ओझेलमा छरछरे झरना

दाङ-बंगलाचुली गाउँपालिका–२ स्थित स्याला छरछरे झरना ओझेलमा परेको छ । बत्तीमुनि अँध्यारो भने झैँ सदरमुकाम नजिकै रहे पनि झरना ओझेलमा परेको हो । उक्त क्षेत्र जिल्लाको सदरमुकाम घोराहीबाट करिब ४ किमि दूरीमा छ । झरनासम्म पुग्न सडकसमेत बनेको छ ।
यस क्षेत्रको विकासका लागि स्थानीय बासिन्दाले पटकपटक पहल थाले पनि सार्थकता पाउन सकेको छैन । यो झरनाको विकासका लागि न साविक गाविस हुँदा पहल नै गरेको थियो न त अहिले गाउँपालिकाले नै यसको विकासका लागि गाउँपालिकाले नै पहल थालेको छ । जसले गर्दा यसको विकास हुन सकेको छैन । यसको विकास गरेमा पर्यटकीय क्षेत्रको रूपमा विकास हुने स्थानीय बासिन्दाले जनाएका छन् । यस स्थानमा बाह्रै महिना नै यसरी झरना बग्ने गरेको स्थानीय बासिन्दा केशरबहादुर पुनले बताए । पुन विगत ६२ वर्षदेखि नै उक्त क्षेत्रमा बस्दै आएको बताए । झरनामा विद्यार्थी पिकनिक खानका लागि आउने गरेको बताए । “यहाँ विशेषगरी विद्यार्थी पिकनिक खानका लागि आउने गरेका छन्,” पुनले भने । पानीको सहजता र जंगल क्षेत्र भएकाले दाउराको सहजताले पिकनिक खान आउनेको संख्या उल्लेखनीय रहने गरेको छ । त्यसैगरी जिल्लाका विभिन्न क्षेत्रका मानिससमेत आउने गरेको उनको भनाइ छ ।
यसलाई विकास गरेमा पर्यटकीय क्षेत्रको रूपमा अगाडि बढाउन सकिने स्थानीय मैते पुनले बताए । “घोराही बजारको नजिकै रहेको यस क्षेत्रलाई पर्यटकीय क्षेत्रको रूपमा नै विकास गर्ने सकिने छ,” मैतेले भने । तर सम्बन्धित निकायले चासो नदिँदा ओझेलमा परेको उनको भनाइ छ । यसको विकासका लागि आफूहरूले पटकपटक पहल गरे पनि हालसम्म पनि विकास हुन नसकेको उनको भनाइ छ । झरनाको विकासका लागि बंगलाचुली गाउँपालिकाबाट पहल थाल्ने बंगलाचुली गाउँपालिका–२ का वडा सदस्य चुके सुनारले जानकारी दिए । “मैले झरनाको विकासका लागि गाउँपालिकाबाट पहल थाल्ने छु,” सुनारले भने । गाउँपालिकाबाट नभई अन्य क्षेत्रबाट पनि सहयोग आवश्यक रहेको उनको भनाइ छ । “यस क्षेत्रको विकास गर्ने सकेमा राम्रो पर्यटकीय क्षेत्रको रूपमा विकास हुनेछ,” सुनारले भने ।