टिच फर नेपालको आयोजनामा अन्तर्राष्ट्रिय सम्मेलन हुँदै «

टिच फर नेपालको आयोजनामा अन्तर्राष्ट्रिय सम्मेलन हुँदै

टिच फर नेपाल र टिच फर अलको संयुक्त प्रयासमा बुधबारदेखि शुक्रबारसम्म काठमाडौंमा अन्तर्राष्ट्रिय सम्मेलन हुने भएको छ । उक्त सम्मेलनमा नेपाललगायत टिच फर अल सञ्जालमा आवद्ध राष्ट्रहरुबाट करिब ५ सयको सहभागिता रहने बताइएको छ । सम्मेलनमा नेपाल सरकारका तर्फबाट शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलको सहभागिता रहनेछ ।
हरेक वर्ष हुने सम्मेलनको यस वर्षको नारा ‘केन्द्रमा समुदाय’ रहेको छ । सम्मेलनको मुख्य उद्देश्य विविध भाषा, संस्कृति र समाजको आवाजलाई थप मजबुत बनाई संगठित तरिकाले अगाडि ल्याउनु तथा टिच फर नेपाल कार्यरत विभिन्न विद्यालय र समुदायबाट अनुकरणीय र सकारात्मक कार्यहरुको अवलोकन एवं अनुसरण गर्न समुदाय र विद्यालयसँग घनिभूत संवाद गर्नु रहेको टिच फर नेपालले जनाएको छ ।
“समुदायलाई केन्द्रमा राख्नुको उद्देश्य त्यहाँका समस्याहरूलाई त्यहीँ बसेर समाधान खोज्नु हो,” टिच फर नेपालका प्रमुख कार्यकारी अधिकृत शिशिर खनालले भने । उनका अनुसार टिच फर नेपाल सामुदायिक विद्यालयहरूको शैक्षिक गुणस्तर वृद्धि गर्न कृयाशील एक शैक्षिक अभियान हो । यसले आफ्नो अभियानलाई शिक्षा मन्त्रालय, शिक्षा विभाग तथा सम्बन्धित जिल्ला शिक्षा कार्यालयहरूसँगको समन्वयमा २०७० सालदेखि विभिन्न जिल्लामा कार्यक्रम गर्दै आएको छ ।
हाल ललितपुर, सिन्धुपाल्चोक, धनुषा, दाङ, लमजुङ र पर्साका ५१ सामुदायिक विद्यालयमा यो अभियान सञ्चालित छ । कार्यक्रमका लागि विभिन्न संघ, संस्था तथा व्यक्तिले विभिन्न प्रकारका सहयोग गर्दै आएको टिच फर नेपालले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्