विद्युत् प्राधिकरणको संस्थागत विकास «

विद्युत् प्राधिकरणको संस्थागत विकास

नेपाली समाजमा नायक बन्न कुनै अतिरिक्त वा आश्चर्यजनक काम गर्नु पर्दैन, सरकारले तोकेको आफ्नो नियमित तलबी काम नै इमानदारीपूर्वक गरे पुग्छ ।

नेपालमा व्यक्तिपूजाको लहर नौलो होइन । जसको जे काम हो वा जसको नियमित तलबी काम नै जे हो त्यो गर्दा पनि देवत्वकरण गरिने परिपाटी भनेको देशमा कसैले पनि आफ्नो निर्धारित तथा नियमित कामसमेत नगरेकाले तथा गैरजिम्मेवार भएकाले व्यक्तिपूजाको लहर चलेको हो । नेपालमा २०४६ सालको जनआन्दोलनद्वारा परिवर्तित राजनीतिक वातावरणमा नेपालीहरूले खुला राजनीति गर्न पाए ।
संस्थागत तथा प्रणालीगत रूपमा संस्थाहरूको विकास गर्ने प्रयास पनि सुरु भयो । यसै क्रममा धेरै संघसंस्थाहरूलाई छुट्टै ऐन नै ल्याएर पनि संस्थागत सुदृढीकरण गर्ने कोसिस गरियो । तर, नेपालमा संस्थागत सुधार तथा विकासभन्दा व्यक्तिगत मनोराग र द्वेषका आधारमा संस्थाको सञ्चालन गर्ने परम्परा रोकिएन । राजनीतिक नियुक्ति तथा भ्रष्टाचार एवं भाइभतिजावादले संस्थाहरू क्रमशः सकिँदै गए । बितेका तीन दशकमा संस्थाहरूको सुदृढीकरण तथा व्यवसायीकरणका साथै संस्थागत संरचनामा सुधार गर्ने कोसिस हुँदै नभएको होइन, तर देशकाल तथा समाजअनुरूप ती प्रयासहरू यथेष्ट भएनन्; जसका कारण नेपाली समाज व्यक्तिपूजामै रमाउन बाध्य भयो ।
नेपाल विद्युत् प्राधिकरणका निवर्तमान कार्यकारी निर्देशक कुलमान घिसिङ निश्चय पनि नेपाली समाजमा आफ्नो फरक पहिचान स्थापित गर्न सक्षम भए । घिसिङले प्राधिकरणमा एउटा सामान्य इन्जिनियरबाट जागिर सुरु गरेर कार्यकारी निर्देशकसम्म पुग्ने अवसर पाए ।
र, आफूले पाएको अवसरलाई उनले इमानदारीका साथ आफ्नो निर्धारित नियमित काममा खटिएर पूरा गरे । नेपाली समाजमा नायक बन्न कुनै अतिरिक्त वा आश्चर्यजनक काम गर्नु पर्दैन, सरकारले तोकेको आफ्नो नियमित तलबी काम नै इमानदारीपूर्वक गरे पुग्छ । त्यसैले लामो समयसम्म अँध्यारोमा बाँच्न विवश नेपाली समाजले उनको व्यक्तित्वलाई देवत्वकरण गर्नु आश्चार्यजनक थिएन, होइन । चारवर्षे कार्यकाल सकिएपछि घिसिङको पुनः नियुक्तिका लागि माइतीघरमा जुलुस नै भयो ।
किनकि नेपाली समाजमा संस्थाप्रति विश्वास गर्ने वातावरण बनिसकेको छैन । एउटा व्यक्तिले गर्न सक्ने काम अर्को व्यक्ति आउँदा गर्छ कि गर्दैन भन्ने अविश्वासको सिर्जना नेपाली समाजमा व्याप्त हुनुमा धेरै समाजशास्त्रीय वा मनोवैज्ञानिक कारण होलान्, तर स्पष्ट शब्दमा भन्दा यो सरकारप्रति तथा सरकारी संरचना एवं संस्थागत विकासप्रतिको अविश्वास हो । चार वर्षअघि घिसिङको नियुक्ति भएको लक्ष्मीपूजाको दिनबाटै काठमाडौं उपत्यका लोडसेडिङमुक्त भएको हुनाले यसपटकको घिसिङबिनाको लक्ष्मीपूजा सरकारका लागि चुनौती नै भयो ।
कार्यकारी निर्देशकबाट घिसिङको बहिर्गमनपछि धेरैले फेरि लोडसेडिङ दोहोरिने आशंका गरेका थिए । जसका कारण विद्युत् प्राधिकरणको नेतृत्वलाई मात्र होइन, सरकारलाई नै लोडसेडिङमुक्त बनाइराख्न चुनौती थपिएको थियो । त्यसैले प्रायः बिजुलीको सबैभन्दा बढी माग हुने लक्ष्मीपूजालाई लोडसेडिङमुक्त बनाउन सकिएमा एउटा व्यक्तिले होइन, प्रणालीले अर्थात् संस्थागत विकास तथा सुधार भए जोसुकैले पनि यस्ता विकृति अन्त्य गर्न सक्छ भनेर सन्देश दिनु सरकारका लागि बाध्यता नै थियो । यसका लागि सरकार विशेषतः प्रधानमन्त्री केपी शर्मा ओलीले समेत कुलमानले होइन, संस्थागत प्रणालीले लोडसेडिङ अन्त्य भएको देखाउन लक्ष्मीपूजामा विशेष तयारीका लागि अह्राएका थिए ।
ऊर्जामन्त्री पनि दबाबमा नपर्ने कुरै भएन । यदि संस्थागत प्रणली सुधार तथा विकासका लागि बेलैमा ध्यान दिएको भए सरकार एउटा व्यक्तिसँग प्रतिस्पर्धामा उत्रिनुपर्ने थिएन । संयोगले यस वर्षको तिहारको लक्ष्मीपूजाको दिन विद्युत्को उच्च माग ११ सय ३२ मेगावाट पुगेको थियो । तर, प्राधिकरणले भने १३ सय मेगावाटसम्मको आपूर्तिका लागि तयारी गरेको थियो, जसका कारण यसपटक विद्युत् आपूर्ति सहजै भयो । तर, सरकार, मन्त्री तथा प्राधिकरणका लागि चुनौती सकिएको भने छैन । किनकि लोडसेडिङ हुनै नदिनु सरकारका लागि अझै चुनौती नै छ । विद्युत्को माग तथा आपूर्तिबीच सामन्जस्यता एवं प्राधिकरणको संस्थागत सुधार एवं प्रणालीको विकास अझै बाँकी रहेका छन् । त्यसमाथि पुरानो वितरण प्रणालीको सुधारको काम पनि बाँकी नै छ ।

प्रतिक्रिया दिनुहोस्