अन्नबाली छाडेर माछापालन «

अन्नबाली छाडेर माछापालन

विराटनगर-पछिल्लो समय मोरङमा अन्नबाली छाडेर माछापालनतर्फ लाग्ने कृषकको संख्या बढ्दै गएको छ । रोप्ने बेलामा पानी नपर्ने,भित्र्याउने बेलामा असिना र पानीले नष्ट गर्ने, बिक्री गर्ने बेलामा मूल्य नहुनेलगायतका समस्या झेल्दै आएका कृषकहरू माछापालनतर्फ लागेका हुन् । धान, गहुँ, मकैलगायतका बाली छाडेर कृषकहरू धमाधम माछा पालनतर्फ लागेका छन् । मोरङको ववियाविर्ता, दर्वेशा, रंगेली, बुधनगर, झोराहाट, बाहुनीलगायतका कृषक अन्नबाली मासेर खेतमा पोखरी बनाउन व्यस्त छन् । बिक्रीका लागि पनि समस्या नहुने गरेको मोरङ ववियाविर्ताका कृषक हरिकृष्ण यादवले बताए । “बिक्रेता पोखरीमा माछा खरिद गर्न आउने गरेका छन्,” यादवले भने, “आम्दानी पनि रामै्र हुने गरेको छ । उनको ९ वटा पोखरी छ । गत वर्षदेखि माछापालन व्यवसाय सुरु गरेके उनले एक वर्षमा खर्च कटाएर २ लाख ८० हजार आम्दानी गरेको सुनाए ।
आर्थिक वर्ष २०७३-७४ मा सुुरु भएको प्रधानमन्त्री कृषि परियोजनाअन्तर्गत मोरङमा दुई वर्षभित्र थप ६० हेक्टर क्षेत्रफलमा माछापालन विस्तार भएको छ । गतवर्ष ४५ हेक्टर र यसवर्ष १५ हेक्टरमा माछापालन गरिएको प्रधानमन्त्री कृषि परियोजनाले जनाएको छ । मोरङलाई माछामा आत्मनिर्भर बनाउने उद्देश्यले सरकारले १० वर्षीय माछा जोन परियोजना सञ्चालन गरेको छ । त्यसका लागि सरकारले गत वर्ष १७ करोड ६८ लाख रुपैयाँ खर्च गरी थप ५ सय हेक्टरमा कृषकलाई व्यावसायिक रुपमा माछापालनतर्फ आकर्षित गर्ने तयारी गरेको थियो । तर गत वर्ष ४५ हेक्टरमा मात्र माछापालन विस्तार हुँदा करिब १५ करोड रुपैयाँ फिर्ता भएको थियो ।
यस वर्ष परियोजनाअन्तर्गत २ करोड रुपैयाँ विनियोजन गरी १५ हेक्टरमा माछा पालन विस्तार गरेको जनाएको छ । परियोजनाका प्रमुख नुनुलाल उरावले आउँदो आर्थिक वर्षमा ५० हेक्टर जमिनमा माछापालन विस्तार गर्ने लक्ष्य रहेको जानकारी दिँदै कृषकलाई व्यावसायिक माछापालनमा आकर्षण गर्न प्रतिहेक्टर पोखरी खन्न ३ लाख रुपैयाँ अनुदान दिएको बताए । उनले मोरङको कटहरी, धनपालथान र रंगेलीलाई माछा विकास क्षेत्र घोषणा गरेर परियोजना सञ्चालनमा ल्याइएको जनाए । “सरकारले अनुदान दिन थालेपछि मोरङमा माछापालनतर्फ कृषकको आकर्षण निकै बढेको छ,” उरावले थपे, “माछाबाट कृषकको जीवनस्तरसमेत निकै उकासिएको छ ।”
परियोजनाअन्तर्गत गतवर्ष ५१ जना किसानले ४५ हेक्टरमा १ सय ४७ वटा नयाँ पोखरी खनेर व्यावसायिक माछापालन सुरु गरेका थिए । त्यसका लागि सरकारले १ करोड ३५ लाख रुपैयाँ अनुदान दिएको थियो । मोरङमा अहिले प्रतिहेक्टर सरदर ४ टनका दरले माछा उत्पादन हुँदै आएको छ । “सरकारी अनुदानले पोखरी खन्न निकै सहयोग पुगेको छ,” कटहरीका कृषक हरिकृष्ण कार्कीले भने, “उत्पादन भएको माछा बिक्रीमा पनि समस्या छैन ।”

प्रतिक्रिया दिनुहोस्