पर्यटन विकासको जिम्मा निजी क्षेत्रलाई «

पर्यटन विकासको जिम्मा निजी क्षेत्रलाई

दाङ – जिल्लाको प्रवेशद्वारका रुपमा चिनिने चौपटा क्षेत्रलाई पर्यटकीय क्षेत्रको रुपमा विकास गरिने भएको छ । यसको जिम्मा निजी क्षेत्रले लिएको छ ।
जिल्लाका धार्मिक तथा प्राकृतिक सम्पदाहरुलाई पर्यटकीय क्षेत्रको रुपमा अगाडि बढाउन आफूहरु लागिपरेको जिल्लाका उद्योग वाणिज्य संघहरुले जनाएका छन् । घोराही उपमहानगरपालिका वडा नं. ३ मा रहेको चौपटा क्षेत्रलाई पर्यटकीय स्थल बनाउने जिम्मा दाङ उद्योग वाणिज्य संघले पाएको छ ।
महामृत्युञ्जय गुरु गोरक्ष मन्दिर व्यवस्थापन समितिले उक्त क्षेत्रमा पर्यटकीय क्षेत्रको रुपमा विकास गर्ने संघलाई लिखित रुपमा नै जिम्मा दिएको समितिका अध्यक्ष डिल्लीबहादुर वस्नेतले बताए । उनका अनुसार मन्दिर व्यवस्थापन समितिसँग रकम नभएकाले यस क्षेत्रको विकास गर्ने नसकेको हो । आर्थिक रुपमा आफूहरु कमजोर रहेकाले पर्यटकीय स्थलको रुपमा विकास गर्न नसक्ने भएकाले उद्योग वाणिज्य संघलाई जिम्मा दिएको समितिले बताएको छ ।
यस क्षेत्रलाई पर्यटकीय क्षेत्र बनाउन मन्दिर व्यवस्थापन समिति तथा अन्य सरोकारवालाहरुसँग समन्वय गरेर अगाडि बढ्ने जिल्ला उद्योग वाणिज्य संघले जनाएको छ । उक्त स्थानमा विश्राम स्थल, गेट, खानेपानी पु¥याएर पिकनिक स्पट बनाउन सकिने सम्भावना छ ।

प्रतिक्रिया दिनुहोस्