Logo

अन्नपूर्ण पदमार्गको साम्रोङ खोलामा निजी लगानीमा पुल

पर्वत-विश्वकै १० उत्कृष्ट पदमार्गमा पर्ने अन्नपूर्ण पदमार्गमा कास्की जिल्लाकै सबैभन्दा अग्लो र लामो झोलुंङे पुल निर्माण गरिएको छ । कास्कीको अन्नपूर्ण गाउँपालिका ११ घान्द्रुक झिनुमा साम्रोङखोला माथि २ सय ८५ मिटर लामो तथा १ सय ३५ मिटर उचाईको झोलुङे पुल निर्माण गरिएको हो ।
हङकङका व्यवसायी कादुरी परिवारको ३ करोड ३५ लाख आर्थिक र प्राविधिक सहयोगमा स्थानीवासीले जनश्रमदानसहित पुल निर्माण गरेका हुन । पुल निर्माणबाट अन्नपूर्ण आधारशिविरमा जाने पर्यटक देखि अन्नपूर्ण गाउँपालिकाका ४ वटा वडाका बासिन्दाहरू प्रत्यक्ष लाभान्वित भएका छन ।
साम्रोङ खोलामा रहेको पुरानो पुलबाट यात्रा गर्दा जोखिमपूर्ण भएपछि नयाँ पुल निर्माण गरिएको अन्नपूर्ण गाउँपालिका वडा नं ११ का अध्यक्ष तथा पुल निर्माण समितिका अध्यक्ष हिमबहादुर गुरुङले बताए । पुल निर्माण हुनुभन्दा पहिला झिनुबाट खोला पार गर्दा गहिरो गल्छी, निरन्तर ढुंगा झरिरहने पहिरो पार गर्नुपर्ने अवस्था थियो भने बर्षा याममा गहिरो र अध्याँरो खोँच पार गर्दा यात्रुहरूले धेरै जोखिम उठाउनुपर्ने अवस्था थियो । “पुल बनेपछि बर्षौ देखिको समस्या हटेर गएको छ,” अध्यक्ष गुरुङले भने, “यसले पदयात्रा गर्ने पर्यटकहरू सबैभन्दा बढी सुरक्षित र लाभान्वित भएका छन् ।” पुल निर्माण भएसँगै करिव १ घण्टाको बाटो छोटिएको छ । जसबाट घान्द्रुकका झिनु, छोम्रोङ, साम्रोङ, ताउलु गाउँवासी लगायत दैनिक अन्नपूर्ण आधार शिविर जाने आउने सयौं पर्यटकहरू लाभान्वित हुने छन् । अन्नपूर्ण आधारशिविमा यो मार्ग हुँदै गत बर्ष ३५ हजार विदेशी पर्यटक पुगेका थिए भने त्यति नै संख्यामा नेपाली पर्यटक पनि पुगेको अन्नपूर्ण क्षेत्र संरक्षण आयोजनाको तथ्यांक छ ।
पुल निर्माणका लागि अन्नपूर्ण सेन्चुरी पर्यटन ब्यबसायी समितिका तर्फबाट १ सय ३० घर धुरीले प्रत्यक्ष आर्थिक र जनश्रमदान खर्च गरेको निर्माण समितिका सचिव देवीप्रसाद शर्मा आचार्यले बताए । उनका अनुसार १२ लाख नगद, दुई वर्षसम्म खच्चडबाट हुने ढुवानी लगायतका काम पनि स्थानीय पर्यटन समितिले गरेको छ भने जग्गादाताले निशुल्क जग्गादान गरेका छन् ।
कादुरीका प्राविधिक निर्देशक इन्जिनियर नारायण गुरुङले पुलको क्षमता १ सय २८ टनसम्म रहेको जानकारी दिए । पुलको निर्माणस्थल जोखिमपूर्ण रहेको र लठ्ठा ढुवानी देखि धेरै कामहरू कठिन भएपछि पदयात्री र विकट गाउँका बासिन्दाका लागि कादुरी परिवारले पुल निर्माण गर्न सहयोग गरेको उनको भनाइ छ । कादुरी परिवारले नेपालमा बाषिक रुपमा झण्डै एक अर्ब बराबरको सहयोग गर्दै आएको छ । उक्त सहयोग दुर्गम गाउँहरूमा झोलुङ्गे पुल, खानेपानी, बिद्यालय भवन, लघु जलविद्युत्, पदमार्ग लगायतका संरचना निर्माणमा खर्च हुने गरेको छ । हङकङ निवासी व्यवसायी कादुरी परिवारको वार्षिक मुनाफाबाट सामाजिक उत्तरदायित्व अन्र्तगत ५० बर्ष देखि सहयोग गर्दै आएको छ । कादुरी परिवारले लम्ले र पाख्रिबास कृषि केन्द्र समेत निर्माण गरेको थियो ।
यसैबिच साम्रोखोला झोलुङे पुलको कादुरी परिवारका प्रमुख सर माइकल कादुरी र उहाँकी धर्मपत्नीले एक कार्यक्रमका बिच पुलको उद्घाटन गर्नुभयो । उद्घाटन गर्दै सर माइकल कादुरीले पुल निर्माणसँगै पुलको प्रयोग गरी स्थानीयको जीवनस्तर उकासिनुपर्ने भन्दै पुलको भरपुर फाइदा लिन आग्रह गरे । उनले पुल निर्माणमा सहयोग गर्ने सबैप्रति आभार पनि प्रकट गरे ।

प्रतिक्रिया दिनुहोस्