सप्तरीमा ५० हजार बलि «

सप्तरीमा ५० हजार बलि

सप्तरी-हिन्दूहरूको महान पर्व बडादसैंको अवसमा सप्तरीमा मात्र ५० हजार बढी पशुपक्षिको बलि दिइएको छ । आफूले चाहेको भाकल पूरा भएपछि सप्तरीको दुई शक्तिपीठ कंकालिनी भगवती मन्दिर र छिन्नमस्ता भगवती मन्दिरलगायत जिल्लाका अन्य मन्दिरमा गरी यस वर्ष ५० हजार पशुपंक्षिको बलि दिएका हुन् ।
बाराको गढीमाईपछि दोस्रो राँगा बलिमा अग्रणी रहेको जिल्लाको हनुमाननगर कंकालिनी नगरपालिका–१ भारदहस्थित कंकालिनी मन्दिरमा यो वर्ष ६३२ वटा राँगाको बलि दिएको छ । गत वर्षको तुलनमा गत यस वर्ष १३४ वटा बढी राँगाको बलि दिएको हो । गत वर्ष ४९८ वटा राँगाको बलि दिइएको थियो । त्यस्तै २० हजार ५ सय खसीबोकाको बलि दिएको छ ।
प्रत्येक वर्ष यस मन्दिरमा राँगाको बलि दिने क्रम बढ्दै गएको छ । गत वर्ष २०७४ सालमा ४ सय ९, २०७३ सालमा ४५३ राँगाको बलि दिइएको थियो भने २०७२ सालमा ३९२, २०७१ सालमा ४४६ राँगाको बलि दिइएको थियो । यस्तै २०७० सालमा ३९१ वटा तथा २०६९ सालमा ३३७ वटा राँगाको बलि दिइएको थियो ।
निःसन्तानहरूले सन्तानका लागि, जटिल रोगबाट पीडितले स्वास्थ्यलाभका लागि, जीवन शंकटमा परेकाले जीवन रक्षाका लागि, पेशा र रोजगारी शंकटमा परेकाले त्यसमा सफलताका लागि वर्षौंदेखि यहाँ विभिन्न किसिमको ‘भाकल’ गर्दै आएका छन् । ‘भाकल’ पूरा भएपछि ‘भाकल’ गर्नेले यहाँ विजया दशमीको ‘महानवमी’ को दिन राँगाको बलि दिने गर्छन् । यसबाहेक खसीबोका, परेवा, मिठाइ तथा गर–गहनासमेत चढाउने गर्दछन् । ‘यहाँ’ भन्नाले सप्तरीको भारदह गाविसस्थित मुलुकमै प्रख्यात रहेका कंकालिनी भगवती मन्दिर हुन् । यो मन्दिरको प्रमुख विशेषता पनि राँगा बलि प्रदान नै हो । विजयदशमीको ‘महानवमी’को दिन यहाँ राँगा बलि प्रदान वर्षौंदेखि हुँदै आएको छ । मन्दिर स्थापनाकालमा पाँचवटा राँगाको बलि दिइएको थियो ।
यस मन्दिरमा नेपालको सप्तरी, सुनसरी, मोरङ, सिरहा, सर्लाही, झापासहित अन्य जिल्लाका श्रद्धालुहरूले पूजा पाठका लागि यहाँ आइसकेको मन्दिर विकास समितिको भनाइ छ । नेपालबाहेक भारत बिहारको वीरपुर, फारबीसगंज, पटनासम्मका भक्तजनहरू राँगा बलि दिन यहाँ आउने गर्दछन् । यस्तै सप्तरीको अर्को शक्तिपीठ छिन्नमस्ता भगवती मन्दिरमा घटस्थापनादेखि महानवमीसम्म २५ हजार खसीबोकाको बलि प्रदान गरिएको पीठाधिश महाकान्त ठाकुरले बताए । जिल्लाको छिन्नमस्ता गाउँपालिकास्थित यस मन्दिरमा यस वर्ष २५ लाख श्रद्धालु आएको उनको दाबी छ । दुवै मन्दिरमा विभिन्न ब्यक्तिले मन्दिरमा चढाएका सुनचाँदीका गरगहना तथा नगद सुरक्षित साथ राखिएको र छिट्टै सम्पूर्ण आयब्यय विवरण सार्वजनिक गर्ने मन्दिर समितिले जनाएको छ ।

एमके यादव

प्रतिक्रिया दिनुहोस्