरे ।

प्रतिक्रिया दिनुहोस्