बागमती प्रदेशको कोरोना रोकथाममा ४८ करोड खर्च «

बागमती प्रदेशको कोरोना रोकथाममा ४८ करोड खर्च

बागमती प्रदेश सरकारले कोरोना भाइरस महामारीको रोकथाम तथा नियन्त्रणमा हालसम्म ४८ करोड २८ लाख रुपैयाँ खर्च गरेको छ । प्रदेशको सामाजिक विकास मन्त्रालयमार्फत पुँजीगत र चालु गरी ३४ करोड ६१ लाख रुपैयाँ खर्च गरिएको हो भने १३ करोड ६७ लाख रुपैयाँ स्थानीय तहहरुलाई निकासा गरिएको हो ।
सामाजिक विकास मन्त्रालयले गत असार मसान्तसम्ममा १८ करोड ८० लाख रुपैयाँ खर्च गरेकोमा साउनयता थप १५ करोड ८१ लाख रुपैयाँ खर्च गरेको प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको तथ्यांकमा उल्लेख छ । प्रदेशका सबै स्थानीय तहहरुलाई गत जेठ महिनामै निकासा गरिएको १३ करोड ६७ लाख रुपैयाँको को खर्च विवरण भने आइसकेको छैन । प्रदेशले महानगरपालिकालाई ६० लाख, उपमहानगरपालिकालाई १५ लाख, नगरपालिकालाई १२ लाख, गाउँपालिकालाई ८ लाख र जिल्ला जिल्ला विपद व्यवस्थापन समितिलाई ५ लाखका दरले रकम निकासा गरेको थियो ।
प्रदेश सरकारले ४० लाख रुपैयाँ हालेर सुरु गरेको कोरोना रोकथाम तथा नियन्त्रण कोष खडा गरेको थियो । उक्त कोषमा ४४ करोड ४० लाख रुपैयाँ जम्मा भएकोमा सोही कोषबाट मात्र २९ करोड ४८ लाख रुपैयाँ खर्च भएको बागमती प्रदेशका मुख्यन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका योजना महाशाखाका अधिकृत रमेश सुबेदीले जानकारी दिए । उनका अनुसार कोरोना कोषमा विभिन्न निकायका पदाधिकारी र कर्मचारीले गरी २ करोड २२ लाख ४३ हजार र बैंक तथा संघसंस्थाबाट १ करोड ९७ लाख २ हजार रुपैयाँ जम्मा भएको थियो । अब कोरोना कोषमा १४ करोड ९३ लाख २४ हजार रुपैयाँ मात्र बाँकी रहेको छ ।
रोग नियन्त्रण र उपचारमा खर्च गर्नको लागि प्रदेशले हालसम्म भरतपुरको कोरोना विशेष अस्पताललाई १ करोड, रत्ननगर नगरपालिकाको गुञ्जमान अस्पतालमा कोरोना नियन्त्रणको लागि २० लाख, धुलिखेल अस्पतालमा कोरोना उपचारको लागि २० लाख, सामाजिक विकास मन्त्रालय मार्फत स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रलाई ३ करोड ७७ लाख, हेटौंडा अस्पताललाई ५१ लाख, भक्तपुर अस्पताललाई ४१ लाख र धादिङ अस्पताललाई ३१ लाख रुपैयाँ निकासा गरेको थियो ।
त्यस्तै त्रिशुली अस्पताललाई ३१ लाख, सिन्धुली अस्पताललाई ३१ लाख, स्वास्थ्य निर्देशनालयलाई २७ लाख, स्वास्थ्य कार्यालय मकवानपुरलाई २२ लाख, चौतारा अस्पताललाई २१ लाख गरी विभिन्न स्वास्थ्य संस्थालाई प्रदेशले हालसम्म ९ करोड ९३ लाख रुपैयाँ निकासा गरेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ ।
बागमती प्रदेशमा कोरोना भाइरस संक्रमितको संख्या हालसम्म ५४ हजार नाघेको छ । बुधबार साँझसम्मको तथ्यांकअनुसार प्रदेशमा ५४ हजार ४ सय ५ जना कोरोना भाइरसबाट संक्रमित भएका छन् ।
त्यसमध्ये ३० हजार ४ सय २९ जनाले कोरोनालाई जितेका छन् भने २३ हजार ६ सय ९० जनाको उपचार भइरहेको छ । कोरोनाका कारण बागमती प्रदेशमा हालसम्म २ सय ८६ जनाले ज्यान गुमाइसकेको बागमती प्रदेशको सामाजिक विकास मन्त्रालयको तथ्यांकमा उल्लेख छ । हालसम्म प्रदेशमा २ लाख ८० हजार ६ सय ९१ जनाको पिसिआर विधिबाट स्वाब परीक्षण गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्