विप्रेषण आम्दानीमा सुधारको अर्थ

गत आर्थिक वर्षको साउनमा भन्दा यस आर्थिक वर्षको साउनमा नेपाल भित्रिने विप्रेषण २३ प्रतिशतले बढेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।
विश्वव्यापी कोरोना भाइरसका कारण नेपालीहरूको श्रम गन्तव्यमा रोजगार कटौती भई नयाँ रोजगारी सिर्जना नभए तापनि साउन महिनामा नेपाल आउने विप्रेषणमा आश्चर्यजनक सुधार आएको छ । गत आर्थिक वर्षको साउनमा भन्दा यस आर्थिक वर्षको साउनमा नेपाल भित्रिने विप्रेषण २३ प्रतिशतले बढेको नेपाल राष्ट्र बैंकले जनाएको छ । यसबाट कोरोना महामारीका बीच हुन्डीजस्ता अवैध रकम ओसारपसारका क्रियाकलाप रोकिएको तथा महामारीका कारण नेपाल फर्कनुपर्ने भएपछि नेपालीहरूले आफूले कमाएको सबै पैसा नेपाल पठाएको हुन सक्ने अनुमान लगाउन सकिन्छ । राष्ट्र बैंकका अनुसार साउन महिनामा ९२ अर्ब ७१ करोड रुपैयाँ रेमिट्यान्स नेपाल भित्रिएको छ । गत आर्थिक वर्षको साउनमा भन्दा नेपाल आउने विप्रेषण चालू आर्थिक वर्ष २३ प्रतिशतले सुधार आउनु एक प्रकारले नेपाली अर्थतन्त्रलाई राहत नै हो । गत आर्थिक वर्षको साउनमा विप्रेषण आप्रवाह अघिल्लो साउनको दाँजोमा २ प्रतिशतले मात्र बढेको थियो । यसैगरी साउनमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति लिने नेपालीको संख्या ९९.२ प्रतिशतले घटेको छ । गत आर्थिक वर्षको साउनमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति लिने नेपालीको संख्या १९ प्रतिशतले घटेको थियो । वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या पनि साउनमा ८० प्रतिशतले घटेको छ । गत आर्थिक वर्षको साउनमा वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या १.३ प्रतिशतले घटेको थियो । नेपाली श्रमिकहरू बिदसिने क्रम पनि उल्लेख्य रूपमा नबढेको, अझ पछिल्ला पाँच महिनामा त घट्दै गइरहेको परिप्रेक्ष्यमा विप्रेषण पनि घट्दै जाने अनुमानको विपरीत विप्रेषण आय बढ्नुमा नेपाली श्रमिकहरूले आफ्नो सबै कमाइ नेपाल पठाएको बुझ्न सकिन्छ ।
महामारीका बीच आएको यो खुसीले दिने अर्को सन्देश पनि छ । अर्थात् सरकारलाई अब स्वदेशमा रोजगारी सिर्जना गर्न दबाब पर्छ । सरकारको नीति पनि स्वदेशमा नै रोजगारी सिर्जना गर्ने भएकाले अब थोरै सीप तथा पुँजी बोकेर नेपाल फर्किएका युवालाई नेपालमा नै रोजगारीका अवसर सिर्जना गर्नु दीर्घकालका लागि देशका लागि फाइदाजनक हुन्छ । अन्यथा यौवनका दिन खाडीका मुलुक बनाउन रगत–पसिना बगाउने अनि आफूले कमाएको पैसा तथा उमेर सकिएपछि वृद्धावस्थामा नेपाल फर्किने गर्दा नेपालको विकासमा युवा परिचालन गर्न सरकारलाई सहज हुँदैन । उमेरमा नै थोरै पैसा तथा थोरै सीपसहित नेपाल फर्किएका युवालाई देशमा नै स्वरोजगारका अवसर प्रदान गर्दा उनीहरूले अन्यका लागि रोजगारी पनि सिर्जना गर्छन् र व्यापार–व्यवसाय गरेर सरकारलाई कर पनि तिर्छन् । सरकारको ढुकुटी कसिलो बनाउने कार्यमा युवाको श्रम र सीप देशमा नै प्रयोग गर्न सके नेपालको हालको विप्रेषणमा आधारित आयातित अर्थतन्त्रको संरचनागत परिवर्तन गर्न पनि सघाउ पुग्छ । यसबाट नेपाली अर्थतन्त्रले आत्मनिर्भर अर्थतन्त्र बन्ने अवसर पनि प्राप्त गर्छ । तर, यसका लागि सरकारले युवा रोजगारी सिर्जनालाई राजनीतिक आग्रह र पूर्वाग्रहको तहभन्दा माथि उठेर राष्ट्रिय अर्थतन्त्र निर्माणको अवसरका रूपमा लिन आवश्यक छ । साथै, सैद्धान्तिक रूपमा पनि अब दलाल पुँजीवाद वा दलाल माक्र्सवादजस्ता शब्दाडम्बरभन्दा माथि उठेर देशभित्र रोजगारी सिर्जनाको बहस तथा प्रयोगलाई व्यापकता दिनुका साथै वर्षौं पुराना ऐन, नियम तथा कानुनलाई यथाशीघ्र परिमार्जन गरी रोजगारीमैत्री बनाउने तथा ठगेर, ढाँटेर, नेताका इसारामा नाचेर उद्योग प्रतिष्ठान बन्द गराउनेजस्ता संस्कार त्यागेर काम गरेर खाने वातावरण बनाउन सरकारलाई यो सुवर्ण अवसर हो । धेरै अवसर गुमाइसकेको सरकारले यो अवसर नगुमाओस्, नत्र युवाको बाहुल्यता रहेको आजको नेपाल अबको २५ वर्षमा धनी नहुँदै बूढो हुने प्रक्षेपण विश्व बैंकले गरिसकेको छ ।