Logo

जुम्लामा व्यावसायिक कालिज पालन

जुम्लाका दुई स्थानमा व्यावसायिक कालिज पालन गरिएको छ । जुम्लाको हावापानीमा कालिजत पालन सुहाउने भएपछि रिङनेक जातको कालिज पालन सुरु भएको हो । बेल्जीयममा पाइने रिङनेक जातको कालिज पालन चन्दननाथ नगरपालिका र गुठीचौर गाउँपालिकामा गरिएको पाइएको छ । नगरपालिका–४ का दिपेन्द्र विक्रम हमाल गुठिचौर–४ का महाकृष्ण पाण्डेले कालिज पाल्न थालेका हुन् ।
जुम्लामा पहिलो व्यवसायका रुपमा सुरु गरिएको कालिज पालनको भविष्य राम्रो देखिएको व्यवसायी दिपेन्द्र विक्रम हमालले बताए ।यसअघि सुर्खेतमा मात्रै कालिज पालन गरिएको थियो । सुर्खेतमा रहेको कालिज फर्मबाट ल्याएर दोस्रो जिल्लाका रुपमा जुम्लामा व्यावसायिक कालिज पालन गरिएको हमालको भनाइ छ ।
उनले भने,“चन्दननाथ नगरपालिका–४ स्थित हमाल एग्रो एण्ड कालिज फर्म रिसर्च सेन्टरको नाममा कालिज फर्म खोलिएको छ । बेल्जीयममा पाइने रिङनेक प्रजातीको ७५ वटा कालिज फर्ममा छन् । करिब २० लाख लगानीमा व्यवसाय सञ्चालनमा ल्याइएको हो ।”
जुम्लालाई एग्रो टुरिजमको रुपमा विकास गर्न परीक्षण स्वरुप २ रोपनी जग्गामा २० लाख निजी लगानी गरेर कालिज पालन थालेको हमालको भनाइ छ । राम्रो हुँदै गएमा थप १३ रोपनी जग्गामा व्यवसाय विस्तार गर्ने उनको तयारी छ ।
उता गुठिचौर–४ का व्यवसायी महाकृष्ण पाण्डेले कालिजको मासुको माग बढेको र व्यवसाय राम्रो फस्टाएको बताए । उनका अनुसार कालिज पालनबाट घरखर्च चलाउने योजना रहेको बताए ।

प्रतिक्रिया दिनुहोस्